हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १९ मंसिर । तमुहरुको नयाँ वर्ष ल्होछार पोखरेली तमुहरुले संयुक्त रुपमा मनाउने भएको छ।
सोमवार तमु धिँ नेपालमा पाखरेली तमु अगुवाहरुको भेलाले मुप्रि ल्होछार संयुक्त रुपमा मनाउने निर्णय गरेको हो।
भेलाले तमु धिं नेपालका अध्यक्ष कर्म तमुको संयोजकत्वमा एकसय एकाउन्न सदस्यीय मुप्रि ल्होछार मुल आयोजक समिति गठन गरेको छ।
समितिको सहसंयोजकहरुमा तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमु, बौद्ध अर्र्घौ सदनका अध्यक्ष क्याप्टेन मनबहादुर तमु, सदस्य सचिवमा तमु धिँ नेपालका महासचिव देविराज तमु, तमु मुक्ति मोर्चाका धर्म तमु, लोकतान्त्रिक तमु संघकार् इञ्जिनियर देउकाजी तमु, नेपाल तमु संघका रामकाजी तमु, तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष झम तमु, जिफानका अध्यक्ष माओत्से तमु, तमु प्ये ल्हु संघ युवा समितिका लोकेन तमु, तमु मुक्तिमोर्चाका इन्द्रजंग तमु, प्राचिन नेपालका कृष्ण तमु, तमु साँस्कृतिक प्रतिष्ठानका चिजकाजी तमु, तमु विद्यार्थी छोंज धिँका नोमराज तमु लगायतलाई चयन गरिएको छ।
पौष १४, १५ र १६ गते संयुक्त रुपमा मनाउने मुप्रि ल्होछारलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ।
भेलाद्वारा गठित आर्थिक उपसमितिको संयोजकमा जितबहादुर तमु, प्रचारप्रसार उपसमितिको संयोजकमा हुमबहादुर तमु, साँस्कृतिक उपसमितिको संयोजकमा माओत्सेतुङ तमु, व्यवस्थापन उपसमितिको संयोजकमा टेकबहादुर तमु, स्वयंसेवक उपसमितिको संयोजकमा भरतमान तमु, खेलकुद उपसमिति संयोजकमा तेजबहादुर तमु, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा क्याप्टेन धनबहादुर तमु, पुरस्कार व्यवस्थापन उपसमितिको संयोजकमा राजेन्द्र तमु, सुरक्षा उपसमिति संयोजकमा सुवेदार इमानसिंह तमु, स्वास्थ्य उपसमिति संयोजकमा डा.नरेन्द्र विक्रम तमु, सरसफाइ उपसमितिको संयोजकमा सुवेदार तुलबहादुर तमु रहेको समिति समेत गठन गरिएको तमु धिँ नेपालका महासचिव देविराज तमुले जानकारी दिए।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १९ मंसीर । २१ सय किलोमिटरको दूरी पार गर्न सफल नेपाली धावक संजय पण्डितले ६ हजार मिटर उचाईको आईल्याण्डपिक हिमालको यात्रा दौडेरै पुरा गर्ने भएका छन्।
सोमबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै प्युठान निवासी २२ वर्षीय धावक पण्डितले आगामी मंसीर २१ गते सुरु गरेर दौड तीन दिनभित्र पूरा गर्ने जानकारी दिए।
प्युठानका स्वर्गद्वारी, गौमुखी, ऐरावती, भित्रीकोट र विजुलीकोट जस्ता धार्मिक तीर्थस्थलहरुको सम्बर्द्धन,प्रवर्द्धन र विकासका लागि जनचेतना जगाउने उद्देश्यले आफूले दौडने योजना बनाएको पण्डितले बताए।
सो दौडको सोफिया सिने आर्ट, आई वि एण्ड एमएस कलेज, काठमाडौं वर्नहर्ट कलेज, कान्तिपुर होटल म्यानेजमेण्ट कलेज, पिर्मियर कलेजले प्रायोजन गरेका छन्।
पत्रकार सम्मेनमा बोल्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष धु्रवबहादुर प्रधानले नेपालीले नेपाललाई विश्वमा चिनाउन गरेको प्रयासलाई ओलम्पिक कमिटिले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
