Archive for January, 2012

धरान विमानस्थलका लागि विस्तृत सर्भे सुरु

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, धरानमा विराटनगरको जत्रै विमानस्थल निर्माण गर्न मंगलबारदेखि विस्तृत अध्ययन सर्वेक्षण सुरु भएको छ।

प्राधिकरणले धरान-१७ स्थित डाडा घोपामा विस्तृत सर्वे सुरु गरेको हो। विमानस्थलको आवश्यकता भएको भन्दै सर्वसाधारणले हस्ताक्षर गरेको निवेदन दिएको लगतै नागरिक तथा पर्यटन उड्यनमन्त्री लोकेन्द्र विष्टले विमानस्थल निर्माण र संचालनका लागि प्राविधिक टोलीलाई खटाएको हो।

विमानस्थलका लागि एकदशक अघिदेखि धरानको वातावरणीय अवस्था उचित रहेको जनाउदै धरान नगरपालिका र स्थानीय संघसंस्था, नागरिक समाजले विमान स्थलको माग गर्दै आएको थिए। सर्वेटोलीले दुइसाताभित्र धरान विमानस्थल निर्माण गर्नका लागि लागत, नक्साङ्कन, डिजाइन, वातावरणीय प्रभावको विस्तृत अध्ययन प्रतिवेदन बुझाउने सर्वेमा खटिएका इन्जिनियर सुमन थापाले बताए।

विस्तृत सर्वे अर्न्तर्गत प्राधिकरणका तर्फबाट आएका नर्थस्टार इन्जिनियरिङ कन्सल्ट्यान्ट पुल्चोकका इन्जिनियर थापा र सर्वेयर विजय चौहानले नक्साङ्कनका लागि स्थलगत अवलोकन र नापजाँच सुरु गरेको थिए।

थापाले सानादेखि मध्यमस्तरका विमानहरु ‘ल्याण्डिङ र टेकअफ’ गर्न चाहिने आवश्यक धावनमार्गका लागि डांडाघोपामा रहेको जमिन अवलोकन गरेको बताए। स्थलगत अवलोकनपछि इन्जिनियर थापाले भने, ‘प्राधिकरणले दिएको काम अनुसार हामीले डाँडाघोपामा रहेको जमिनमध्ये १५ सय मिटर लम्बाई र ३ सय मिटर चौडाईलाई भित्रको जमिनको नक्साङ्कन गर्ने छौं।’

विमानस्थलका लागि १० बर्षअघि सोही ठाउमा यति इन्कर्पोरेट प्रालिले साना खाले विमान संचालन गर्न स्थानीय ८० जना जग्गा धनीसंग रहेको सात विगाहा जग्गा खरिद गरिसकेको छ। उक्त जग्गामा धरान नगरपालिका मातहत रहेको दुइ विगा जग्गा थपेर १० विगामा विमानस्थल बनाउन पहल भएपनि सरकारले दिएको थिएन।

विमान स्थलको प्रारम्भिक सर्वेमा धरानको विमानस्थलको उत्तरतिर चुरे पहाड परेपनि तीनतिर खुला रहेको र अन्यत्र जस्तै हुस्सु नलाग्ने देखिएकाले उचित हुने इन्जीनियर थापाले बताए।

पर्यटन मन्त्री लोकेन्द्र विष्ट आफै आएर एक महिनाअघि स्थलगत निरीक्षण गरेपछि प्राधिकरणको तर्फबाट आएका सर्वेटोलीले भने सानादेखि मझौला दर्जाका विमान संचालन गर्न थप पाँच विगाहा भन्दा बढी जमिन चाहिन सक्ने जनाएको छ।

एक दशकअघि धरान नगरपालिका र यति इन्कर्पोरेटले गरेको प्रारम्भिक सर्वेक्षणले भने विराटनगर विमान स्थल प्रयोग गरेर अन्यत्र जाने मध्ये ६० प्रतिशत हवाइ यात्रु धरान क्षेत्रका रहेको बताइएको थियो।

पहिले साना विमानका लागि मात्र योजना बनाइए पनि पछिल्लो समयमा विराटनगर विमानस्थल जस्तै बनाउन सकिने संभावना भएकोले थप जग्गा अधिग्रहण गर्नु पर्ने देखिएको विमानस्थल निर्माणमा सक्रिय रहेका एमाओवादीका नेता मुक्सामले बताए। उनका अनुसार थप जग्गा अधिग्रहण गर्दा ५० /६० घर परिवारलाई मुआव्जा दिनु पर्ने अवस्था देखिएको बताए। उनले भने, ‘ती मध्ये केही नम्बरी जग्गा धनी छन्।’

असफल मानिएको यति इन्कर्पोरेटले सोही स्थललाई विमानस्थल बनाउन यसअघि पहल गरेको र जग्गासमेत खरिद गरिसकेको भएपनि नयाँ प्रक्रियामा विमानस्थलका लागि उसको नामा दर्ता भएको जग्गा पनि प्राधिकरणले अधिग्रहण गर्नु पर्ने अवस्था देखिएको मुक्सामले बताए। उनले भने, ‘विमान स्थलको लागि स्थानीय राननीतिक दल, स्थानीय बासिन्दा, जग्गा धनी, नागरिक समाज, धरान नगरपालिका, प्राधिकरणबीच सहमतिका साथ काम गर्नेछौं।’

Recent Videos:

Popularity: 4%

2 comments January 31st, 2012

मेरो ज्यान खतरामा छ, मलाई बचाउनुस्: मुटु रोगी गुरूङ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ माघ । आर्थिक अवस्थाका कारण मुटुको दुबै भल्भ फेर्न नसकी जीवनमरणको दोसाँधमा पुगेका टिकाराम गुरुङले उपचार खर्चको लागि सहयोगको याचना गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै खैरेनी २ तनहूँका गुरुङले विगत तीन वर्षदेखि सहिद गंगालाल अस्पतालमा मुटुको उपचार गराउँदा सम्पति सकिएको भन्दै आम समुदायसँग सहयोगको याचना गरेका हुन्।

गुरुङले भने- मेरो मुटुको दुवै भल्भ फेर्न ६ लाख रुपैयाँ लाग्ने भएकाले मेरो सामर्थ्य छैन, मेरो ज्यान बचाई दिन सबैको सहयोगको अपेक्षा गर्दछु।

उनले थपे-मेरो अचल सम्पति बेचेर उपचार गर्न सकिन्थ्यो तर मेरी सानी आमा सर्केनी गुरुङ र स्थानीय गुन्डा बुद्धिमान गुरुङ मिलेर बेच्नबाट बञ्चित गराएका छन्, अन्य आम्दानी छैन भएको सकियो मेरो ज्यान खतरामा छ, मलाई बचाउनुस्।

Recent Videos:

Popularity: 4%

1 comment January 31st, 2012

फर्जी पासपोर्ट जारी गरेर मलाई फसाइयोः सभासद राना

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ माघ । एमाले सभासद नारदमुनी रानाले आफूलाई कुटनीतिक राहदानी दुरुपयोग काण्डमा संसद सचिवालय, परराष्ट्रमन्त्रालयका कर्मचारी र प्रहरीको मिलेमतामा फसाईएको दावी गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लबमा नेपालमा पत्रकार सम्मेलन गरेर सभासद रानाले सन् २०१० सेप्टेम्बर १० मा जारी भएको ०२१२४४ नम्बरको कुटनीतिक राहदानी आफूले नलिएको स्पष्ट पार्दै आफ्नो नामबाट किर्ते गरी संसदसचिवालय, परराष्ट्रका कर्मचारीहरुले राहदानी निकालेर बिक्री गरी प्रहरी लगाएर फसाईएको आरोप लगाए।

उनले भने-दोस्रो पटक लिईएको भनिएको राहादानी मैले लिएको छैन। लिएको प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार छु। तर मलाई नगरेको दोषमा फसाईदैछ।

सभासद रानाले दोस्रो पटक आफ्नो नाममा जारी भएको राहादानीमा औठा छाप, नागरिकताको प्रतिलिपि, हस्ताक्षर केही पनि नमिलेको अवस्थामा पनि जवरजस्ती फसाएर बदनाम गर्ने षडयन्त्र भएको दावी गरे।

कैलालीबाट समानुपातिक तर्फबाट एमालेका सभासद बनेका सभासद रानाले आफूलाई फसाउन प्रयोग भएका कागजातहरु आफूले संकलन गरी प्रमाणको रुपमा संसद सचिवालय, सभामुख र एमाले पार्टी कार्यालयमा बुझाएको भन्दै पत्रकार सम्मेलनमा समेत सार्वजनिक गरेका थिए।

उनले आफूविरुद्ध भएको षडयन्त्र र एक सभासदको चरित्र हत्या गर्ने गरी भएको षडयन्त्रलाई चिर्न न्यायिक छानविन आयोग गठनको माग पनि पत्रकार सम्मेलनमा गरे।

Popularity: 4%

Add comment January 31st, 2012

मुस्लिम समुदाय पनि आन्दोलित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ माघ । नेपाल मुस्लिम इत्तेहाद संगठनले मुस्लिम समूदायले आदिबादी, जनजाति, दलित र मधेसी जस्तै छुट्टै अधिकारसहितको पहिचान दिन माग गरेको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफूहरुको अलग पहिचान र अधिकारको माग पूरा नगरे सडक आन्दोलनको चेतावनी समेत दिएको छ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएर अल्टिमेटम दिईसको जानकारी दिदै आफूहरुको मागमा सरकारले बेवास्ता गरेको आरोप लगाए।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य महम्मद आलमले मुस्लिम समूदायलाई अलग्गै पहिचानसहित राज्यका सबै अंगमा समानुपातिक सहभागिता गराउनु पर्ने भन्दै त्यसो नगरे अब मुस्लिम समूदाय चुप लागेर बस्न सक्ने अवस्थामा नरहेको बताए।

