एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ पुष । प्रमुख राजनीतिक दलहरुका दलित भातृ संगठनहरु संलग्न संयुक्त राजनीतिक दलित संघर्ष समितिले दलित हत्या र जातीय भेदभावको विरुद्ध नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
संघर्ष समितिले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पुष १७ नेपाल बन्द आब्हान सहितका चरणबद्ध आन्दोलन घोषणा गरेको हो।
घोषित आन्दोलनका कार्यक्रम अनुसार पुष १४ गते विहान १० देखि ११ बजेसम्म एक घण्टा देशब्यापी रुपमा चक्का जाम, १५ गते दलित नागरिक समाज र मानवअधिकारबादीहरुवीच अर्न्तक्रिया र पुष १६ गते साझ साढे पाँच बजे देशब्यापी मसाल जुलस रहेको छ।
संर्घष समितिले आफूहरुले अगाडि सारेको पाँच बुँदे मागमा सरकारले बेवास्ता गरेकोले बाध्य भई आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको दावी गरेको छ। उसले एक्काईसौ सताब्दीमा चुलो छुएको निहूमा दलितको हत्या, अपमान गरिनु संसारकै लागि लाजमार्दो अवस्था भएको भन्दै तकाल छुवाछुत मुक्त राष्ट्र घोषणा र जातीय भेदभाव र छुवाछुत कसुर र सजाय ऐन कार्यान्वयन हुनु पर्ने तर्क गरेको छ।
संघर्ष समितिले कालिकोटमा चुलो छोएको निहुँमा हत्या गरिएका मनवीर सुनारका हत्यारा मिमबहादुर शाही, दिपबहादुर शाही र हत्याको लागि उक्साउने बालकुमारी शाहीलाई कडा कारवाही गर्न, मृतकका बालबच्चाको पालन पोषण र निशूल्क उच्च शिक्षाको ब्यवस्था गर्न र सुनारलाई राष्ट्रिय सहिद घोषणा गर्न, ऐनको कार्यान्वयन र दलित हत्या र अपमानजनक ब्यवहारको घटनाको छानविन र दोषीहरुमाथि कारवाही गर्दै जातीय उत्पीडनको घटनालाई नियन्त्रण गर्न माग गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तीलक परियारले आफूहरुको मागमा सरकारले सहमतिको लागि संबादको प्रयास नगरी बेवास्ता गरेको भन्दै बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको बताए।
नेपाल दलित संघका अध्यक्ष खड्गबहादुर बस्यालले राज्यले दलित हत्याको चौतफी विरोध हुँदा समेत गृह प्रशासनले कारवाहीमा बेवास्ता भएको भन्दै गृहमन्त्री लाचार भएको आरोप लगाए।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जितु गौतमले अपराधी मारिदा र अपराधीलाई आममाफी दिन हतारिने सरकारले दलित हत्यामा वास्ता नगरेर दलितको अपमान गरेको दावी गरे। कार्यक्रममा जातीय समता समाजका उपाध्यक्ष राजेश विश्वकर्मा, उत्पीडित जातीय उत्थान संघ एकीकृतका अध्यक्ष केशबहादुर परियार, नेपाल सद्भावना दलित मञ्चका अध्यक्ष रामचन्द्र झा, नेपाल राष्ट्रिय दलित केन्द्रका उपाध्यक्ष उपेन्द्र छटुञ्जेल , विभेद मुक्ति प्रगतिशिल समाजका अध्यक्ष रुपबहादुर परियार र सभासद शम्भुहजार पासवान लगायतकाले आफ्नो धारणा राखेका थिए।
राजन उपाध्याय / एचकेनेपाल डट कम-
पोखरा, १३ पौष । सेन्चुरी युवा क्लव घान्द्रुक-९ कास्कीको आयोजनामा ल्होछार मेला सुरु भएको छ।
गुरुङहरुको महान पर्व पौष १५ (ल्होछार) को अवसरमा छोम्रोङमा आयोजना गरिएको सो मेलामा विविध सास्कृतिक कार्यक्रम, खाना महोत्सव, खेलकुद प्रतियोगिता गरिएको छ।