नेपाल एथलेटिक्स संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले विश्वकमै पहिलो पटक दौडेर आईल्याण्डपिक हिमालका चढने घोषणा गरेका धावक पण्डितको यात्रालाई नेपाल एम्यच्योर एथलेटिक्स संघले सहयोग गर्ने प्रतिवद्धता जनाए।
पत्रकार सम्मेलनमा गोल्डेन गेट कलेजका अध्यक्ष रमेश सिलवालले आफ्नो गोजीको पैसा खर्चेर नेपाल र नेपालीको नाम विश्वमा चिनाउन प्रयास गर्ने धावक पण्डितलाई सबैले सक्दो सहयोग गर्नु पर्ने बताए।
पण्डितको दौडको आयोजक संजय पण्डित फाउण्डेशन रहेको छ भने उनी हिमालयन गाईडस् नेपालबाट आरोहण गर्दैछन्।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १९ मंसिर । नेपाल र नेपाली जनतालाई अनिर्णयको बन्दी बनाएको दावी गर्दै संयुक्त आदिवासी राष्ट्रिय मञ्चले ठूला पार्टीविरुद्ध विद्रोहमा उत्रन सम्पूर्ण आदीवासीलाई आव्हान गरेको छ।
सोमबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले ठूला दलहरुको राजनीतिक स्वार्थका कारण जनता असुरक्षित हुँदै गएको, बेरोजगार, हत्या, लुट्पाट चरम विन्दुमा पुगेको आरोप लगाउँदै विद्रोहमा उत्रने चेतावनी दिएका हुन्।
सबै जातजातिहरुको साझा मञ्चको रुपमा स्थापना गरिएको संयुक्त आदिवासी राष्ट्रिय मञ्च ठूला पार्टीको विकल्पको रुपमा राष्ट्रप्रेमी जनताको पक्षमा उभिने दावी गरे।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ मंसिर । युवा स्वरोजगार कोषमा अनियमितता भएको भन्दै अर्थमन्त्री वर्षामान पुनको राजिनामा माग्दै मंगलबारको लागि आव्हान गरेको उपत्यका बन्द कार्यक्रम यूवा संघ नेपालले फिर्ता लिएको छ।
सोमवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूहरुले अघि सारेको माग पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेपछि बन्द फिर्ता लिएको जानकारी दिए।
प्रधानमन्त्री डा बाबुराम भट्टराईसँगको सोमवार भएको बार्तामा कोषको दुरुपयोगको विषयमा छानविन गर्ने, दुरुपयोग भएको पाईए दोषि माथि कारवाही गर्ने र तत्कालको लागि कोषको परिचालन रोक्ने प्रतिबद्धता जनाएपछि आफूहरुले बन्द फिर्ता लिएको जानकारी कार्यक्रममा बस्नेतले दिए।
प्रधानमन्त्रीले बार्ताबाटै हिजोको प्रदर्शनको क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्कालै रिहा गर्न गृहमन्त्रीलाई निर्देशन समेत दिएको बस्नेतले जानकारी दिए। त्यसैगरी, प्रधानमन्त्रीले कोष सञ्चालक समितिमा यूवा संगठनका प्रतिनिधिहरुसमेत राख्ने प्रतिबद्धता जनाएको कार्यक्रममा जानकारी दिईयो।
उनले बन्द फिर्ता लिए पनि भ्रष्टाचार र अनियमितता विरुद्धको आन्दोलनमा जारी रहने उद्घोष गर्दै प्रधानमन्त्रीले गरेको प्रतिबद्धता एक महिनभित्र पुरा नभए अझै कडा आन्दोलनमा जाने चेतावनी दिए।
कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष महेन्द्र यादवले यूवा संघको भ्रष्टाचार विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पञ्चायती शैलीमा यूवा संघको आईतवारको प्रदर्शनमा गरेको बर्बरपूर्ण दमनको भर्त्सना गरे।