उनले चालिस लाख मुस्लिम समूदायलाई राज्यले पहिचानविहीन बनाएको आरोप लगाउँदै आफ्नो पहिचान र अधिकारको रक्षाको लागि मुस्लिम समूदाय सडकमा आउनुको विकल्प नरहेको धारणा राखे। उनले मुस्लिमलाई मधेसी वा आदीवासी जनजाति बनाएर पहिचान ध्वस्त बनाउने षडयन्त्र भएको आरोप समेत लगाए।

माओवादीले गरेको युद्धको बेला सञ्चालनमा रहेको जनसत्ताको कामलाई बैद्यानिकता दिने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै त्यसो नगरे सडक आन्दोलन गरेर सरकार ढाल्ने चेतावनी पनि संगठनले दिएको छ।

संगठनले सरकारले ७ बुँदे र ६ बुँदे सहमति अनुसार सरकारले शान्ति र संविधान कार्य अगाडि बढाउनु पर्नेमा सत्ता लिप्सामा फसेर विभिन्न बखेडा झिकेर अवरुद्ध गर्ने काम गरेको भन्दै त्यसो नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ।

Popularity: 4%

Add comment January 31st, 2012

पोर्तुगलका तामाङहरुले सोनाम ल्होसार सम्झिए

योगेन्द्रमिलन छन्त्याल / एचकेनेपाल डट कम-
लिस्बन, पोर्तुगलमा तामाङहरुले २८४८ औं सोनाम ल्होसार मनाए। आइतबार भएको भेटघाट र मनोरन्जनात्मक कार्यक्रममा उनीहरुले नयाँ नेतृत्वको चयन पनि गरेका छन्।

तिबेतियन लिपिको ग्रन्थ पढ्दै सार्की लामाले वुद्ध पूजा गरे। तामाङहरुको विशेष खाप्सीलगायतका खानेकुरासहित दिवाभोजपछि तामाङ सेलोलगायतका नेपाली गीतमा समूहमा नाचे सहभागीहरु। २०-२५ उमेर समूहका युवायुवतीहरुले ठेट तामाङ दोहोरी गाएपछि कार्यक्रममा भावुकता झल्कियो, कुनै कुनै टुक्कामा हाँसे तामाङहरु।

भर्खर पोर्तुगल आएकी मनु पाख्रिन तामाङलाई ल्होसारमा सबैसंग भेटघाट र चिनजान गर्न पाउँदा खुशी लागेको छ। पाख्रिन भन्छिन् - ‘कार्यक्रममा रमाइलो गर्दा र हाम्रा तामाङहरुको पोशाक देख्दा झल्झली घर सम्झिएँ।’

तामाङहरुले आगामी कार्यकालका लागि अध्यक्ष दावा पाख्रिन, वरिष्ठ उपाध्यक्ष राजेन्द्र तामाङ, उपाध्यक्ष गीता तामाङ, सचिव सन्तोष घिसिङ, सहसचिव ओम वाइबा, कोषाध्यक्ष मनु पाख्रिन तामाङ र सहकोषाध्यक्षमा जैमान लोप्चन तामाङ रहेको कार्यसमिति चयन गरेका छन्।

पुनर्गठित कार्यसमितिका सदस्यहरुमा हरि घिसिङ, सन्तोष गोम्जा तामाङ, राजु वाइबा, युक्त तामाङ, संजय लामा, फुर्वा वाइबा, राम पाख्रिन र डिलिशेर मोक्तान रहेका छन्। देवी तामाङलाई महिला संयोजक र नाम्जेल वाइबालाई युवा संयोजकको जिम्मा दिइएको छ । उनीहरुले वरिष्ठ सल्लाहकार पाल्जोर लामासहित सुमन वाइबा, मीना तामाङ र कुमार योन्जन सदस्य रहेको सल्लाहकार समिति पनि चयन गरेका छन्।

ल्होसारमा नयाँ समितिले प्रतिबद्धता जाहेर र पुराना पदाधिकारीहरुलाई विदाई पनि गरेको छ । धौलागिरी र अन्नपूर्ण हिमाल, पशुपतिलगायतका फोटो फ्रेम र नेपाली झण्डाले सजिएको नेपाल माया रेष्टुरेण्टमा भएको ल्होसारमा सहभागी भएका ५० बढी तामाङ र गैरतामाङहरु राष्ट्र र संस्कृतिप्रति सधै निकट रहनुपर्ने महशुस भएको बताए।

गैरआवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष एवं कार्यक्रम प्रमुख अतिथि रमेश गुरुङ, आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष गणेश लिम्बु, तमु समाज पोर्तुगलका अध्यक्ष पन्च गुरुङ र शेर्पा किदुक पोर्तुगल अध्यक्ष पेम छिरी शेर्पाले टुक ल्होसार र कार्यक्रम सफलताको शुभकामना दिएका थिए। कार्यक्रम समाजका अध्यक्ष सोम तामाङको अध्यक्षतामा सोनामयोज्जन लामाले संचालन गरेका थिए।

Popularity: 4%

Add comment January 31st, 2012

धरान लिम्वुवानको राजधानी घोषित

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १२ लिम्बु जन्य संघ संगठनको छाता संस्था संयुक्त लिम्बुवान मोर्चा नेपालले सोमवार धरान विजयपुरलाई लिम्बुवान स्वायत्त राज्यको राजधानी घोषणा गरेको छ।

संखुवा खोला-अरुण-सप्तकोसीपूर्वका नौजिल्ला लिम्बुवान स्वायत्त राज्य भएको दावी गर्दे मोर्चाले धरानलाई राजधानीको रुपमा घोषित गरेको हो।

मोर्चाले लिम्बुवानको इतिहास र संस्कृतिको साझा केन्द्र विजयपुर भएकाले धरानलाई राजधानी घोषणा गरिएको स्पष्ट पारेको छ।

मोर्चाले धरानमा घोषणा सभा गर्दै विसं १८३१ अगाडिको ऐतिहासिक दस्तावेजहरुमा लिम्बुवानको राजधानी विजयपुर भएको र आधुनिक लिम्बुवानको पहिचानसंग जोडिएकाले सोही क्षेत्रको धरानलाई राजधानी घोषणा गरेको हो।

धरानस्थित किरात याक्थुङ चुक्लुङमा सोमबार विहान बसेको मोर्चाको वृहत भेलापछि मोती स्मृतिमा आयोजित घोषणामा लिम्बुजन्य संगठन र दलका शीर्ष नेताहरुले लिम्बुवानको पहिचानमाथि आँच पुग्ने गरी लिम्बुवान राज्यको सिमाङ्कन कोरिएमा त्यो कुनै हालतमा मान्य नहुने चेतावनी दिएका छन्। उक्त घोषणालाई कुमार लिङ्देन नेतृत्वको मञ्चसम्बद्ध संघीय लिम्वुवान राज्यपरिषद, संजुहाङ पालुङ नेतृत्वको लिम्बुवान राज्य परिषद लगायतले सहमति र समर्थन जनाएका थिए।

याक्थुङ चुम्लुङका केन्द्रीय सचिव गजेन्द्र इस्वोले यसअघि राज्य पुनर्संरचना तथा राज्य शक्तिको वाँडफाँड समितिले प्रस्ताव गरेको सिमाङ्कन खुम्च्याएर भएको त्रुटिलाई राज्य पुनर्संरचना आयोगले सच्याउँदै ऐतिहासिक आधार मै सिमाङ्कन निर्धारण गर्नु पर्ने मोर्चाको माग रहेको बताए। उनले संविधान सभाबाट निर्माण हुने भावि संघीय गणतन्त्रात्मक संविधानमा ऐतिहासिक तथा भौगोलिक निरन्तरताका आधारमा संखुवा खोला-अरुण नदी-सप्तकोसी पूर्वको भौगोलिक क्षेत्र लिम्बुवान स्वायत्त राज्यको रुपमा स्थापना नभए जुनसुकै चुनौती सामना गर्न मोर्चा तयार रहेको उनले बताए।

घोषणसभामा एमाओवादीले सुनसरीलाई कोचिला प्रदेशमा समावेश गरेको अवस्थामा सोही दलका वर्गीय संगठन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष श्रीप्रसाद जवेगुले पत्रकार सम्मेलनमा भने, अरुण सप्तकोशी पूर्व लिम्बुवानबाहेक कुनैपनि स्वायत्त राज्य हुन नसक्ने भन्दै अन्य स्वायत्त राज्य आफूहरुलाइ स्वीकार्य नहुने बताए।

लिम्बुवान स्वायत्तताबारे तीन दशकदेखि अभियान संचालन गर्दै आएका लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङ्ले राज्य पुनर्संरचना आयोगले लिम्बुवान राज्यको सिमाङ्कन सिफारिस गर्दा लिम्बुवानको पहिचानको पूर्णरुपमा संबोधन नगरेकोमा आपत्ति जनाए।