मेलाको उद्घाटन गर्दै सेन्चुरी पर्यटन व्यवसायी समितिका अध्यक्ष दल बहादुर गुरुङले दिगो पर्यटनमा जोड दिदै स्थानीय स्तरमा उत्पादित खानाहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। समितिका सचिव समलाल गुरुङले यस प्रकारको मेलामा पर्यटन प्रवद्धनमा टेवा पुग्ने बताउनुभयो।
अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका प्रमुख रामप्रसाद गुरुङले एक्काइस दिने राउण्ड अन्नपूर्णको पैदलमार्ग सडक पुगेपछि सात दिनमा झरेको बताउदै विश्वको उत्कृष्ट १० मा पर्न सफल यो मार्ग पहिचान जोगाउनुपर्नेमा जोड दिनुभयो। सेन्चुरी युवा क्लव छोम्रोङका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका कोषाध्यक्ष पूर्णकुमारी गुरुङ, विकास गुरुङ, पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङका अध्यक्ष हिम गुरुङ, घट्टेखोला लघुजलविद्युत आयोजनाका अध्यक्ष नजरमान गुरुङ, धौलाश्री माविका प्रधानाध्यापक छविलाल पौडेल लगायतले कला, सस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिएका थिए।
अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुक, सुन्चुरी पर्यटन व्यवसायी समिति र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको सहयोगमा सो मेला आयोजना गरिएको हो।
पोखराबाट उत्तरपूर्विमा अवस्थित कास्कीको पर्यटकीय गाउँ छाम्रोङ नयाँपुलबाट करिव ७ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। नयाँपुलबाट स्याउलीबजार सम्म हिजोआज यातायात सञ्चालनमा आएको छ। विश्वकै १० उत्कृष्ट मध्यको अन्नपूर्ण पदमार्ग जाँदा र फर्कदा छोम्रोङ गाउँ केन्द्रमा पर्दछ।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ पुष । राष्ट्रिय आर्थिक तथा वित्तीय सेवा उपभोक्ता संघ नेपालले ऋणिहरुले चलाएको साना तथा मझौला उद्योगहरुको अवस्थालाई नबुझी न्यायाधिकरणले एक तर्फी निर्णय गर्ने गरेको आरोप लगाउँदै न्यायाधिकरण खारेजीको माग गरेका छन्।
संघले सरकारी तथा निजी बैंकहरुले नेपाल सरकारबाट अनुमति लिई ऋण उठाउन गठन गरेको न्यायाधिकरणले बैंकहरुबाट कमिशन लिनका लागि उद्योगहरुको अवस्था नै नबुझी एकतर्फी रुपमा निर्णय गर्ने र त्यसले साना तथ मझौला उद्योगहरु रुग्ण हुँदै जाने भएकाले तत्कालै खारेजीको माग गरेका हुन्।
बुधबार रिपोर्टर्स क्लव नेपालमा राष्ट्रिय आर्थिक तथा वित्तीय सेवा उपभोक्ता संघ नेपालको केन्द्रीय महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमको घोषणा सभा तथा पत्रकार सम्मेलनमा उनीहरुले नेपाल सरकारले अवलम्बन गरेको गलत आर्थिक, औधोगिक तथा अदूरदर्शी मौद्रिक नीति र राजनीतिक अस्थिरताका कारण निक्षेपकर्ता र ऋणी कारोबार गर्ने व्यवसायीहरु सुकुम्बासी हुँदै जाने र बैंक र वित्तीय संस्थाहरु बोनस बाँड्न सक्ने अवस्थामा पुग्नुले न्यायधिकरणको गलत नीतिको परिणाम भएको प्रष्ट भएको ठोकुवा गरे।