प्रगतिशिल यूवा संघका अध्यक्ष जेपी केरुङले यूवा संघको आईतवारको प्रदर्शनमा भएको दमनको भर्त्सना गर्दै एक महिनाभित्र यूवा संघसँग प्रधानमन्त्रीले गरेको प्रतिबद्धता पुरा नगरे १० बटा यूवा संघले सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए। मधेसी यूवा संगठनका मनिष कुमारले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनमाथि भएको दमनको भर्त्सना गरे।
धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
प्लमस्टिड लण्डन । सेवा नै धर्म हो भन्ने भावनाले स्थापना भएको गुल्मी सेवा समाज युकेले अपांगहरुको सहयोगार्थ च्यारीटि डिनर कार्यक्रमको आयोजना गर्यो।
जिल्लाका हरेक सामाजिक कार्यमा सहयोग गर्दै आएको समाजले विश्व अपांगता दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. शुरेसचन्द्र चालीसे, एन आर एन युकेका अध्यक्ष कुल आचार्य, समाजका अध्यक्ष ओम प्रसाद थापा र आशा अपांग केन्द्रक नेपालकी अध्यक्ष गंगा रायमाझीले संयुक्त रुपमा गरेका थिए।
प्लमस्टिडस्थित एशियन कम्युनीटि हलमा आइतबार सम्पन्न कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालीसेले प्रजातन्त्रप्राप्ति पछिका सरकारहरुले अपांगताका क्षेत्रमा केही उदार भावना लिएको बताए। समाजसेवा गर्नु मानव धर्म भएको जानकारी दिंदै चालीसेले गुल्मी जिल्ला समाजबाट भएका सह्रानीय कार्यहरुको प्रशंसा गरे। बेलायतमा रहेका विभिन्न जिल्लाबाट आउनुभएका नेपालीहरुमा पनि यस्तै प्रेरणा जागे समस्यामा परेका नेपालीहरुले केही राहात पाउने चालीसेले बताए।
एन आर एन युकेका अध्यक्ष कुल आचार्यले महापुराण, सप्ताह, महायज्ञ लगाउनुको मर्म आखिर धर्म गर्नु नै भएकोले यस्तो पुण्य काममा सेवा गर्दा धर्म मिल्ने बताए। आचार्यले समाजलाई यस्तो पुण्य काम गर्न सफल भएकोमा धन्यबाद दिए।
कार्यक्रममा आशा अपांग केन्द्र नेपालकी अध्यक्ष गंगा रायमाझीले बृत्तचित्र मार्फत केन्द्रका गतिविध प्रदर्शन गरेकी थिइन्। उनले गुल्मी सेवा समाजले गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै यो सहयोग अपांगहरुको हितमा खर्च गरिने जानकारी दिइन्।
बेलायतस्थित प्रतिष्ठित व्यवसायी, पेशाकर्मी तथा विद्यार्थीहरुले खचाखच भरीएको कार्यक्रममा स्थानीय कलाकारहरुले गीत, नृत्य तथा कविता बाचन गरी सहभागिहरुलाई मनोरञ्जन दिएका थिए। गायिकाहरु शर्मिला बर्देवा, सितु खरेल, सिता तिमल्सिना, गायक विवेक श्रेष्ठ, गंगा थापा लगायतले मधुर स्वरमा गीतहरु गाए। त्यस्तै स साना कलाकारहरुले विभिन्न गीतमा नृत्य देखाएका थिए । बृद्ध गोर्खालीद्धय चक्र राना र चुन बहादुर पुनले कोमेडी मञ्चन गरे। हलभित्र पञ्चेवाजासंगै दोहारी घन्किएको थियो।
दुइ चरणमा बांडिएको कार्यक्रमको पहिलो भाग विनोद ज्ञावलीले सम्हाले भने दोश्रो चरणमा उषा भट्ट र ओम गुरुङले हलमा रौनकता थपेका थिए।
संस्थाका अध्यक्ष ओम थापाले चन्दादाता तथा सहयोगी सबैप्रति आभार प्रकट गरे। कार्यक्रममा उपाध्यक्षद्धय मोती भण्डारी र दुर्गा पाण्डेले पनि मन्तव्य व्यक्त गरेका थिए। विज्ञापनदाताहरुको नाम वाचन गर्दै यादव भण्डारीले सबैप्रति आभार प्रकट गरे।