घोषणा सभामा एमाओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका महासचिव मुक्साम मेन्याङ्बो, लिम्बुवान स्वशासित संघ (एकीकृत) का अध्यक्ष के.वि.फुदोङलगायतले लिम्बुवान स्वायत्तताका लागि जुनसुकै बलिदानी दिन आफूहरु तयार रहेको बताएका थिए।

Popularity: 4%

4 comments January 31st, 2012

रन्जनाको हत्यालाई आत्महत्या बनाउने षडयन्त्र

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ माघ । गत माघ २ गते सासू र श्रीमानबाट घरमै झुण्ड्याएर मारिएकी रन्जना न्यौपानेको हत्यालाई आत्महत्या प्रमाणित गर्न प्रहरीले समेत सहयोगी भूमिका निर्वाह गरिरहेको आरोप उनका माईती पक्षले लगाएका छन्।

माईतीपक्षले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आत्महत्या गर्न नसक्ने गरी भूइ छुएर सल बेरी झुण्ड्याईएको, गर्धनमा डाम नभएकी रन्जनाको दाईजो नल्याईएको निहुँमा हत्या भएको माईतीपक्षले आरोप लगाए।

घटना स्थलको बास्तविक मुचुल्का समेत नगरी, दसी प्रमाण संकलन नगरी सफा र सुग्घर कोठाको तस्बीर खिचेर प्रहरीले हत्यालाई आत्महत्या बनाउने षडयन्त्र रचेको भन्दै त्यसैलाई आधारमानी पोष्टमार्टम नै नगरी आत्महत्याको रिपोर्ट बनाएको दावी समेत पत्रकार सम्मेलनमा गरिएको थियो।

माईतीपक्षका केशब, अच्यूत, रामप्रसाद पौडेलले पत्रकार सम्मेलन गरी हत्याको छानविन गरी हत्यारालाई कारवाही गराउन प्रहरीलाई दवाव दिन मानवअधिकारबादी, नागरिक समाज र पत्रकारहरुसँग आग्रह गरे।

उनीहरुले विवाह भएदेखिनै नपढेकी, दाईजो नल्याएकी भन्दै सासुले प्रताडना दिने गरेकोमा माईतीले सुन, मोबाईल लगायतका सामाग्री पठाए पनि यातना दिदै आएको अवस्था र रन्जना झुण्डिएको अवस्थाले घटना हत्या नै भएको प्रष्ट हुँदा हुँदै प्रहरीले प्रलोभनमा परी अनुसन्धान बङग्याईएको दावी गरे।

Popularity: 4%

2 comments January 30th, 2012

शहीद आयोग गठन नगरे आत्मदाह गर्ने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ माघ । प्रजातन्त्रको लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गरेका शहीदका परिवारहरुले शहीद आयोग गठन गर्न एक साताको अल्टिमेटम दिएका छन्।

शहीद सप्ताहको अन्तिम दिन समोबार शहीद प्रतिक स्मृति केन्द्रले रिपोर्टर्स क्लब नेपालमा अर्न्तक्रिया कार्यक्रमको आयोजना गरेर एक साताभित्र शहीद आयोग गठन नगरे आत्मदाह गर्ने चेतावनी दिएको छ।

केन्द्रका अध्यक्ष जेवी धौलाकोटीले सरकारले गुण्डा फटाहालाई शहीद घोषणा गर्ने बास्तविक शहीदका परिवारले लामो समयदेखि उठाउँदै आएको शहीद आयोग गठन गर्न आनाकानी गरेको दावी गर्दै आयोग गठन गरेर शहीदको परिभाषा र मापदण्ड निर्माण गर्नु पर्ने माग गरे।

उनले शहीद परिवारको नामममा माओवादीले आफ्ना पार्टीले कार्यकर्ताहरुलाई राज्यको ढुकुटीबाट साढे चारअर्ब रुपैया बाँडेको समाचाररले शहीद परिवारलाई गंभीर बनाएको भन्दै सोको न्यायिक छानविन गर्न माग गरे।

शहीदको रगतमा होली खेल्ने ब्वासाँ नेताहरुलाई शहीदको नाममा खोक्रो सम्मान गर्ने नैतिकता नभएको भन्दै मुलुकमा जन्मन थालेका तानाशाहहरुविरुद्ध फेरि मुलुकमा शहीद हुनु पर्ने अवस्था आएको बताए।

कार्यक्रममा सुखानी हत्याकाण्डमा शहीद भएका रामनाथ दाहालकी श्रीमती विशेश्वरा दाहालले नेपालमा दुर्घटनामा मारिएका, गुण्डागर्दीमा मारिएका लगायतकालाई शहीद घोषणा गरिएपछि शहीदको त्यो भन्दा अपमान हुने ठाँउ नभएको भन्दै मुलुकमा शहीदको परिवार भनेर शिर ठाडो पार्ने अवस्था समेत दलहरुले नदिएको गुनासो गरिन्। उनले शहीदको रगतबाट प्राप्त लोकतन्त्रलाई दलहरुले बाग्मती खोला जस्तो दुषित बनाएको बताईन्।

कार्यक्रममा दलित गैरसरकारी संस्था महासंघका महासचिव जेवी विश्वकर्मा, २००७ सालको आन्दोलनको क्रममा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा रहेको जनमुक्ति सेनाको राणा सेनासँग भएको भिडन्तमा मारिएका पहलमान मोक्तानकी श्रीमती लगायतकाका उपस्थिति थियो।

शहीद मोक्तानकी श्रीमती विगत लामो समयदेखि राज्यले बेवास्ता गर्दा पशुपति मन्दिरमा भिक्षा मागेर मागेर जीवन गुजारा गरिरहेको बाध्यता समेत सुनाईएको थियो।

केन्द्रले सरकारले गरेको सम्झौता कार्यान्वयन हुनु पर्ने, शहीद आयोग गठन गर्नु पर्ने, राजनीतिक नियुक्तिमा शहीद परिवारको प्रतिनिधित्व गर्नु पर्ने, नेताहरुको सम्पत्ति छानविन गर्नु पर्ने, शहीद परिवारको सामुहिक संस्था दर्ता गराउनु पर्नेलगायतका माग कार्यक्रममा अगाडि सारेको थियो।

Popularity: 4%

Add comment January 30th, 2012

जनसत्ताको बैधानिकता कार्यान्वयन हुन सक्दैनः मन्त्री महतो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ माघ । स्वाथ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले जनसत्ताको कामलाई बैधानिकता दिने मन्त्री परिषदको निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुनै नसक्ने ठोकुवा गर्दै मोर्चाले यो निर्णय कुनै पनि हालतमा लागु हुन नदिने स्पष्ट पारेका छन्।

उनले मन्त्री परिषदले कानून अनुसार गर्ने भनि निर्णय गरेकोले मुलुकमा कानूननै नभएको अवस्थामा सो निर्णयको कुनै पनि हालतमा लागु हुनै नसक्ने ठोकुवा गरे। मन्त्री महतोले भने-शान्ति र संविधानलाई पर धकेल्ने गरी यस्ता विवादास्पद निर्णयहरु अगाडि बढाउनु हुँदैन।

एक महिनाभित्रमा शान्ति र संविधान निर्माणको कार्य अगाडि बढ्न नसके प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई कसैले बचाउन नसक्ने घोषणा गरेका छन्।

राजधानीमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा महतोले अब मोर्चाले एकमा शान्ति प्रक्रिया, संविधान निर्माण, नेपाली सेनामा मधेसी यूवाहरुको समूहगत प्रवेश र समावेशी विद्येयक ल्याउने अल्टिमेटम दिने स्पष्ट पार्दै सो समयसीमामा पुरा नभए सरकार ढल्ने दावी गरे।

उनले भने-शान्ति प्रक्रिया अगाडि नबढे अब सरकार ढल्छ, कसैले पनि बचाउन सक्दैन, यसको विकल्प छैन। यद्यपि उनले माओवादीले चाहँदा चाहँदै पनि नेपाली काग्रेस र नेकपा एमालेले अवरोध गरे सरकारलाई कसैले पनि हल्लाउन नसक्ने स्पष्ट पारे।

मन्त्री महतोले ४ महिनासम्म पनि शान्ति, संविधान र मधेसका सवाल पुरा नभएकोले मधेसी मोर्चाकै हैसियतमा प्रश्न उठेको दावी गर्दै यी कुरा पुरा नभए मन्त्री बन्नलाई मात्रै मधेसी पार्टी फोडेर मोर्चा निर्माण गरेको प्रमाणित हुने ठोकुवा गरे। उनले भने-मोर्चाको अस्तित्वमा प्रश्न उठेको छ, यो शान्ति, संविधानको लागि हो कि मन्त्री बन्न भनेर। पार्टी फोडेर बनाएको मोर्चाको नियतमाथि मधेसमा पनि प्रश्न उठेको छ।

Popularity: 4%

Add comment January 30th, 2012

रिपोर्टर्स क्लबले देशब्यापी आन्दोलन गर्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ माघ । सरकारले १४० प्रकारका सूचना लुकाउने गरी सरकारी निकायलाई गरेको निर्देशन फिर्ताको लागि दवाव सृजना गर्न रिपोर्टर्स क्लब नेपालले देशब्यापी आन्दोलन गर्ने भएको छ।

रेडियो मकवानपुरको दोस्रो बार्षिक उत्सवको अवसरमा सोमबार हेटौडामा आयोजित विशेष कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष ऋषि धमलाले आन्दोलनको घोषणा गरेका छन्। उनले क्लबका जिल्ला शाखाको संयोजनमा अन्य पत्रकारहरुसँग समन्वय गरेर आन्दोलन गर्ने घोषणा गरे।