उनीहरुले बैंक तषा वित्तीय संस्थाहरु एकपक्षीय निर्णयबाट नियत खराव राखी ऋण तिर्न चाहने र ऋण तिर्न चाहदा चाहँदै परिस्थिति बस तिर्न नसकेका ऋण उपभोक्ताहरुलाई एउटै दर्जामा राखेर नाम सार्वजनिक गर्ने, कालो सूचिमा लैजाने, भूमाफियाहरुसँग मिलेर करोडौको सम्पति कौडिको मोलमा लिलाम गर्ने जस्ता अमर्यादिक कार्यको विरोध गर्दै नेपाल राष्ट्र बैंकलगायत सम्बद्ध सरकारी निकाय र बैंक वित्तीय संस्थाहरुलाई एकपक्षीय रुपमा अघि नबढ्न १० सूत्रीय ध्यानाकर्षण गराएका छन्।
घोषणा सभामा संघका अध्यक्ष शेषकान्त शर्माले साना तथा मझौला उद्योगलाई धरासायी बनाउने काम बैंकहरुकै माफियाहरु संलग्न भएकाले त्यस्ता माफियाहरुलाई बन्देज लगाउन सरकारसँग माग गरे।
राष्ट्रिय वाणिज्य बैंककी कार्यकारी निर्देशक सिवा काफलेले बैंकहरुको मूख्य काम कर्जा लागानी र प्रवाह गर्ने भएकाले उद्योगहरुको प्रगति हेरेर वाणिज्य बैंकले राहत दिने गरेको धारणा राखिन्।
साना तथा मझौला उद्योग महासंघका अध्यक्ष जंगबहादुर श्रेष्ठले छिमेकी मुलुक भारत र चिनले साना उद्योगीहरुलाई प्रोत्साहन दिएकाले दिन प्रतिदिन प्रगति गरिरहेकाले नेपाल सरकारले पनि साना तषा मझौला उद्योगहरुलाई प्रोत्सान गर्नुपर्ने धारणा राखे।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १३ पुष । रथि विभाग (खाद्य परिवहन) जङ्गी अड्डाले हुम्ला जिल्लाका सेनालाई एक वर्षका लागि चाहिने रासनलगायतका सामानहरुको लागि भएको टेन्डरमा उच्च दर रेट भएको सप्लायर्सको टेण्डर स्वीकृति गरेर गुल्मपतिले भ्रष्टाचार गरेको भन्दै हुम्ला निर्माण व्यवसायी संगठन आन्दोलनमा उत्रिएको छ।
गत असोज १२ गते रासन ठेक्काका लागि श्री सिंह सादुन गुल्मले गरेको वोलपत्र आव्हानमा हुम्लाका १२ वटा सप्लायर्सहरुले गोप्य टेण्डर हालेकोमा सवैभन्दा उच्च दर रेट भएको सार्थक ट्रेड सेन्टर एण्ड सप्लायर्सलाई गुल्मपति, गणपति र पृतनापतिको मिलेमतोमा टेण्डर पारेको भन्दै आन्दोलनमा उत्रिएका हुन्।
हुम्लाका निर्माण व्यवसायीहरुले बुधबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर सार्वजनिक खरिद ऐन २०६३ अनुसार न्यूनतम रकममा सेवा दिने सप्लायर्सहरुलाई ठेक्का दिनुपर्ने नियमको उलङ्घन गर्दै सवैभन्दा कम दर रेट २ करोड ८५ लाख १८ हजार १८ रुपैया ८० पैसाको सप्लायर्सलाई दिनुपर्नेमा गुल्मपति पुरन घले र वोर्ड अध्यक्ष मनोज कुमार कार्कीको मिलेमतोमा ३ करोड ९३ लाख २० हजार ६ सय २८ रुपैया ८५ पैसा उच्च दर रेट भएको सार्थक सेन्टर एण्ड सप्लायर्सलाइ टेण्डर स्वीकृत गरी १ करोड ७ लाख ३५ हजार ६ सय १० रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका हुन्।
हुम्लाका निर्माण व्यवसायी संगठनले सार्वजनिक खरिद नियमावली २०६४ को कानुनी व्यवस्थाको विरुद्ध काम भएको भन्दै अख्तियारसहित विभिन्न निकायमा उजुरी गरे पनि कुनै सुनवाई नभएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको तर्क गरे। पत्रकार सम्मेलनमा सेनाको सम्बन्धित निकाय, अख्तियारसहित सम्पूर्ण निकायमा उजुरी गरेको जानकारी दिइएको थियो।