विशेष तामझामका साथ गरिएको च्यारीटि कार्यक्रममा प्रमुख अतिथि राजदुत डा. शुरेसचन्द्र चालीसेलाई गुल्मी समाजको पञ्चेवाजाले स्वागत गर्दै हलप्रबेश गराइएको थियो।
कार्यक्रम सफल बनाउन बेलायतस्थित नेपाली व्यवसायी तथा चन्दादाताहरु मसला मार्ट, कम्युनीका ग्रुप, दिनेश गौतम, भण्डारी ब्रदर्श तथा एभरेष्टइन परिवार, होलीकाउ रेष्टुरेण्ट, नेपाली टेलिभिजन लगायतले सहयोग गरेका थिए। प्लाटिनम स्पोन्सरका तर्फबाट बोल्दै मसलामार्टका प्रमुख कार्यकारी निर्देशक नरेन्द्र कंडेलले पुण्य काममा सहयोग गर्न पाउंदा खुशी लागेको बताए । कंडेलले मसला मार्ट सामुहिक लागनीको परिकल्पना अनुरुप स्थापना गरीएको जानकारी दिए। कार्यक्रममा सहभागीहरुले रारा रेष्टुरेण्टबाट ल्याइएका मिठा मिठा नेपाली परिकारहरुको स्वाद लिएका थिए।
चन्न्दादाता महानुभावहरुलाई राजदूत डा. चालीसे, एन आर एन अध्यक्ष आचार्य, आशा अपांग केन्द्रकी गंगा रायमाझी, समाजका सल्लाहकार फत्त थापा, प्लाटिनम स्पोन्सरका तर्फबाट नरेन्द्र कंडेल, अध्यक्ष ओम थापा लगायतले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए।
सो अवसरमा एन आर एन युकेका पदाधिकारीहरु, पुर्व अध्यक्षद्धय सुर्य गुरुङ र डम्मर घले, समाजसेवी डा राघ धिताल, नेपाली टेलिभिजनका सि इ ओ मोहन गुरुङ, डाइरेक्टर पशुपति भण्डारी, बालजंग अर्याल लगायत करीब ६ सय भन्दा बढिको सहभागिता रहेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय सहमतिको सरकार अबिलम्व गठन गर्ने जिम्मा एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका चार शीर्ष नेतालाई दिइएको छ।
सात बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान लेखन र राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल गर्न काठमाडौं गोकर्णमा बसेको प्रमुख चार दलको बैठकले सहमतीय सरकार गठनको जिम्मा चारै दलका शीर्ष नेतालाई दिएको हो।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारलाई उक्त जिम्मेवारी दिइएको हो।
सहमतिको सरकार गठन, त्यसका कार्यक्रम र आधारबारे पनि बैठकमा छलफल भएको थियो। त्यसका लागि शीर्ष नेताहरूले गृहकार्य गरेर आगामी बैठकमा प्रस्ताव अघि सार्ने सहमति भएको छ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतीय सरकार अबिलम्व गठनका लागि छलफल भएको बैठकपछि पत्रकारहरूलाई जानकारी दिनुभयो।
“राष्ट्रिय सहमतीय सरकार अबिलम्व गठन गर्ने भन्ने सहमति भएको छ र गृहकार्य गर्न शीर्ष नेताहरूलाई जिम्मेवारी दिइएको छ,” बैठकपछि नेपाली काँग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले भन्नुभयो।
नेताहरूले नयाँ सरकार चाँडै गठन हुने र त्यो सरकार राष्ट्रिय सहमतिको हुने बताएका छन्। वर्तमान सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिने कुरालाई भने नेताहरूले अस्वीकार गरेका छन्।
नेता पौडेलले भन्नुभयो – राष्ट्रिय सहमतिमा नयाँ सरकार बन्ने हो, कसको नेतृत्वमा भन्नेमा शीर्ष तहमा छलफल गरेर टुंग्याउने कुरा भएको छ। अहिले नै व्यक्तिको निधो भैसकेको छैन।
