Archive for February 11th, 2012

कम्युनिष्ट नेताले आमाको काजक्रिया गरेनन्

रूद्र श्रीसमगर/ एचकेनेपाल डट कम-
पोखरा, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का केन्द्रीय सल्लाहकार भीमबहादुर श्रीसमगरलाई मातृशोक परेको छ। दुइ दशकदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय श्रीसमगरकी आमा तुलसी श्रीसमगरको ८३ वर्षको उमेरमा गत १४ गते मणिपाल शिक्षण अस्पतालमा निधन भएको थियो।

स्वर्गीय श्रीसमगर लामोसमयदेखि दमबाट पीडित हुनुहुन्थ्यो। श्रीसमगरका तीन भाइ छोरामध्ये भीमबहादुर जेठा छोरा हुनुहुन्छ। भीमबहादुर हाल बागलुङ समाज र बागलुङ-पोखरा मगर समाजको समेत अध्यक्ष हुनुहुन्छ।

सामान्य नेपाली मृत्यु संस्कार अनुसार छोराले काजक्रिया गर्ने चलन छ। तर, कम्युनिष्ट सिद्धान्तका कट्टर पक्षपाती पाको उमेरका श्रीसमगरले आफ्नी आमाको निधन हुँदा काजक्रिया गर्नुभएन। नेपाली राजनीतिका शीर्ष नेता माओवादी अध्यक्ष प्रचण्डले पनि बुबा मुक्तिराम दाहालको निधन हुँदा काजक्रिया गर्नुभएन भने कांग्रेस नेता रामचन्द्र पौडेलले भने परम्परागत संस्कार अनुसार काजक्रिया सम्पन्न गर्नुभएको थियो।

श्रीसमगरले भन्नुभयो, ‘नेपाली समाजको अन्धविश्वासयुक्त परम्परालाई तोड्नका लागि मैले काजक्रिया नगरेको हुँ।’ आफू भौतिकवादी भएकाले अध्यात्ममा विश्वास नगर्ने समेत उहाँले बताउनुभयो।

यसैबीच, स्वर्गीय तुलसी श्रीसमगरको निधन भएको १५ औं दिनका अवसरमा शनिवार श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ। सो अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का पोलिटब्यूरो सदस्य एवम् संगठन विभाग प्रमुख केबी गुरुङले समाज परिवर्तनको आन्दोलनमा लागेकाले भाषणमा मात्र नभई व्यवहारमा समेत परिवर्तनलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। नेता गुरुङले श्रीसमगरले समाज परिवर्तनका लागि गतिलो उदाहरण देखाएको भन्दै प्रशंसा समेत गर्नुभयो।

कार्यक्रममा एकीकृतका केन्द्रीय सदस्य एवम् तमुवान स्वशासित प्रदेशका इञ्चार्ज केशबहादुर परियार, केन्द्रीय सदस्य निलबहादुर पुनमगर, हातेमालो अभियान नेपालकी अध्यक्ष तारामाया थापामगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घका केन्द्रीय सदस्य एवम् तमुवान राज्य समितिका इञ्चार्ज फरेन्द्र थापामगर, नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय सदस्य गोविन्द पुनमगर, नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (अनिज) कास्कीका सचिव रूद्र श्रीसमगर, नेपाल मगर सङ्घ कास्कीका जिल्ला सदस्य कुमार थापामगर, बागलुङ समाज पोखराका उपाध्यक्ष श्रवणलाल जोशी, लक्ष्मीटोल विकास संस्थाका सचिव गुरुदत्त कोइराला, डा. रविन्द्रप्रसाद श्रेष्ठ, आमा समूह रामबजारकी अध्यक्ष देवी गुरुङलगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो।

स्वर्गीय श्रीसमगरकी माइला छोरा बमबहादुर श्रीसमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बागलुङ-पोखरा मगर समाजकी सचिव कृष्णाकुमारी श्रीसमगरले गर्नुभएको थियो।

Recent Videos:

Popularity: 5%

1 comment February 11th, 2012

मनाङ्ग मर्स्याङ्दीलाई आहा गोल्ड कपको उपाधि

मनाङ्ग मर्स्याङ्दीलाई आहा गोल्ड कपको उपाधि
जाउलाखेलका विशाल राईलाई यामाहा मोटरसाईकल

दीननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २८ माघ । लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीले नेपालकै प्रतिष्ठित आहा गोल्डकप फुटवल प्रतियोगिता २०६८ को उपाधि जितेको छ। दशौं संस्करणको उपाधिको लागि शनिबार पोखरा रंगशालामा खचाखच दर्शकहरुमाझ भएको फाईनल खेलमा लक्ष्मी हुण्र्डाई मनाङ्ग मर्स्याङदीले सामसुङ्ग जाउलाखेल यूथ क्लवलाई २-० को नतिजा किनाल्दै जित हासिल गरेको हो।


तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

आहामा दुइ पटक विजेता भएको मनाङले गत बर्ष थ्री स्टारसंग फाईनल खेलमा ब्यहोरेको हारलाई शनिबार जाउलाखेलसंगको जितसंगै विर्साएको छ। आहा गोल्ड कपको उपाधि जितेको मनाङले नगद २ लाख पुरस्कार प्राप्त गरेको छ। उपबिजेता टोली जाउलाखेलले एक लाख नगदसहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्यो।