पत्रकार सम्मेलनमा हुम्ला निर्माण व्यवसायी संगठनका अध्यक्ष पामा मुटुप लामाले जनताको सेवाका लागि राखिएको सेनाले जनताको करबाट खाने रासनमा आफ्नो मान्छेलाई धेरै दर रेटमा टेण्डर पारिदिएर भ्रष्टाचार गरेको आरोप लगाए।
उनले गुल्मपति, गणपति र पृतनापतिको मिलेमतोमा भएको भ्रष्टाचारको विषयमा रक्षा मन्त्रालय, प्रधान सेनापति, सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग आयोगमा छानविनको लागि निवेदन दिएको जानकारी दिदैं कतैबाट पनि सुनुवाई नभए आफूहरु न्यायको लागि सर्वोच्चमा जाने घोषणा गरे।
संगठनका केन्द्रीय सदस्य छिरिङ उटुप लामाले हुम्लाका व्यवसायीहरुको कम दर रेट भएको टेण्डरलाई अस्वीकृत गरी धेरै दर रेट भएको गुम्ला बाहिरका ठेकेदारलाई टेण्डर दिएर हुम्लाका सेनाले भ्रष्टाचार गरेका आरोप लगाउँदै आगामी वर्षदेखि बाहिरका ठेकेदारलाई जिल्लामा छिर्न नदिने चेतबावनी दिए।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ पुष । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवम प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले पार्टीको जारी केन्द्रीय समितिको बैठकको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव बहुमतले पारित हुने दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पौडेलले माओवादी शान्ति र संविधानको जारी कोर्षभन्दा दायाबाया नहुने ठोकुवा गर्दै चार दल र मधेसी मोचासँग भएको सम्झौता अनुसार शान्ति र संविधान निर्माण कार्य टुङगोमा पुर्याउने प्रतिवबद्धता ब्यक्त गरे।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मोहन बैद्यको प्रस्ताव अस्वीकृत हुने दावी गर्दै उनले अल्पमतमा परेको बैद्यको प्रस्तावलाई तल्लो तहसम्ममै छलफलमा लाने गरी बैठकले शान्ति र संविधानको पक्षमा स्पष्ट निर्णय लिने बताए।
पौडेलले पार्टीभित्र आम सहमति नबने पनि शान्ति र संविधान टुङग्याउने पूर्व प्रतिबद्धता अनुसार नै अगाडि बढ्ने दावी गदै भने-विमति कायम रहे पनि काम अगाडि बढछ झन अब माओवादी शान्ति र संविधान निर्माणमा प्रष्ट ढंगले अगाडि आउँछ। उनले अहिलेको विवादले पार्ट नफुट्ने ठोकुवा पनि गरे।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ पुष । कानून तथा न्यायमन्त्री बृजेशकुमार गुप्ताले संविधानसभाको म्याद थप सम्बन्धी फैसलामा पुनरावलोकन नगरेको अवस्थामा निर्धारित समयमा कुनै परिस्थितिको कारण संविधान बन्न नसके त्यसको सम्पूर्ण जिम्मेवारी सर्वोच्च अदालतले लिनु पर्ने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लवले बुधवार गरेको साक्षात्कारमा मन्त्री गुप्ताले भने-संविधान बनाउँदा बनाउँदै दुइ दिन समय पुगेन भने त्यतिबेला के गर्ने फेरि निर्वाचनमा जाने, त्यति बेला सर्वोच्च अदालतले जवाफ दिनु पर्छ।
साक्षात्कारमा उनले पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतबाट भएको दरपिट विरुद्ध सरकार बेन्चमा पुनः जाने जानकारी दिदै सर्वोच्च अदालतले त्यसलाई स्वीकार गरेर फैसला पुनरावलोकन गर्ने विश्वास ब्यक्त गरे।