धमलाले राजाको निरकुंशताको विरुद्धमा समेत सडकमा ओर्लेको स्मरण गर्दै लोकतान्त्रिक भन्ने सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई लत्याएर प्रेसमाथि आक्रमणको दुष्प्रयास गरेको दावी गरे।

उनले भने-विगतका तानाशाहले पनि प्रेसमाथि अंकुश लगाउने असफल प्रयास गरे। अहिलेको सरकारको प्रयास पनि असफल हुन्छ। उनले सरकारलाई तत्काल सूचना लुकाउने प्रेस स्वतन्त्रता र लोकतन्त्र विरोधी निर्णय फिर्ता लिन सुझाव दिदै अन्यथा आन्दोलनको आधिबेहरी खेप्न चेतावनी पनि दिए।

Popularity: 4%

Add comment January 30th, 2012

कर्मचारीहरुले क्याम्पस बन्द गर्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १५, माघ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिवि व्यवस्थापनले आफूहरुको माग पुरा नगरेको भन्दै अधिराज्यका त्रिवि का आङ्गिक क्याम्पसहरु अनिश्चितकालीन बन्द गर्ने सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

उपकूलपतिसँग पौष १७ र २२ गते भएको सहमतिको कार्यान्वयन नभएको भन्दै माघ ५ गते त्रिविको मूल गेटमा लगाएको ताला नखोल्ने र अधिराज्यभरका क्याम्पस बन्द गर्ने सहितका आन्दोलनका कार्यक्रम घोषणा संघले गरेको हो।

संघद्धारा घोषित आन्दोलनका कार्यक्रमहरुमा माघ १८ र २२ गते सहउपकुलपति र कुलपतिलाई ज्ञापन पत्र बुझाउने, २४ देखि २६ सम्म उपत्यकाका क्याम्पसहरुमा विरोध सभागर्ने, माघ २७ गतेदेखि उपत्यकाभरीका क्याम्पस र कार्यालयहरुमा अनिश्चितकलिन तालबन्दी गर्ने र फागुन ३ गते देखि नेपाल भरीका त्रिविका आङ्गिक क्याम्पसहरु अनिश्चितकालीन बन्द गर्ने लगायतका रहेका छन्।

आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर संघले त्रिविको मूल प्रवेशद्वारमा अनिश्चितकालीन तालावन्दी गरिएपनि व्यवस्थान पक्षले संघको मागप्रति कुनै चासो नदेखाएले ११ सूत्रीय मागसहित विरोधका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको स्पष्ट पारेको हो।

त्रिवि कर्मचारी संघले पोशाक भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, विशेष विज्ञापन पुरानै कार्यविधि अनुसार प्राविधिक कर्मचारीको ल्याडरसहित तत्काल गर्नुपर्ने, आन्तरिक बढुवा विज्ञापनमा अफिसर स्तरमा ५ वर्ष र सो भन्दा तल्लो स्तर ३ वर्ष आन्तरिक बढुवा विज्ञापनमा आवेदन दिन पाउनुपर्नेलगायत संघसँग सहमति भएका ११ सूत्रीय माग तत्काल कार्यान्वयन हुनुपर्ने दावी गरेका छन्।

Popularity: 4%

Add comment January 29th, 2012

मिर्गौला पीडितलाई कतारवासी गोरखालीहरुबाट सहयोग

बुधबल गुरुङ / एचकेनेपाल डट कम-
कतार, २९ जनवरी । गोरखा, केराबारी १ का मृगौला पीडित सुवास गुरुङलाई कतारवासी गोरखालीहरुले रकम संकलन गरी सहयोग गरेका छन्।

कतारमा विभिन्न कम्पनीमा कार्यरत स्वदेशी तथा विदशी नागरिकहरुबाट सो रकम संकलन गरिएको हो।

गोरखा सेवा समाज कतारका प्रमुख सल्लाहकार तथा गोरखाली अनलाईन डटकम सञ्चालक तथा सम्पादक बुधबल गुरुङले हालसम्म संकलित रकम नेपाली रुपैयाँ १,३८,१२३/ (क.रि. ६३८९) हिजो आर्एमई मार्फत सुवास गुरुङले भुक्तानी पाउने गरी पठाएका हुन्।

बैदेशिक रोजगारीको सिलसिलामा आफ्नो परिवारको उज्जल भविष्यको सपना बोकेर विगत ६ बर्षपहिले कतारमा प्रवेश गरेका मृगौला पीडित गुरुङ गत १४ डिसेम्बरसम्म कतारको हमाद अस्पतालमा उपचार गराएर नेपाल फर्केका हुन्।

नेपालमा हाल उनको दुबै मृगौला प्रत्यारोपण गर्ने तयारीमा छ। उनका उनुसार मृगौला प्रत्यारोपण गर्नको लागि सबै कागजातहरुको तयारी पुरा भईसकेको समेत बताउनु भयो। हालसम्म उनको स्वास्थ्यमा क्रमिक सुधार भएको पनि जानकारीमा आएको छ।

गोरखा सेवा समाज कतारका उपाध्यक्ष तथा मृगौला पीडित सहयोग समिति कतारका संयोजक गणेश बाँनियाका अनुसार वितरित केही फारमहरुबाट रकम संकलन जारी नै रहेको समेत बताए। बाँनियाका अनुसार हालसम्म संकलित रकममा विभिन्न समाजसेवीहरुको सक्रियताले नै सफल भएको हुदा गोरखा सेवा समाज कतार उहाँहरुप्रति हार्दिक धन्यवाद दिदै कृतज्ञता जाहेर गरेको छ।

बिष्णु सापकोटाको सक्रियतामा -क.रि ६५०/
गणेश बाँनियाको सक्रियतामा -क.रि ६२६/
राम बहादुर खत्रीको सक्रियतामा -क.रि ३१०
ज्ञानेन्द्र अंगाईको सक्रियतामा क.रि -९६०/
नन्दु घले/ बुधबल गुरुङ/ तमू समाज कतारको सक्रियतामा -क.रि १,३९७/
शिव थापाको सक्रियतामा -१,०१२/
ओटीयस कम्पनीका साथीहरु /राजन दवाडी तथा विद्या सर्किनीको सक्रियतामा संकलित -१,३३४/
विकल्प अनुराग साउदीबाट प्राप्त क.रि. -१००/

Popularity: 4%

Add comment January 29th, 2012

बेलायतमा नेपाली कलाकार सम्मानित

एचकेनेपाल डट कम संवाददाता-
बेलायत, नेपाली चलचित्र संघ युकेले यहाँका नेपाली कलाकारहरूलाई सम्मान गरेको छ।


कला र कलाकार राष्ट्रका गहना हुन् यिनको सम्मान गरौ भन्ने उद्धेश्यका साथ स्थापना भएको नेपाली चलचित्र संघ युकेको पहिलो वार्षिक उत्सब कार्यक्रममा नायक धुर्ब दत्त, नायिका सब्रिन श्रेष्ठ, निर्देशक तथा निर्माता गोरे गुरुङ, एलबि सुब्बा र प्रेम लामालाई सम्मान गरेको हो।

कार्यक्रममा सम्मानित तथा अन्य स्थानीय कलाकारले आ-आफ्नो प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

Popularity: 4%

Add comment January 29th, 2012

यूएईका प्रथम राजदूत थापालाई विदाई तथा सम्मान

निमकान्त पाण्डे / एचकेनेपाल डट कम-
दुबई, संयूक्त अरब इमिरेट्स दुबईको याक एण्ड यती रेष्टुरेन्टमा रहेका नेपाली सामाजिक संघसंस्थाहरूले यूएईका लागि प्रथम नेपाली राजदूत महामहिम अर्जुनबहादुर थापालाई एक कार्यक्रम आयोजना गर्दै शुक्रवार विदाई तथा सम्मान गरेका छन्।

नेपाली समाजको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा, नेपाली जनप्रगतिशिल मञ्च यूएई,नेपाली प्रवाशी संघ यूएई,प्रगतिशिल यातायात मजदुर मञ्च यूएई, नेपाली जनसम्पर्क समिति यूएई, लुम्बिनी वेलफेयर सोसाइटी यूएई, स्याङ्जा सहयोग समाज यूएई, गोरखा सहयोग समाज यूएई, नेपाली युथ सोसाइटी यूएई , फेवा फोर्स यूयई, बाग्लुङ सेवा समाज यूएई, नेपाली युथ सोसाइटी यूएई, नेपाली महिला समिति यूएई, धादिङ वेलफयर सोसाइटी यूएई लगायतका विभिन्न संघसंस्थाले संयुक्त रूपमा राजदूत महामहिम थापालाई विदाई तथा सम्मान गरेका थिए।


तस्वीरहरूः अर्जुन ढकाल

नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई, नेपाली जनसम्पर्क समिति यूएई र नेपाली जन प्रगतिशिल मञ्च यूएईले सम्मान पत्र समेत प्रदान गरेका थिए भने सहभागी भिभिन्न संघसंस्थाहरूले खादा, दोसल्ला ओढाएर सम्मान गरेका थिए।

नेपालको राष्ट्रिय गानका साथ सुरु गरिएको उक्त कार्यक्रममा एनआरएन एनसीसी यूएईका महासचिव सन्तोष प्रसाईले उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो। प्रमुख अतिथि महामहिम राजदूत अर्जुनबहादुर थापा रहनु भएको थियो भने विशेष अतिथिमा दूतावासका नियोग उपप्रमुख दिपकराज अधिकारी, द्वितीय सचिव लोकबहादुर थापा, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व सहसंयोजक लोकनाथ सुबेदी रहनुभएको थियो।