नेकपा एमालेका भीम रावलले पनि कुन विषय, कार्यक्रम र आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्नेबारे शीर्ष नेताहरूलाई जिम्मेवारी दिइएको बताउँदै यही सरकार नभएर नयाँ सरकार गठन हुने बताउनुभयो।
“राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा एमालेको दावा छैन, विषय र आधार तय गर्न भोलिदेखि शीर्ष नेताहरूको गृहकार्य शुरु हुने भनिएकोमा आजै बसिसक्नुभएको छ,” नेता रावलले भन्नुभयो।
शान्ति प्रक्रिया कार्यान्वयन गरी संविधान लेखनको कामलाई अघि बढाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नेबारे प्रमुख चार राजनीतिक दलका नेताबीच गत कात्तिक १५ गते सात बुँदे सहमति भएको थियो।
छ हजार पाँचसय माओवादी लडाकूको समायोजन सहित शान्ति प्रक्रियाका कामहरू सम्पन्न गर्न दलहरू सहमत भएका थिए।
समायोजनमा जाने माओवादी लडाकूको संख्या लगायतका विषय विशेष समितिले टुंग्याउने र सबै कुरा सात बुँदे सहमतिका आधारमा छिनोफानो गर्नेबारे सहमति भएको काँग्रेसका नेता पौडेलले बताउनुभयो।
शान्ति प्रक्रिया कार्यान्वयनका लागि भएका सहमतिहरूको कार्यान्वयन सन्तोषजनक रूपमा भएको समीक्षा भएको र बाँकी काम तदारुकताका साथ गर्ने निर्णय गरिएको एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो।
राज्य पुनःसंरचना आयोगमा बाँकी रहेको दलित प्रतिनिधिमा डा मदन परियारलाई राख्न दलहरू सहमत भएका छन्।
सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी विधेयक व्यवस्थापिका संसदमा विचाराधीन रहेकाले मुख्य दलहरू रहेको कार्यदललाई छिटो टुङ्ग्याएर विधेयक पािरत गरी आयोग छिटो गठन गर्ने पनि सहमति भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो।
बैठकमा स्थानीय निकाय निर्वाचनबारे पनि निकै लामो छलफल भएको थियो। स्थानीय निकायहरूमा व्यापक रूपमा विकृति र भ्रष्टाचार बढेकामा बैठकमा गम्भीर चिन्ता व्यक्त गरिएको थियो।
थापाथलीस्थित बागमति किनारमा भएको अतिक्रमण तुरुन्त हटाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री विजय गच्छेदारले थापाथलीको अतिक्रमण हटाउन सबै राजनीतिक दलको सहमतिको लागि प्रस्ताव गर्नुभएको थियो।
युवा स्वरोजगार कार्यक्रममा भएका अनियमितताबारे सरकारको तर्फबाट निर्देशिका जारी गरेर स्पष्ट गर्नुपर्ने निचोड बैठकले निकालेको छ। यो कार्यक्रमलाई अहिले रोकेर पछि व्यवस्थित गर्ने प्रतिवद्धता प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट आएको काँग्रेस नेता पौडेलले बताउनुभयो।
द्वन्द्वपीडितलाई राहत दिने कार्यक्रम निष्पक्षता र समानताको आधारमा गर्ने र घाइते तथा अपाङ्गको हकमा सरकारको तर्फबाट कार्यक्रम बनाएर दलहरूबीच सहमति गरेर कार्यान्वयन गर्नेबारेमा पनि नेताहरूले सहमति जुटाएका छन्। मानवअधिकारका लागि संयुक्त राष्टसंघीय उच्च आयुक्तको नेपालस्थित कार्यालयको म्याद थप्नेबारे पनि कुराकानी भएको नेताहरूले जानकारी दिएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
अवकाश हुन डेढ महिना बाँकी रहँदा शिक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरुवा हुनुभएका सचिव शङ्करप्रसाद पाण्डेले राजिनामा दिनुभएको छ।