उनले संविधानसभाको म्याद थप्ने वा नथप्ने भन्ने निर्णय लिने अधिकार संसदको भएको भन्दै सर्वोच्चको फैसलाले शक्तिपृथकीकरणको सिद्धान्त विपरित द्धन्द्ध बढाएको दावी गरे। मन्त्री गुप्ताले भने-मुलुकमा द्धन्द्ध कायम रहेको र सक्रमणकाल जारी रहेको अवस्थामा राज्यका सबै अंगले जिम्मेवार भए काम गरे सक्रमणकालको सहज अन्त्य हुन्छ नभए अप्ठ्यारो अवस्था आउँछ।
मन्त्री गुप्ताले अदालतले आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर गएर फैसला गरेको आरोप लगाउँदै फैसलाको पुनरावलोकन गर्दा केही पनि नबिग्रिने दावी गरे। उनले अहिलेकै जस्तो अवस्था कायम रहे संविधानसभाको म्याद थप्नुको कुनै औचित्य नहरने स्पष्ट पार्दै संविधान जारी गर्न थोरै मात्र समय आवश्यक रहेको अवस्थामा अप्ठ्यारो अवस्था आउने भएकोले म्याद थपको बाटो खोल्नु सबै भन्दा उपयुक्त हुने तर्क गरे।
साक्षात्कारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले राजनीतिमा न्यायालय घुसेर आतंकित पार्ने काम गरेको भन्दै संसदले संविधानसभाको म्याद जति पनि थप्न सक्ने दावी गरे।
पौडेलले भने-यति समयमा यो मिति भित्र संविधान बनाउ भन्ने अधिकार सर्वोच्च अदालतको होईन। सर्वोच्च अदालतको भूमिकाले कार्यपालिका र ब्यवस्थापिकालाई निरिह बनाएको छ । सर्वोच्च अदालतले संविधानको ब्याख्या मात्रै गर्नु पर्छ।
मालिङ्गोमा मिलन
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, २८ डिसेम्बर । ‘मिलन’ एल्वम्मार्फत नेपाली सांगीतिक क्षेत्रमा देखापरेकी गायिका मिलन अमात्य काठमाडौंमा पहिलोपल्ट एकल गायनमा प्रस्तुत हुने भएकी छिन्।
नेपाली सांगीतिक क्षेत्रका चर्चित गायकगायिकालाई प्रस्तुत गर्दै आएको मालिङ्गो रेष्टुरेन्टले न्यू इयर-२०१२को पूर्वसन्ध्यामा गायिका मिलनलाई प्रस्तुत गर्न लागेको हो।
‘न्यू इअर इभ२०१२ विथ मिलन अमात्य’ नाम दिइएको उक्त कार्यक्रममा मिलनले आफ्नो एल्वममा समेटिएका गीतसँगै चारवटा तारादेवीका गीत पनि गाउने वताएकी छिन्।
तारादेवी आफ्नो प्रिय गायिका भएकाले उनका गीतहरु गाउने उनले वताईन्। तारादेवीका चर्चित गीतहरु ‘उकाली ओरालीहरुमा’, ‘फूलैफूलको मौसम’, ‘कालीपारी’ र ‘फूलको थुङ्गा’गाउनेछिन्। ‘पहिलोपल्ट काठमाडौंमा एकल गायनमा प्रस्तुत हुने भएकाले उत्साहित छु ‘-उनले भनिन्।
मिलनको साँगीतिक ‘मिलन’ सार्वजनिक
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १३ डिसेम्बर । गायिका मिलन अमात्यको एकल गीति संग्रह ‘मिलन’ लोकार्पण भएको छ। ‘मिलन’को सोमवार वरिष्ठ गायक प्रेमध्वज प्रधान र नायिका करिश्मा मानन्धरले एक समारोहवीच लोकार्पण गर्नुभएको हो।
एल्वमको लोकार्पणअघि गायिका मिलनले ६ वटा गीत लाईभ म्यूजिकमा गाएकी थिईन्। उनलै आफ्नौ एल्वम् मिलनका चारवटा गीतहरु ‘जहिलेसम्म…’, ‘रिमझिम’, ‘आफन्त’, ‘जसलाई’ त्यसैगरी तारादेवीले गाउनुभएका ‘उकालीओरालीहरुमा… ‘र ‘फूलैफूलको मौसम… ‘ गाएकी थिईन्।