नेपाली समाजका अध्यक्ष कृष्णबहादुर ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली समाजका महासचिव प्रकाश कोइरालाले सञ्चालन गर्नु भएको थियो। कार्यक्रमका अन्य अतिथिहरूमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य बिमल तामाङ, कोअप्टेट सदस्य चुडामणी ढकाल, मिडिया टाक्सफोर्सका सदस्य खेमनाथ पौडेल, युवा टाक्सफोर्सका सदस्य गुणराज आचार्य, गैर आवासीय नेपाली संघ यूयईका अध्यक्ष चन्द्रबहादुर रोकाहा, नेपाली समाजका संस्थापक तथा सल्लाहकार, गैरआवासीय नेपाली संघका भूपू मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटा, नेपाली समाजका सल्लाहकार एवं भूपू अध्यक्ष यम तमु, नेपाली समाजका पार्षद अध्यक्ष तुलसी तामाङ, नेपाल पत्रकार महासंघ यूयईका अध्यक्ष शंकर ज्ञवाली, आदिवासी जनजाती महासंघका कार्यबाहक अध्यक्ष महेश मोक्तान, नेपाली प्रवाशी संघ यूयईका अध्यक्ष यमलाल पंगेनी, नेपाली जन प्रगतिशिल मञ्च यूयईका अध्यक्ष उत्तम अधिकारी, नेपाली जनसम्पर्क समिति यूयईका उपाध्यक्ष खेमराज बस्नेत, लुम्बिनी वेलफेयर सोसाइटी यूयईका अध्यक्ष डिएल शर्मा, किराँत यक्थुम चुम्लुङ्ग यूयईका अध्यक्ष पिएस लिम्बु, शेर्पा किदुक यूयईका अध्यक्ष पासाङ रिन्जिन शेर्पा, तमु समाज यूयईका अध्यक्ष डेरराज गुरुङ, स्याङ्जा सहयोग समाज यूयईका अध्यक्ष भुपती न्यौपाने, फेवा फोर्सका अध्यक्ष गुप्तशेखर पौडेल, नेपाली महिला समितिका महासचिव शावित्री यम्सी, गल्फ टुडेका पत्रकार इमरान मोजिब र नेपाल समाचार पाक्षिकका सम्पादक लालबहादुर ढेंगा आदि रहनु भएको थियो।

भिभिन्न संघसंस्थाहरूले विदाईका शुभकामना मन्तव्य राखेका थिए। यूयईमा रहेका सम्पूर्ण सामाजिक संघसस्थाले मिलेर संयूक्त रूपमा आयोजना गरेको यस कार्यक्रमले हामी नेपाली एक ढिक्का भएर चलेका छौं भनेर पुष्टी गरेको बताउँदै दुबईमा नै नेपालीहरूको समस्या धेरै भएकाले दुबईमा कन्सुलेट राख्नका लागि हामी सबैले एक ढिक्का भएर नेपाल सरकारसँग माग गरे सो पनि पुरा हुन सक्छ भन्दै राजदूत थापाको कार्यकालमा भएका उल्लेखनीय कार्यको प्रशंसा गर्दै बिदाई मन्तव्य दिनु भएको थियो।

नेपाली दूतावासका प्रतिनिधीहरूले नेपालीका समस्याको समाधानका लागि आफ्नो श्रोत र क्षमताले भ्याएसम्म छिटोछरितो कार्य गरेको प्रशंसा गर्नुभयो। दुबईमा नै समस्या बढी भएकाले दूतावासबाट मोबाइल कन्सुलर सर्विस उपलब्ध गराउनु हुन अनुरोध गर्दै महामहिम ज्यू यूएईका समस्याहरूबारे जानकारी राख्नु भएकाले उहाँले नेपाल सरकारको पोलिसी मेकिंगमा नै वैदेशिक रोजगारमा जाने नेपालीलाई पर्न जाने समस्याका समाधानका लागि विशेष पहल गर्नु हुने छ भन्ने विश्वास राख्दै विदाई मन्व्य दिनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत अर्जुन बहादुरज्यूले आफ्ना कार्यकालमा चाहदाँ चाहदै पनि कसैलाई सेवा प्रदान गर्न नसकेको भए र कुनै गल्ती भएमा माफी दिनुहुन अनुरोध गर्दै आफुले नेपालमा रहेर पनि यूयईमा पर्न जाने नेपालीका समस्या समाधानका लागि नेपाल सरकार र यूयईमा रहेका नेपाली डायस्पोराको विचमा पुलको रूपमा सहयोग गर्नका तत्पर रहेको बताउँनु भयो।

दुबईमा नै नेपालीहरूका समस्या बढी भएकाले नेपाल सरकारसँग नेपाली कन्सुलेट खोल्नका लागि तथा यूयईका नेपालीहरूको माग र आवश्यकताको बारेमा नेपाल सरकार समक्ष बोध गराउने प्रतिबद्धता जनाउनु भयो। कार्यक्रमका सभापति नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले बिदाई तथा सम्मान कार्यक्रम गर्न ऐक्यवद्धता जनाउनु भएका संघसंस्थालाई धन्यवाद दिदैं कार्यक्रममा उपस्थित जनाउनु भएका नेपाली समाजमा आवद्ध नेपाली संघसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघ यूएई, नेपाल पत्रकार महासंघयूएई, नेपाली जनप्रगतिशील मंच युएई, नेपाल जनसम्पर्क समति यूएई र आदिवासी जनजाती महासंघ यूएईका प्रतिनिधि तथा समाजसेवी, पत्रकारलाई विशेष धन्यवाद दिनु भयो।

यूएईमा समस्यामा परेका नेपालीलाई उद्दार गर्ने कार्यमा दूतावासबाट यथासक्य सहयोग गर्नु भएकोमा दूतावासलाई धन्यवाद दिदैं १ लाख ५० हजार नेपालीका लागि दूतावासमा कार्यरत पाँच जना कर्मचारीले पुर्‍याउनु भएको सहयोग सह्रानीय रहेको बताउनु भयो।

Popularity: 4%

Add comment January 29th, 2012

तमू राष्ट्रिय सम्मेलनका लागि छलफल

लोक तमू / एचकेनेपाल डट कम-
बुटवल, १४ माघ । नेपाल तमु विद्यार्थी छोँज धीले आफ्नो आसन्न राष्ट्रिय सम्मेलनको विषयमा शनिवार आफ्नो मातृ संस्था तमु हृयुल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका इकाई समितिसग छलफल सम्पन्न गरेको छ।

आउदो फागुनको ६, ७ र ८ गते बुटवलमा हुन गैरहेको राष्ट्रिय सम्मेलनको तायारी कार्यक्रम अर्न्तगत तमु विद्यार्थी छोज धीँ छलफल कार्यक्रम गरेको हो।

कार्यक्रममा विभिन्न इकाई समितिका प्रतिनिधिहरुले राष्ट्रिय सम्मेलनमा आफ्नो सहभगिता रहने बताएका थिए। सम्मेलनसंग बुटवलको इज्जत पनि जोडिएकोले तमु विद्यार्थीको सम्मेलन सम्पन्न पार्नु सवै रुपन्देही बासी गुरुङहरुको दायित्व भएको पनि बताएका थिए। युवा पिढि नै भोलिको समाज हाँक्ने साधान भएकोले तमु युवा पिढिको प्रतिनिधिहरुको राष्ट्रिय सम्मेलनलाई नैतिक, भौतिक र आर्थिक रुपमा सहयोग गर्न आफुहरु तयार रहेको बताए।

कार्यक्रम तमु हृयुल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद जिल्ला अध्यक्ष चन्द्र बहादुर तमु, कोषाध्यक्ष पुर्ण बहादुर तमू, बुटवल नगर समितिका अध्यक्ष एवम बुटवल नगर समितिका अध्यक्ष ज्योतिनगर इकाई समितिका अध्यक्ष भिम बहादुर तमू, वडा नं ६ र ९ इकाई समितिका अध्यक्ष एवंम तमु हृयुल छोँज धीँ अनुगमन तथा निर्देशन समितिका अध्यक्ष पुर्ण बहादुर तमु, बदेलपोखरी इकाई समितिका अध्यक्ष झल बहादुर तमु, अमुवा इकाई समितिका ज्ञान बहादुर तमु, सिक्टहन इकाई समितिका थम बहादुर तमू, वडा न ९ इकाई समितिका अध्यक्ष रुद्रजंग तमुलगायतले बोल्दै सम्मेलनका लागि जुनसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताए।

कार्यक्रममा तमु विद्यार्थी संस्थापक अध्यक्षले तमु विद्यार्थीले सम्मेलन सफल बनाउनका लागि बनाउनुपर्ने योजनाहरु प्रस्तुत गरेका थिए। नेपाल तमु विद्यार्थी सातौ राष्ट्रिय सम्मेलन मुल व्यवास्थापन समितिको आयोजनामा कार्यक्रम भएको हो।

सम्मेलनमा देशभरका विभिन्न ६० जिल्लाका गुरुङ विद्यार्थीका प्रतिनिधिले भाग लिनेछन्।