सचिव पाण्डेले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आफूले राजिनामा दिएको जानकारी दिनुभयो।
यही मङ्सिर १ गते बसेको मन्त्री परिषद्को बैठकले सचिवहरूको सरुवा गरेपनि सचिव पाण्डे प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेटी आफ्नो गुनासोसहित सरुवाको पत्र अस्वीकार गरी विदामा बस्नुभएको थियो।
सचिव पाण्डेले आगामी पुस २० गते अनिवार्य अवकाश पाउँदै हुनुहुन्थ्यो।
‘मलाई विदामा बस्न भनिएको भए पनि हुन्थ्यो अथवा अन्तिम अवस्थामा सरुवा नगरिदिएको भए हुन्थ्यो, तर म समग्रमा सरकारी सेवाबाट सन्तुष्ट छु।’, पाण्डेले रासससँग भन्नुभयो।
विसं. २०३५ मङ्सिर ४ मा अर्थ मन्त्रालयको अधिकृतबाट सरकारी सेवामा प्रवेश गर्नुभएका पाण्डे सचिवको जिम्मेवारीमा रहँदा चार वर्षका अवधिमा नौ पटक सरुवा भइसक्नुभएको थियो।
अर्थ मन्त्रालयमा लामो समय व्यतीत गर्नुभएका उहाँले क्षेत्रीय प्रशासक, अध्यागमन विभागको महानिर्देशक, पर्यटन मन्त्रालयको सहसचिवको जिम्मेवारी पनि पूरा गर्नुभएको थियो।
उहाँ नेपाली शिक्षा परिषद्, राष्ट्रिय युवा सेवा कोष, ज्येष्ठ नागरिक सेवा केन्द्रलगायतका सामाजिक संस्थासँग आवद्ध हुनुहुन्छ। (रासस)
एचकेनेपाल डट कम संवाददाता-
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा भ्रष्टाचार भएको वास्तविकता बुझ्न सार्वजनिक लेखा समितिले सात दिनभित्र यथार्थ विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको सिंहरदरवारमा बसेको बैठकले कोषको लगानीको आधार, नीति नियम र मापदण्डसम्बन्धी कागजात पेश गर्न निर्देशन दिँदै समितिका सभापति रामकृष्ण यादवले परिचालन गरेको लगानी, लगानी प्राप्त गर्ने बैङ्क तथा वित्तिय संस्था, लगानीबाट लाभान्वित समूहको यथार्थ विवरण समितिलाई सात दिनभित्र बुझाउन भन्नुभएको छ।
बैठकमा सहभागी अर्थ मन्त्रालयका सचिव कृष्णहरी बाँस्कोटा र कोषका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कोषले हालसम्म रु एकअर्ब ४४ करोड स्वीकृत गरिसकेको र रु ३३ करोड निकासा भइसकेको जानकारी गराउनुभएको थियो।
उहाँहरुले कोषमार्फत मुलुकका बेरोजगार युवाहरूकै हितका लागि लगानी गरिएको र कोषको रकमसम्बन्धमा विगतमा भएका अनियमितता ढाकछोप गर्ने उद्देश्यले अहिले विरोधका कार्यक्रम भइरहेकोसमेत जानकारी गराउनुभएको थियो।
कोषले वर्तमान सरकारको पालामा रु २७ करोड र यसभन्दा अघिको सरकारका पालामा रु ६ करोड लगानी विभिन्न बैङ्क तथा वित्तिय संस्थालाई प्रदान गरेको जनाइएको छ।
कोषमा भ्रष्टाचार भएको भन्दै नेकपा (एमाले)को भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले गत बिहीबार कोषको सचिवालयमा तोडफोड गरेपछि कोषमा अनियमितता भएको हुनसक्ने भन्दै लेखा समितिले आजको बैठकमा यथार्थ बुझ्नका लागि अर्थसचिव बाँस्कोटा र कोषका उपाध्यक्ष प्रा.डा.रेग्मीलाई बोलाएको थियो।
बैठकमा बोल्ने अधिकांश सदस्यले कोषमा भएको अनियमितताका बारेमा विभिन्न गतिविधि सञ्चालन भइरहेको र केही सङ्घसङ्गठनबाट विरोध भइरहेकाले सोसम्बन्धमा कोष र सरकारसँग यथार्थ विवरण मगाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