खेलको ६१ औं मिनेटमा राम थापाको क्रसमा शिव श्रेष्ठले हेड गोल गरेका थिए। यस्तै अर्को गोल अन्तिम इन्जुरी समयमा शिव श्रेष्ठको पासमा सुलभ मास्केले उत्कृष्ट गोल गरे।

आहा गोल्डकपमा नयाँ इतिहास कोर्ने दाउमा रहेको जाउलाखेल खेलको सुरुवातमा केहि राम्रो प्रदर्शन गरेपनि पाएका थोरै अवसरलाई सदुपयोग गर्न नसक्दा अन्ततः मनाङसंग एकै सिजनमा एकै मैदानमा लगातार दुइ पटक पराजित हुनु पर्यो।

जाउलाखेलले मनाङसंग एकै सिजनमा भएको राष्ट्रिय शहिद स्मारक लिगमा १-० र रेडवुल राष्ट्रिय लिगमा २-० को हार ब्यहोर्दै आएकोमा शनिबारको हारसंगै मनाङसंग लगातार तीन खेलमा हार ब्याहोर्दा मनाङले जाउलाखेलमाथि हृयाटि्रक गरेको छ।


प्रतियोगितामा जाउलाखेलका विशाल राई ए उत्कृष्ट खेलाडी घोषित हुदै यामाहा मोटरसाईकल पुरस्कार पाएका छन्। प्रतियोगितामा भारतको पुनें फुटवल क्लब अनुशासित टोली घोषित हुदै नगद ५ हजार पायो। फाईनल खेलमा म्यान अफ दी म्यान मनाङका शिव श्रेष्ठ घोषित भए। प्रतियोगिता अवधिभर ६ गोल गरेका जाउलाखेलका कर्ण लिम्बु सर्वाधिक गोलकर्ताको उपाधि सहित १५ हजार नगद पाए।

त्यसै गरी, बिभिन्न विधामा उष्कृष्ट हुने खेलाडीहरुलाई नगद १० हजारसहित ट्रफी वितरण गरीएको थियो । प्रतियोगितामा उत्कृष्ट डिफेन्समा मनाङका जम्बो एन्टोलो, उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल श्रेष्ठ, उत्कृष्ट मिडफिल्डमा मनाङका शिव श्रेष्ठ, उत्कृष्ट फरवार्डमा जाउलाखेलका कर्ण लिम्वु र प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकमा जाउलाखेलका किशोर केसी घोषित भए।

जाउलाखेलका प्रशिक्षक किशोर केसीले शुक्रबारलगतै शनिबार फाईनल खेल खेल्नुपरेका कारण आफूहरुलाई दवाव परेको बताउदै आफ्नो टीमको फिनिसिङ नहुंदा पराजित हुनु परेको बताए।

यता मनाङ र जाउलाखेलको भेट करीब ६ पटक भए पनि सवै खेलमा मनाङले जित हासिल गरेकोले पनि मनाङको मनोवल उच्च रहेको कारण फाईनल खेलमा विपक्षीको डिफेन्समा कमजोरीको फाईदा उठाउँदै जित हासिल गरेको प्रशिक्षक हरिओम श्रेष्ठको भनाई छ।

आजको जितसँगै गत संस्करणमा व्यहोरेको पराजयलाई बिर्सेको स्मरण गर्दै श्रेष्ठले पोखरामा आफ्ना फ्यानहरु धेरै भएकोले पनि आफ्ना खेलाडीहरुलाई उर्जा मिलेको बताए।

यसैबीच, अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापा, हिमश्री फुड्स प्रालिका अध्यक्ष एवम सभासद सूर्यबहादुर केसी, सभासद रविन्द्र अधिकारीलगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे। कार्यक्रममा आहा गोल्डकपको स्वागत गीतका गायक विनोद वानियालाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरियो। क्लबका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

माघ १७ देखि पोखरामा सञ्चालन भएको आहा गोल्ड कपमा दुइ विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो।

Recent Videos:

Popularity: 14%

Add comment February 11th, 2012

‘लुट’ फिन्ल्यान्डमा पनि प्रदर्शन हुने

सन्जु काउछा/ एचकेनेपाल डट कम-
युवा वर्गलाई लक्षित गरी बनाइएको नेपाली फिचर फिल्म ‘लुट’ अब फिन्ल्यान्डमा पनि प्रदर्शन हुने भएको छ।

पुराना ढर्राका नेपाली चलचित्र भन्दा एकदमै फरक भनिएको चलचित्र ‘लुट’ गैरआवासिय नेपाली संघ, फिन्ल्यान्डको आयोजनामा फिन्ल्यान्डको राजधानी हेल्सिन्किमा प्रदर्शन हुन लागेको हो।