Popularity: 4%

1 comment January 28th, 2012

जापानमा महाभूकम्पको आतंक

सोनाम शेर्पा / एचकेनेपाल डट कम-
टोकियो, १४ माघ । जापानमा शनिवार बिहान ७ बजेर ३९ मिनटदेखि ८ बजेर ५ मिनटको अन्तरलमा लगातार तीन पटक म्याग्नाच्युट ५.५ को भूकम्प गएको छ।

भूकम्पको केन्द्र टोकियोबाट ९८ किलोमिटर टाढा फुजी हिमालको आसपास रहेको थियो। भूकम्पको गहिराई २० किलोमिटर थियो।

भूकम्पको झट्का टोकियोसम्म महशुस भएको थियो। भूकम्पको कारण सिजौका क्षेत्रमा केही समय रेल सेवाहरु आबरुद्ध भएको थियो भने केही क्षेत्रमा बिजुली जानका कारण ट्राफिक ब्यबस्थालाई असर पुर्‍याएको थियो। सिजौका प्रहरीका अनुसार भूकम्पबाट धन जनको कुनै क्षति भएको छैन।

दुई दिन अघिमात्र टोकियो ब्रोडकास्टिङ सिस्टम टेलिभिजनको न्यूज २३ मा बोल्दै भूकम्पबिदले आगामी ४ बर्षभित्र टोकियोमा शक्तिशाली भूकम्प आउने सम्भावना ७० प्रतिशत रहेको बताएका थिए। यताका दिनहरुमा सम्भावित भूकम्प र दैबिक प्रकोपको सामना गर्न टोकियोका फायर फाईटर, हाईपर रेस्क्यु, प्रहरी, जापानी जल, थाल र बायु सेनाले अस्वाभाबिकरुप संयुक्त अभ्यास गरिरहेका छन्।

टोकियो सरकारले टोकियोमा भूकम्प र दैबिक प्रकोप आएको खण्डमा आफ्नो जनताले २ दिन खान पुग्ने पानी र खानाको ब्यबस्था रहेको जनाएको छ। तर बाहिरी प्रान्तबाट दैनिक लाखौंको संख्यामा जापानीहरु रोजगारीको लागि टोकियोमा आउने गरेको छ र यसको सहि तथ्यांक कसैसँग पनि छैन। टोकियो सरकार अन्तर्गत टोकियोमेट्रोको कुल क्षेत्रफल ६ सय २२ ईस्क्वायर किलोमिटर छ र यसको २३ वटा वार्डको कुल जनसंख्या १ करोड हराहारी छ।

प्रत्येक वार्डले आ-आफ्नै हिसाबले दैबिक प्रकोपको सामना गर्न तयारी गरेका भएता पनि कम्तीमा ३ दिनको लागि पुग्ने खाना र पानी आफैले ब्यबस्था गर्न आफ्ना वार्डका नागरिकहरुलाई आव्हान गरेका छन्। तर राहत असक्त, बालबालिका र बृद्धहरुलाई पहिला बाँडिने हुनाले कम्तीमा १ महिनाको लागि पुग्ने खाना र पानीको जोहो आफैले गर्नु पर्ने भूकम्पबिदहरु बताउछन्।

Popularity: 4%

Add comment January 28th, 2012

प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै नेपाली मौलिक: मन्त्री भट्ट

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १४ माघ । बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीबाट नै नेपाली मौलिकतामा आधारित शासन प्रणाली हुने दावी गरेका छन्।

मन्त्री भट्टले एकीकृत नेकपा माओवादीको अहिलेको बटमलाईन पनि कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति भएको उल्लेख गर्दै आफूहरु त्यसबाट पछि हट्न नसक्ने स्पष्ट पारे। उनले राष्ट्रपतीय शासन प्रणालीबाट नै नेपालमा मौलिक खालेको राज्य सञ्चालन हुन सक्ने ठोकुवा गरे।

रिपोर्टर्स क्लव नेपालमा शनिबार प्रतिबद्ध त्रैमासिक पत्रिकाले आयोजना गरेको नेपाली मौलिकतामा आधारित शासन प्रणालीको आवश्यकता सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टले माओवादीको दश वर्षको जनयुद्ध सार पुरानो राज्य सत्ताको समाप्ति र जनमुखी शासन नै भएकाले विद्यमान शासन प्रणालीको अन्त्य हुनु जरुरी रहेको बताए।

कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य प्रदिप ज्ञावालीले संसदीय प्रणाली नै एक मात्र सुयोग्य शासन प्रणाली भएकाले संवैधानिक राष्ट्रपति र जनताद्वारा निर्वाचित प्रधानमन्त्री हुनुपर्ने धारणा राखे। उनले भने- संवैधानिक राष्ट्रपति हुन सक्तैन भने जनताद्वारा चुनिएको राष्ट्रपति र संवैधानिक प्रधानमन्त्री बनाएर शक्ति बाँडफाँड गरी शासकीय शक्ति सन्तुलनमा गए नेपाली जनताले सुशासनको अनुभूति गर्न पाउने छन्।

ज्ञावालीले संविधान निर्माण गर्न ४ महिना बाँकी रहेका बेला दलहरुबीच टुङ्गोमा पुग्ने सहमति हुनुपर्ने भन्दै संविधान नबने नेपालको राष्ट्रियता खतरा पर्ने दावी गरे।

Popularity: 4%

Add comment January 28th, 2012

नइ प्रकाशनका संरक्षक भागीरथा प्रसाईको निधन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १४ माघ । नइ प्रकाशनका संरक्षक श्रीमती भागीरथा प्रसाईको शनिवार बिहान आठ बजे राजधानी काठमाडौंमा निधन भएको छ।

९३ वर्षीय प्रसाई उच्चरक्तचाप, मधुमेह, दम, स्नायु रोगबाट पीडित हुनुहुन्थ्यो।

उहाँका पाँच छोरा र एउटी छोरी हुनुहुन्छ। साहित्यकार दम्पती नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई उहाँका अन्तरे छोरा बुहारी हुनुहुन्छ।

Popularity: 4%

Add comment January 28th, 2012

आज श्रीपञ्चमि मनाइँदै

एचकेनेपाल डट कम सम्वाददाता-
‘श्रीपञ्चमी’ पर्व आज नेपालभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदैछ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धाङ्गिनी ब्रहृमायणीको पूजाउपासनाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ।

गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा र्सवसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्ने गरिन्छ।

काठमाडौँका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ।

नेपाली समाजमा कसैसँग ऋण वा सापटी लिँदा श्रीपञ्चमीको भाखा राख्ने चलन ग्रामीण क्षेत्रमा अद्यपि पाइन्छ।

Popularity: 10%

Add comment January 28th, 2012

१४ घण्टा बढी लोडसेडिङ नहुने उर्जामन्त्रीको दाबी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ माघ । उर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष दिनको १४ घण्टाभन्दा लोडसेडिङ नबढ्ने दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बोगटीले आईतवारबाट मध्य मर्साङ्दी जलविद्युत आयोजना मर्मतकालागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने गरी तयारी गरेको जानकारी दिए।

उनले हेटौडा र दुहवीको थर्मल प्लान्ट सञ्चालन गरेर ३० देखि ३५ मेघावाट, भैरहवा र गण्डक प्रशारण लाईनमा भारतबाट ३० मेघावाट र कुलेखानीलाई क्षमता अनुसार चलाएर मध्य मर्साङ्दी बन्द हुँदा हुने कमीलाई पुरा गर्ने तयारी गरिएको बताए।

उनले लोडसेडिङको दर घटाउन आफूले १० बुँदे कार्ययोजना तयार पारिरहेको जानकारी दिदै आगामी मन्त्री परिषदको बैठकबाट कार्ययोजना पारित गरेर कार्यान्वयनमा लैजाने घोषणा गरे। जसमा उत्पादकलाई सहुलियत दिने, ट्रान्समिसनलाईन निर्माण, चोरी र प्राविधिक चुहावट नियन्त्रण, स्टोरेज प्रोजेक्ट निर्माण लगायतका रहेका छन्। मन्त्री बोगटीले कार्ययोजना आगामी दिनमा ८ घण्टामा मात्रै लोडसेडिङ सिमित गर्ने गरी ल्याउन लागिएको जानकारी दिए।

लोडसेडिङ अन्त्य गर्न डिजेल प्लान्ट ल्याउने योजना आफूले बनाए पनि कतैबाट सकारात्मक प्रतिक्रिया नआएकोले सो योजना छाडेको उनले खुलासा गरे।

मन्त्री बोगटीले जलविद्युतको उत्पादनमा अहिलेनै जोड नदिए आगामी वर्ष २१ घण्टासम्म लोडसेडिङ खेप्नु पर्ने दावी गर्दै सरकारले निर्माणाधिन रहेका करीब १३० मेघावाट विद्युत उत्पादन कार्यलाई सुविधा दिएर द्रुत रुपमा अगाडि बढाउने रणनीति अगाडि बढाएको बताए। उनले भने- बढीमा २०७१ सालसम्म १३० मेघावाट विद्युत ल्याउने गरी काम भईरहेको छ।

Popularity: 4%

Add comment January 27th, 2012

सन्तानेश्वर महादेव विराटज्ञान महायज्ञ २०६८ हुने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १२ माघ । ललितपुर जिल्लाको झरुवारासी गाविसस्थित सन्तानेश्वर महादेव कैलाश पर्वतमा यही माघ १४ गते वसन्त पञ्चमीदेखि २४ गतेसम्म सन्तानेश्वर महादेव विराट ज्ञान महायज्ञ हुने भएको छ।