संगीतकर्मी, कलाकार, पत्रकारहरुको वाक्लो उपस्थिति रहेको समारोहमा मिलनको ‘जहिलेसम्म..’ गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । ट्राफिक सचेतना समेत समेटिएको भिडियो महानगरीय ट्राफिक प्रमुख डिआईजी गणेश राईले प्रोजेक्टरको प्ले वटन थिचेर सार्वजनिक गर्नुभएको थियो। भिडियोमा नरेश, भट्टराई, सतिश तण्डुकार, विवेक सिंह र नन्दिता केसीले अभिनय गरेका छन्। भिडियोको निर्दैशन सुरज श्रेष्ठले गरेका हुन्।
सातवटा गीत संग्रहित एल्वम्मा अनिल स्थापित, विजय कट्टेल, सुशील सापकोटा र विवि अनुरागीका शब्द तथा विवि अनुरागी, विजय कट्टेल र कल्याण सिंहले संगीत गरेका छन्। नेटनसा डटकमको प्रस्तुति तथा सिल्भर इन्टरटेइन्मेन्टको संयोजन रहेको उक्त एल्वम्को वजार व्यवस्थापन विकल्प क्रियसनले गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि गायक प्रधानले नेपाली गायन क्षेत्रमा एउटा सुन्दर आवाजको प्रवेश भएको भन्दै मिलनको गायकीको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो ‘गायिका तारादेवीको गीत गाउन थोरैले आँट गर्छन्, ति मध्यै धेरे कमले मात्र न्याय गर्न सक्छन्। तर, मिलनको स्वर सुन्दा तारादेवीलाई सम्झन बाध्य भएँ।’
त्यसैगरी, नायिका मानन्धरले नेपाली फिल्ममा सुन्दर र रोमान्टिक स्वर भएको महिला गायिकाको खाँचो भएका वेला मिलनको आगमन स्वागतयोग्य भएको वताउनुभयो। उहाँले भन्नुभयो ‘ पछिल्लो समय नेपाली फिल्मको पार्श्व गायनमा रोमान्टिक स्वर भएकी गायिकाको प्रवेश अपरिहार्य थियो, मिलनवाट त्यो आशा पूरा हुने विश्वास छ।’
मिलन विगत दश वर्षदेखि गायन पेशामा सक्रिय रहेपनि नेपालमा उनले पहिलो एल्वम् सार्वजनिक गरेकी हुन्। नेपाली भाषा, सँस्कृति र मन भएको परिवारमा आसाममा जन्मेकी उनी आसामकी चर्चित गायिका हुन्। शास्त्रिय संगीतका गुरु श्री सुवासदास (कोलकाता)बाट शास्त्रिय संगीतमा विशारतसम्म गरेकी उनले अहिलेसम्म नेपाली भाषाका ‘कान्छी, मेरो मन, आशा, तृष्णा, वाडुली र मायाको इन्द्रेणी गरी १० एलवममा, त्यस्तै, आसामी भाषामा ‘खुनमोनी, आको अनुपमा, कुँवली, रंगढली र गामुसा, मिलनर रिङ त्यसैगरी राजस्थानीमा घुमर, रुमाझुमा, चुँडीदारगजरो र देवर महारोरे’ लगायतका ४० एल्वममा स्वर दिएकी छिन्। यसैगरी, भजनहरु ‘लगन श्यामसंग लागि, घुमे घोडलियो, पर्चा वावेरो, वुलावे वावो आजारे’ लगायत गाएकी छिन्। सवैगरी जम्मा ३०० वटा गीतमा स्वर भरिसकेकी मिलनले भारतको कोलाकता, दिल्ली, मुम्बई चेन्नाई, जयपुर, नागपुर, सिलिगुरी, गान्टोक, दार्जिलिङ र सवै उत्तर प्रदेशका मुख्य शहरमा आफ्नो प्रतिभा प्रस्तुत गरेकी छिन् भने नेपालका प्रमुख शहरहरु काठमाण्डु, विराटनगर,धरान, पोखरा र वीरगञ्जमा समेत गायनकला प्रस्तुत गरिसकेकी छिन्।
उनले सन् २००३ मा अलइन्डिया म्यूजिकल कम्पिटिसनमा फष्ट रनरअपको उपाधि प्राप्त गरेकी थिइन्। आसामी र राजस्थानी लोकसंगीतमा आधारित उक्त प्रतियोगितामा प्रसिद्ध वलिउड संगीत मेस्ट्रो स्व.नौसाद अली र प्रसिद्ध गजल गायक पिनाज मसानी, शास्त्रिय गायक सुसिला रानी पटेल र लोक गायक वद्री भियास निर्णायक थिए।