स्थानीय विकासमन्त्री तथा एमाओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार अविलम्ब गठन गर्ने विषयमा दलहरु प्रष्ट रहेको जनाउनुभएको छ।
उहाँले प्रेस विज्ञप्ति जारी गरी पाँच वर्षदेखि अवरुद्ध शान्ति प्रक्रियालाई डा भट्टराई नेतृत्वको वर्तमान सरकारले द्रुत गतिमा अघि बढाएकाले यही सरकारले नै मुलुकको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदै नयाँ संविधान जारी गर्ने पनि दाबी गर्नुभएको छ।
एचकेनेपाल डट कम संवाददाता-
माओवादी सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले ब्रिजकोर्स, महानिर्देशनालयको संरचना र तह मिलानको टुङ्गो नलागेसम्म माओवादी सेनाका लडाकु रहेका शिविर खाली नहुने बताउनुभएको छ।
जनसञ्चार अभियानले यहाँ आयोजना गरेेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता खनालले भन्नुभयो– ‘वर्गीकरणको काम सकिए पनि ब्रिजकोर्स, महानिर्देशनालको संरचना नेतृत्व र तह मिलानको काम पूरा भएपछि मात्रै माओवादी सेनाका लडाकुहरुको शिविर खाली हुन्छ।’
केही सञ्चारमाध्यममा समायोजन हुने लडाकुलाई नेपाली सेनाको जिम्मा लगाउने भन्ने कुरा आफूले सुनेको बताउँदै प्रवक्ता खनालले भन्नुभयो –’यी सबै कुरा गलत हुन्, हामी त्यो कुरा स्वीकार गर्न तयार छैनौं।’
नेपाली सेनाले माओवादी सेनाका लडाकुलाई तालिम नदिने भन्दै प्रवक्ता खनालले ६५ प्रतिशत सुरक्षा निकाय र ३५ प्रतिशत लडाकुबाट आउनेलाई एकै ठाउँमा राखेर ब्रिजकोर्स मात्रै गराइने बताउनुभयो।
उहाँले भन्नुभयो –’हाम्रा कमाण्डरको पनि तह मिलानमा सहमति हुन बाँकी छ, त्यसपछि मात्रै समग्र प्रक्रिया अगाडि बढ्छ।’
उहाँले लडाकुका सङ्ख्या फर्जी भएको भन्ने भनाइको खण्डन गर्दै प्रवक्ता खनालले भन्नुभयो –’अगाडि बढिसकेको प्रक्रियालाई रोक्न कोही कसैले यस्तो बखेडा झिक्छ भने त्यो हामीलाई स्वीकार्य हुँदैन।’
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १८ मंसिर । पोखरा र पोखरा आसपास वसोवास गर्ने फोर फाइभ गोर्खा राइफल फ्रोन्टियर फोर्स भारतीय सेनाका भूपू सैनिकका परिवारले आइतवार पोखरामा बंगलादेश डे मनाएको छ।
४ डिसेम्बर १९७१ मा फोर फाइभ गोर्खा राइफलले बंगलादेशको सिलहतमा हेलिकप्टरबाट हाम फालेर विरतापूर्वक आक्रमण गरी विजय प्राप्त गरेपछि फोर फाइभ जिआरलाई वंगलादेश डे अवार्ड प्राप्त भएको उपलक्ष्यमा पोखरामा पाँचौ पटक बंगलादेश डे मनाएको हो।
उक्त अवसरमा कार्यक्रममा सहभागीहरुले फोर फाइभ जिआरका वीरगति प्राप्त गरेका सम्पूर्ण भूपू सैनिकलाई श्रद्धाञ्जलिसहित पुष्पार्पण गरिएको थियो।
फोर फाइभ जिआर फ्रोन्टियर फोर्स भूपू सैनिक समितिका अध्यक्ष क्याप्टेन मनबहादुर गुरुङको अध्यक्षता र बयोबृद्ध हनरेरी लेफि्टनेण्ट देबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दिल्ली एयरपोर्ट सेकुरिटी मेनेजर नायवसुवेदार नरबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष हुमबहादुर तमु, फोर फाइभ जिआर समितिका कोषाध्यक्ष सुवेदार चन्द्रबहादुर थापा, सचिव नासु गंगाबहादुर गुरुङ लगायतले बंगलादेश डे को विविध पक्षका बारेमा चर्चा गरेका थिए।