ललितपुर जिल्लाको झरुवारासी गाविसमा हरेको कैलाश पर्वतमा अवस्थित श्री सन्तानेश्वर महादेवको मन्दिरमा धर्मसम्मत मानव संस्कारलाई जीवित राख्नुपर्छ भन्ने सन्देश प्रवाहका लागि विराटज्ञान महायज्ञ हुन लागेको हो।

विहीबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै कैलाश पर्वतमा हुने विराट ज्ञान महायज्ञमा श्री मज्जगद्गुरु शंकरचार्य ज्योतिष्पीठाधिश्वर अनन्तश्री विभूषित स्वामी माधवाश्रम जी महाराज बदरीकाश्रम हिमालय भारत, अन्तर्राष्ट्रिय सन्त श्री श्री तुलसी गिरीजी महाराज, सिद्ध नागा बाबा पशुपति गिरीजी महाराज, धर्मगुरु व्यासाचार्य किशोर गौतम, डा. चिन्तामणीलगायतका धर्मगुरुहरुको उपस्थित रहने आयोजकले जानकारी गराएको थियो।

पत्रकार सम्मेलनमा १४ गते पूर्वाङ, मण्डल पुजन, दिनको ११ बजेदेखि झाँकीसहित कलश शोभायात्रा, १ बजे यज्ञ समुद्घाटन, १५ देखि २३ सम्म विहान ७ बजे आरती पूजा, रुद्रि अभिषेक र १० बजेदेखि कथा प्रवचन, २३ गते लाख वत्ती प्रज्वलन र २४ गते सामूहिक व्रतबन्ध, तिलक अभिषेक, प्रसाद वितरण र यज्ञको समापन हुने कार्यक्रम रहेको छ।

धर्मगुरु व्यासाचार्य किशोर गौतम भने- विश्वमा फैलिदै गएको मानव विकृति र कुसंस्कारले नेपाल पनि फस्दै गएकाले मानवीय संस्कारलाई जीवन्त राख्न पनि विराट ज्ञान महायज्ञ गर्न लागिएको हौं।

महायज्ञ संयोजक विनोद खड्काले मानव संस्कार नै धर्म भएकाले धर्मको ज्ञानबाट विलाउँदै गएको मानव संस्कारलाई जीवित गर्नका लागि विराट ज्ञान महायज्ञ अहिलेको अपरिहार्य आवश्यक रहेको दावी गरे।

Popularity: 4%

Add comment January 26th, 2012

त्रैलोक्यनाथ उप्रेतीको जीवनी

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
डा.त्रैलोक्यनाथ उप्रेती नरमका नमूना थिए । उनी भद्र पनि त्यस्तै थिए । उनको सरल गुण पनि अनुकरणीय थियो । उनी मान्छेसँग बोल्दा सानो ठूलो भनेर भेद गर्दैन थिए। समयलाई पालन गर्ने उनको सबैभन्दा ठूलो खुबी थियो । उनी वचनका पनि त्यस्तै पक्का थिए । अनि योभन्दा ठूलो गुण उनी इमान्दार थिए । त्यसैबाट उनले आफ्नो व्यक्तित्वको चमक बढाएका थिए।

उप्रेतीको पुख्र्यौली घर डडेल्धुरा थियो । तर उनी काठमाडौंमा जन्मे। उनी १९८० साल असार ११ गते जन्मे । उनका बुबाआमाको नाउँ नन्दराम उप्रेती र हरिप्रिया उप्रेती थियो।

उप्रेतीका पुर्खा डोटी राजाका पालादेखि गुरुपुरोहति थिए। काठमाडौंमा आएपछि उनका बुबाले राणाका सन्तानलाई ट्युसन पढाउने पनि काम गरे। यिनका बुवा चन्द्रशमशेरका नातिहरु र मोहनशमशेरका छोरीहरुका गुरुबा थिए। त्यसैले मृगेन्द्रशमशेर डाइरेक्टर जनरल भएपछि उप्रेतीका बुवा परीक्षा नियन्त्रक भए। अनि त्यस पदमा बस्ने नन्दराम उप्रेती पहिलो व्यक्ति थिए।

त्रैलोक्य सानामा फटाहा थिए । उनी हुलिया र छुलिया पनि थिए । त्यतिमात्र होइन अर्काका बारी बगैंचाभित्र पसेर फलफूल चोर्नेमा पनि उनी पारङ्गत थिए। उनी स्कूलमा गयो त्यतै बदमासी गर्थे, टोलमा पनि त्यसै गर्थे र घरमा पनि उपद्रो मच्चाई बस्थे। बदमासी गर्दा यिनले बराबर कुटाई पनि खाए। तर घरको बोझले थिच्न थालेपछि उनको उग्र जीवन पनि विस्तारै थान्को लाग्न थालेको थियो। अनि उनी एकातिर घर व्यवहारमा लागे र अर्कातिर जनहीतमा पनि बाटिन थाले। हुँदाहुँदे उनी राष्ट्रका लागि नै एउटा आवश्यकीय व्यक्तिमा रुपान्तर हुन थाले। बाल्यकालको एउटा आवारा र अराजक पनि भविष्यमा कुशल हुन्छ भन्नेको प्रमाण उनी पनि एक थिए।

उप्रेती सानेदेखि खेलकुदमा विशेष चाख राख्थे । टोलका केटाकेटी भेलापारेर उनी नरकटको घोडा बनाएर खेल्थे । उनी कहिले झुम्रोको गोल र कहिले भोगटेको गोल खेल्थे । त्यति बेला उनी एक्कैछिन चुपलागी बस्तैन थिए।

एकदिन उप्रेतीलाई उनका बुबाले एकराज शमशेरका घरमा पुर्‍याए। त्यसैबेला राणाले उनलाई मिहेनत गरेर पढ्ने र्सत राखेर तीनपाङ्ग्रे साइकल उपहार दिए। त्यसपछि टोलमा उनको झन नेतृत्वदायी भूमिक गाँसिन थाल्यो। टोलका प्रायः सबै केटाकेटी उनका अघिपछि हिंड्न थाले । अनि त्यही साइकलले निश्चित समयमा पढ्ने उनको वातावरण बनिदियो। भनौं साइकल पाएपछि उनी पढ्न पनि मन दिन थाले । एउटा उदण्ड र छाडा बालक पनि माल पाए पछि थान्को लाग्छ भन्ने प्रमाण उप्रेती नै भए।

१९९० सालको भूकम्पपछि उप्रेती दरबार स्कूलमा भर्ना भए । तर स्कूलमा उनी पढ्न मन दिंदैन थिए । प्रायः उनी मास्टरको कुर्टाई खाएरै घर र्फकन्थे। उनको त्यो नरमाइलो रीत उनका बुवाका कानमा पनि पुग्यो । उनी दरबार स्कूलमा जतिमा भर्ना भए त्यहँदेखि एक कक्षा पनि चढेनन्। स्कूल गएका उनी दिनभरी स्कूलबाट भाग्थे र बेलुका घर र्फकन्थे। त्यसैले उनलाई बनारस पुर्‍याइयो । त्यहाँ पनि उनको नानीदेखि लागेको बानी उस्तै भयो। तर त्यहींबाट उनले म्याटि्रक पास गरे।

बनारसमा पढ्दापढ्दै उप्रेतीका बुवाको निधन भयो । त्यसपछि उनलाई पहिले झैं मोहनशमशेरका छोरीहरुले पढ्ने खर्च पठाइरहे। त्यतिमात्र होइन उनले जयपृथ्वीबहादुर सिंहका पत्नी र चन्दशमशेरकी रानीबाट पनि पढ्ने खर्च पाइरहन्थे।

उप्रेतीले त्रिचन्द्र कलेजमा आइए पढे । त्यही बेलामा उनको बिहे बैतडीका मोहनदेव भट्ट र द्रोपदीदेवी भट्टकी छोरी सत्यवतीसँग भयो। बिहे ताक उनी १८ वर्ष र उनी पत्नी ११ वर्षकी थिइन् । अनि उनकी पत्नी भने निरक्षर थिइन्। यी दम्पतिबाट छोरा दीपक, छोरीहरु ज्ञानू र सरीता जन्मे । बिहेकै कारण उनको आइएको परीक्षा पनि छुट्यो । तर उनले अर्को वर्षजाँच दिए र पास गरे । साथै उनले त्यहींबाट बीए पनि पास गरे। त्यसपछि उनले भारतको पटनाबाट बीएड र संयुक्त राज्य अमेरिकाको अरिगन विश्वविद्यालयबाट एम्एड र पीएचडी पनि गरे।

उप्रेती २००२-०३ सालदेखिनै आधारभूत शिक्षक तालिम केन्द्रको शिक्षकमा भर्ना भैसकेका थिए । २००७ साल फागुन ७ गते श्री ३ मोहनशमशेरको प्राइममिष्टिरसिपमा गठित मन्त्रीमण्डलमा शिक्षमन्त्री नृपजङ्ग राणा थिए। अनि उनी तिनै राणाका निजीसचिवमा तानिए। त्यो पद पाउनु उनको भाग्यको अर्को फट्का थियो। त्यसपछि उनी शिक्षाको डिपुटी सेक्रेटरी भए। क्रमशः उनी राष्ट्रिय शिक्षा समितिमा सचिव भए। रुद्रराज पाण्डेको अध्यक्षतामा गठित राष्ट्रिय शिक्षा आयोगमा उनी सदस्यसचिव भए । तिनै पाण्डे त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएपछि उप्रेती रजिष्ट्रार भए। अनि पछि उनी साडेचार वर्षसम्म उपकुलपति पनि भए।