जुनसुकै अरु भाषाका गीत गाएपनि नेपाली गीत गाउँदा जत्तिको अन्य गीत गाउँदा आनन्दको महशुस अन्यमा हुन नसकेको गायिका मिलन वताउँछिन्। नेपाली संगीत र स्रोताको मायाले तानेर सदाका लागि नेपाल आएको मिलन वताउँछिन्।
—————————————————————————–
मिलन लिएर आउँदै मिलन
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, ६ डिसेम्बर । भौगोलिक सिमाले भारत भएपनि नेपाली मन र संस्कृति भएका थुप्रै नेपालीहरु सिमापारी छन्। आफ्नो संस्कृति र नेपालीपन दर्शाउन विशेष गरी कला क्षेत्रमा धेरै आउने गरेका छन्। यही क्रममा अर्को नाम थपिने भएको छ, मिलन अमात्य।
छिमेकी मुलुक भारतको आसाममा रहेर गायनमा सक्रिय मिलन अमात्य नेपाली गीतहरूको संग्रह ‘मिलन’ मार्फत आजीवन नेपाली गायन क्षेत्रमा प्रवेश गर्न लागेकी छिन्। मंसिरको अन्तिम सातादेखि बजारमा आउने एल्बमको शीर्ष गीतको म्युजिक भिडियो सुरज श्रेष्ठको निर्दैशनमा निर्माण भइसकेको छ।
सातवटा गीत संगृहीत एल्बममा कल्याण सिंह, बिबी अनुरागी र विजय कट्टेलको संगीत र सुशील सापकोटा, अनिल स्थापित, सुमन श्रापित र विजय कट्टेलका शब्द रहेका छन्। म्युजिक भिडियोमा नन्दिता केसी, नरेश भट्टराई र विवेक सिंहले अभिनय गरेका छन्।
मिलनले आसाममै रहँदा नेपाली, राजस्थानी, आसामी, हिन्दी, मैथिली र भोजपुरी भाषाका तीन सय गीतमा स्वर दिएकी छिन्। गायनवाटै उनले पद्मो भूषण र गजल गायन प्रतियोगितामा उनले पुरस्कार जितेकी थिइन्।
अबको गायन यात्रा नेपालमै रहेर अगाडि बढाउने सोचका साथ नेपाल आएकी उनी यही मंसिर २६ गते पहिलो एकल एल्वम विमोचन तथा परिचयात्मक कार्यक्रम गर्दैछिन्। भर्सटायल गीत गाउन सक्ने मिलनलाई विशेष गरी नेपाली फिल्मका गीतमा स्वर भर्ने रहर छ। विकल्प क्रियसनले वजारमा ल्याउने एल्वम् नेटनसा डटकमले प्रस्तुत गरेको हो।
खेम कार्की / एचकेनेपाल डट कम -
दक्षिण कोरिया, दक्षिण कोरियाको ४ वर्षको कार्यकाल पूरा गरी दक्षिण कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइराला स्वदेश फर्केका छन्।
कोरियामा पहिलो नेपाली राजदूतको रुपमा आएका कोइरालाले दक्षिण कोरिया र नेपालको सम्बन्ध विस्तारमा राम्रो पहल गरेको कोरियन तथा नेपालीहरुले पनि बताएका छन्।
विदाई कार्यक्रमहरूः
दक्षिण कोरियाका लागि नेपाली राजदूत कोइरालालाई दक्षिण कोरियामा विदाई कार्यक्रमहरु गरिए। डिसेम्बर २७ बाट कार्यकाल पूरा गरेका कोइरालालाई दक्षिण कोरियाका विभिन्न संस्थाहरुले सामुहिक तथा अलग अलग विभिन्न कार्यक्रम राखी विदाई गरेका हुन्। सोमबार साँझ राजदुतावासले एक कार्यक्रम विच विदाई कार्यक्रम गरेको थियो ।
यसैगरी, २५ तारिख आइतबार नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले तेश्रो अधिवेशनको कार्यक्रम विच राजदूत कोईरालाको विदाई कार्यक्रम सम्पन्न
गरेको छ। यस्तै २१ तारिख बुधबार एनआरएन कोरियाले एक समारोहविच तथा सोनसिक र नेपाल ब्यापार संघले पनि छुट्टाछुट्टै कार्यक्रम विच राजदूत
कोइरालाको विदाई गरेका थिए।
गत शनिवार साँझ एनसिसिलगायत कोरियाका विभिन्न संघ संस्थाले संयुक्त कार्यक्रमविच स्वदेश फर्कन लागेको काईरालालाई विदाई गरेका थिए। सम्मान कार्यक्रममा दक्षिण कोरियाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
खेम कार्की / एचकेनेपाल डट कम -
दक्षिण कोरिया, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेलगायतको पत्रकार टोली नेपाल फर्केका छन्।
दक्षिण कोरियाको ५ दिने भ्रमण पूरा गरी केन्द्रीय सदस्य मातृका पौडेल र सूर्यमणी गौतमसंगै अध्यक्ष गाउले नेपाल फर्केका हुन्।
कोरिया शाखाको तेश्रो अधिवेशनमा भाग लिन आएका पत्रकारहरुले यहाँ विभिन्न संघसंस्थाका प्रतिनिधि र नेपालीहरुसंग भेटघाट गरी दक्षिण कोरियाको बस्तुस्थितीको बारेमा जानकारी लिएका थिए।
पत्रकार टोलीले सोमबार साँझ एसियाली पत्रकार महासंघका संस्थापक अध्यक्ष इ साङ गी लगायत कोरियाका उच्च पदस्थ पदाधिकारीसंग भेटघाट गरेको थियो। यसैगरी, कोरियाका विभिन्न संघ संस्था संगको प्रतिनिधिसंगको भेटमा दक्षिण कोरियामा नेपालीहरुले भोग्नु परेका समस्याहरु, दक्षिण कोरियामा रहेका पत्रकारहरुको अवस्थाको बारेमा जानकारी लिएको थियो।
भ्रमणको क्रममा नेपाली पत्रकारहरुले नेपालीलगायत प्रवासीहरुले दक्षिण कोरियामा पाएको समस्याको सम्बन्धमा कोरियाको पत्रिकाले सहयोगी भूमिका खेल्न सक्नु पर्ने बताए।
यसैगरी, सोमबार नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेलगायत नेपाली पत्रकारको टोलीले कोरियाको संचारगृहको भ्रमण गरे। दक्षिण कोरियाको स्थानीय किम्हे क्षेत्रमा निस्कने किम्हे न्यूज पत्रिकाको कार्यलयमा गएका नेपाली पत्रकारहरुले कोरियामा रहेका पत्रकारहरुले पाउने न्यूनतम पारिश्रमिकको व्यवस्था, पत्रिकाको समाचार प्रकाशन र संकलन विधि तथा प्रवासीहरुको लागि पत्रिकाले खेल्ने भूमिकाबारे जिज्ञासा राखेका थिए।
यसैगरी, पत्रिकाको तर्फबाट कोरियामा पत्रकारहरुले कोरियामा देखेको अवस्थाको बारेमा जानकारी लिईएको थियो। कार्यस्थलमा नेपाली लगायत प्रवासी मजदुरहरुको हक हितमा लागि पत्रिकाले काम गर्न सके आवाज विहिनको आवाज पत्रिका बन्न सक्ने नेपाली पत्रकारहरुले बताएका थिए। अहिले एउटा पेज प्रवासी कामदारको लागि छुटयाएको पनि मिडिया हाउसको तर्फबाट जानकारी गराइएको थियो। सो अवसरमा अध्यक्ष शिव गाउले, केन्द्रीय सदस्यहरु सूर्यमणी गौतम र मातृका पौडेल दक्षिण कोरिया शाखा अध्यक्ष खेम कार्कीले, ख्यंगनाम राज्य परिषद सदस्य यज्ञराज सुवेदीको साथमा सो भ्रमण गरेका हुन्।
सो अवसरमा नेपाली पत्रकारहरुले सूचनाको हक, समाचार श्रोतको बारेमा पनि जानकारी लिएका थिए। दक्षिण कोरिया शाखाको तेश्रो अधिवेशनको लागि पत्रकारहरु दक्षिण कोरिया आएका थिए। आईतबार भएको अधिवेशनमा खेम कार्कीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको थियो। २५ तारिख दक्षिण कोरियाको किम्हेमा दक्षिण कोरिया शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको हो।