उप्रेतीले उपकुलपतिमा नाउँ चलाएपछि उनको खुबै चर्चा भयो । त्यसपछि उनी फ्रान्सका लागि राजदूतमा नियुक्त भए। उप्रेतीले बनारसको पढाईकै सिलसिलामा स्काउटमा लागेका थिए । त्यसैले नेपाल आएपछि उनैले स्काउटको सिद्धान्त चलाए। उनी नै स्काउटका नायक थिए । तर स्काउटको कार्यालय उनैको खल्तीमा थियो । उनले एकपटकको भेटमा राजा महेन्द्रलाई बेलीविस्तार लगाएपछि राजाले आफ्नो लैनचौरको निजी जग्गा स्काउटलाई दान दिएका थिए।

उप्रेती शिक्षाक्षेत्रका एक कुशल हस्ती थिए । नेपालको शिक्षा नीतिको जराजुरी उनैले केलाएका थिए । उनैले शिक्षाबारेका अनेक नीति पानी पारेका थिए।
उप्रेतीले नेपालका विभिन्न भूभाग डुले र विश्वका प्रायः सबै प्रमुख राष्ट्रहरु पुगे। उनी जहाँजहाँ गए नेपालको शिक्षाबारेके अवधारणा लिएर जान्थे।

उप्रेती अनेक सामाजिक, शैक्षिक र खेलकुदका संस्थाहरुमा रहे । उनी क्रिकेटका खेलाडी थिए। उनैको समेत भूमिका जोडिएर नेपाल क्रिकेट एसाशिएसनको स्थापना भएको थियो। नेपालमा फूटबलको संस्थागत विकासमा पनि उनकै भूमिका थियो। उनैको समेत लगनका कारण नेपाल फूटबल सङ्घको स्थापना भएको थियो।

उप्रेतीले नेपाली धरामा धेरे मिहेनत गरे। त्यही परिणामले उनी गोर्खा दक्षिणबाहु दोश्रोदेखि महेन्द्र विद्याभूषण प्रथमसम्मले विभूषित भए। साथै विदेशबाट पनि यिनले विभिन्न विभूषण प्राप्त गरे।

उप्रेती लेखनमा पनि अग्रसर थिए । उनका फूटकर लेख खास गरेर शिक्षाविषयमा नै केन्द्रित हुन्थ्यो। अनि सिङ्गो कृतिका रुपमा उनको आत्मकथा ‘विगतका पाना’ (२०६१) छापियो । तर उनले सो कृति देख्नै पाएनन्। किनभने उनी २०६० सालमै स्वर्गीय भइसकेका थिए।
naiprasai@gmail.com

Popularity: 4%

Add comment January 26th, 2012

यतीको निर्वाचन सर्‍यो

अनुज उप्रेती / एचकेनेपाल डट कम-
बेलायत, यती नेपाली यसोसिएसन यूकेको ५१ औ बार्षिक साधारण सभा र निर्वाचन पछाडि सरेको छ।

अगामी ५ फेब्रुवरीका दिन साधारणसभा र २६ औ कार्यसमितिको निर्वाचन हुने गरी यस अगाडि निश्चित गरिएको निर्वाचन तलिका प्रकाशन हुनु अगावै निर्वाचन समितिका सयोजक कृष्ण उपाध्याय ले व्यतिगत कार्य व्यस्तताको कारण देखाई राजीनामा दिएका कारण सो काम अब सम्भवतः १९ फेब्रुवरीका दिन तय गर्ने योजना रहेको छ।

अब ५ फेब्रुवरीका दिन बस्ने कार्य समितिको पूर्ण बैठकले सो राजिनामा सम्वन्धी छलफल र निर्वाचन तथा साधारण सभा सम्वन्धी महत्वपूर्ण
निर्णयहरु गर्नेछ भने सदस्यता ग्रहण वा नवीकरण गर्ने अन्तिम मिति पनि १० फेब्रुवरीसम्म बढाइएको कुरा सचिवालयले जनाएको छ।

Popularity: 4%

Add comment January 26th, 2012

जनसत्तालाई बैधानिकता दिए मोर्चा सरकारमा बस्दैनः महासचिव देब

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ माघ । प्रमुख सत्ता साझेदार दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देबले जनसत्तालाई बैधानिकता दिने सरकारको निर्णय फिर्ता नभए मधेसी मोर्चाको सरकारमा बस्ने औचित्य नै सकिने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले सरकारको त्यही निर्णयकै कारण शान्ति र संविधानको काम अवरुद्ध भएको भन्दै सरकारले त्यो निर्णय फिर्ता लिनै पर्ने दावी गरे। उनले भने-सरकारको यो निर्णय ठिक भएन। निर्णय फिर्ता हुनु पर्छ।

साक्षात्कारमा उनले अहिलेको सरकारले मधेसी मोर्चाका कुनै पनि मुद्दाहरुलाई अहिलेको सरकारले सम्बोधन गर्नै नसकेको दावी गर्दै शान्ति र संविधानमा यसरी नै अप्ठ्यारो अवस्था कायम रहिरहने हो भने मोर्चाले गठबन्धनको विषयमा पुनर्विचार गर्ने स्पष्ट पारे।

देबले संविधान निर्माण अवरुद्ध हुनु र शासकीय स्वरुपको सहमतिबाट काग्रेस ब्याक भएको कारण माओवादीमा बढेको आशंका सम्बोधन गर्न सरकारले जनसत्तालाई बैद्यानिकता दिने निर्णय गरेको प्रधानमन्त्रले बताएको समेत साक्षात्कारमा खुलासा गरे।

एकीकृत नेकपा माओवादीका नेता राम कार्कीले अवरुद्ध शान्ति प्रक्रिया छिट्टै अगाडि बढ्ने दावी गर्दै जनसत्तालाई बैद्यानिकता दिने निर्णयपछि उत्पन्न विवाद दलहरुसँगको छलफलको आधारमा छिट्टै सहमतिमा टुङगिने दावी गरे।

नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले जेठभित्र शान्ति र संविधान निर्माणको कार्य सम्पन्न नभए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिदै शान्ति र संविधानलाई नै अवरुद्ध गर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनु पर्ने जिकिर गरे।

सरकारको उदासिनताले बाध्यताबस यूवा विद्यार्थीहरुले बन्दको आब्हान गर्नु परेको दावी गर्दै विद्यार्थी र सिमान्तकृत जनतालाई उपयुक्त विकल्प नदिई गरेको पेट्रोलियमको मूल्यबृद्धि गर्नु गलत भएको धारणा राखे।

Popularity: 4%

Add comment January 25th, 2012

१९५०को सन्धी पुनरावलोकनको भारतीय प्रस्ताव सकारात्मक

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ माघ । भारतकालागि प्रस्तावित नेपाली राजदूत राम कार्कीले सन् १९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धी परिमार्जनका लागि भारतले गरेको प्रस्ताव सकारात्मक भएको भन्दै यसले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा कार्कीले नेपाल भारतवीचको सम्बन्ध एक्काईसौ शताब्दी अनुकूल हुने गरी पुनपरिभाषि गर्नुपर्ने आवश्कता औल्याउँदै अब चीन र भारत कार्ड फ्याँक्ने राजनीति अब कुनै पनि हालतमा चल्न नसक्ने दावी गरे।

उनले भने-अब भारतको विरोध गरेर नेपालको राष्ट्रबाद र विकासको क्रमलाई कमजोर बनाउनु हुँदैन। छिमेकी मुलुकसँगको सम्बन्धमा अलग्गै नीति बनाईनु पर्छ। अरु मुलुकको जस्तो सम्बन्ध र नीति छिमेकीको सवालमा उपयूक्त हुँदैन।

उनले नेपालमा भारत विरोधी नकारात्मक राष्ट्रियता कायम रहेको भन्दै अब नेपालले एक्काईसौ शताब्दी अनुकूल हुने गरी मुलुकले हित अनुकूलको राष्ट्रियता पुनःपरिभाषित गर्नु पर्ने तर्क गरे।

कार्कीले संसार आर्थिक क्रान्तिमा भएको बेला भूभागको स्वार्थ कसैलाई नभएको भन्दै नेपालले आफ्नो राष्ट्रिय स्वार्थ स्पष्ट पारेर नयाँ ढंगको सम्बन्ध विकास गर्नुपर्ने बताए। उनले भने-अब आर्थिक सम्बन्ध बनाउनुपर्छ।

उनले नेपालको विकासमा भारत सहित छिमेकी चिनको सहयोग अनिवार्य भएको भन्दै दुइ मुलुकको आर्थिक प्रगतिबाट नेपालले फाईदा लिन सक्नुपर्ने तर्क गरे। कार्कीले नेपालको शान्ति प्रक्रिया र प्रजातान्त्रिक आन्दोलनमा भारतको महत्वपूर्ण भूमिका रहँदै आएको भन्दै भविष्यमा पनि भारतको सहयोग आवश्यक रहेको दावी गरे।

उनले विदेश नीति राष्ट्रिय सहमतिको आधारमा तय गरिनु पर्ने धारणा राख्दै आफू दलहरुसँगको छलफलको आधारमा भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने योजना लिएर भारत जानलागेको जानकारी दिए।

Popularity: 4%

Add comment January 25th, 2012

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

January 2012
M T W T F S S
« Dec   Feb »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....