एनआरएन, फिन्ल्यान्डको च्यारिटी प्रोजेक्टहरुलाई सघाउने उद्धेश्यले फिल्म चलाउन लागिएको एनआरएन फिन्ल्यान्डका बाल कृष्ण श्रेष्ठले जानकारी दिए। “१० युरो टिकट शुल्क तोकिएको ‘लुट’को आगामी फेब्रुअरी १९ मा हेल्सिन्की स्थित कोन्तुला हलमा २ शो प्रदर्शन गरिनेछ।

दिउँसो २:३०मा पहिलो शो र बेलुका ६ बजे दोश्रो शो प्रदर्शन गरिने छ”, श्रेष्ठले भने। २ शोमा कम्तिमा पनि ३०० जति दर्शकहरुको उपस्थिती रहने अपेक्षा गरेका छौँ।” राजधानी हेल्सिन्की पश्चात फिन्ल्यान्डकै अर्को ठुलो शहर ताम्पेरेमा पनि फिल्म प्रदर्शनको तयारी भैरहेको आयोजकहरुले जानकारी दिएका छन्।

फरक धारको भनिएको ‘लुट’ प्रदर्शनमा आउनु भन्दा पहिलेदेखि नै यसले युट्युबमा राखिएको प्रोमोमार्फत राम्रै चर्चा बटुल्न सफल भएको थियो। नेपाली समाज र बिदेशमा रहेका नेपाली युवा समुदायबिच बोलिने चलन चल्तिका भाषाहरु समाबेश गरेर मौलिक रुपमा प्रस्तुत गरिएको चलचित्र ‘लुट’ले नेपाली सिनेमाको पछिल्लो बजारमा धुम मच्चाईरहेको छ।

निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘लुट’ लाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन्। सौगात मल्ल, ऋचा शर्मा, दयाहाङ् राईलगायतका कलाकारहरुले सिनेमामा अभिनय गरेका छन्। चलचित्रमा रोशन थापा र किरण तुलाधरको संगीत रहेको छ। चलचित्रमा तीनवटा गीत समावेश छन। यसको एउटा आइटम गीतमा नायिका सुष्मा कार्कीले नृत्य गरेकी छिन्।

मायाप्रितीका कथामा बनेका चलचित्रका गीतसंगीत भन्दा यसमा फरक शैलीका गीत रहेको चलचित्रमा उध्रेको चोली बोलको गीतमा इन्दिरा जोसी र निश्चल बस्नेतका स्वर रहेका छन्।

‘लुट’ पछि थप नेपाली चलचित्रहरु हाइवे र दासढुङ्गा पनि प्रदर्शन गर्ने योजना रहेको आयोजकहरुले बताए। यसभन्दा पहिले केही संघ-सँस्था तथा समूहहरुमार्फत फाट्टफुट्ट रुपमा केही नेपाली डकुमेन्ट्री तथा छोटा चलचित्रहरु प्रदर्शन गरिएपनि मुलधारको नेपाली चलचित्र भने फिन्ल्यान्डमा पहिलो पटक प्रदर्शन गर्न लगिएको हो।

‘लुट’ प्रदर्शनको खबरले फिन्ल्यान्डबासी नेपालीमा नयाँ उत्साह जगाएको छ।

Popularity: 4%

Add comment February 11th, 2012

नेपाल कस्को? पसिना पुछ्ने नेपाली साराको

लोकनारायण सुवेदी / एचकेनेपाल डट कम-
नेपाल परापूर्व कालदेखि नै एउटा बहुजातिय, बहुभाषिक, बहु साँस्कृतिक र बहुधार्मिक स्थितिको संगमको रुपमा रहेर आएको मुलुक हो।

नेपाल बन्दै, फैलदै र खुम्चिदै गएको र अन्ततः अहिलेको स्थिति (मेची-महाकाली, रसुवा-रक्सौलको चोहद्द भित्र आएको) मा आइ पुगेको पनि धेरै लामो समय बितिसकेको छ।

तर नेपाली समाजको यो बनावट निरन्तर कायम रहेको छ। त्यसरी नै नेपाली भू-धरातल पनि हिमाल, पहाड, उपत्यका, दुन र तराई मिलेर बनेको बहुबिध भू-धरातल छ। यसरी एउटा छुट्टै प्रकतिको भू-धरातल र जैबिक बिबिधताले नेपाल बिशिष्ट किसिमलेका बनेको कुरा हाम्रा आँखाका अगाडि र्छलङ्ग छ।

नेपालको यो बिशिष्ठ बिबिधताले यहाँको प्राकृतिक र सामाजिक बिबिधतालाई अभिन्नरुपमा समेटेको छ। लिखित र प्रमाणित ऐतिहासिक कालदेखि यताको मात्र कुरा गर्ने हो भने पनि नेपाल यलम्बरले शासन गरेको किराँत कालबाट शुरु भएर लिच्छबी काल, मल्ल काल, शाह-राणा काल र पछिल्लो समयमा आएर बहुदल र अहिलेको गणतन्त्रात्मक कालमा पनि यो नेपाली धरा र सामाजिक धाराको अमिट र अखण्ड बिशिष्ठता रहेको छ। यस वास्तविकतालाई कसैले ढाकछोप गर्न जतिसुकै प्रयत्न गरे पनि सक्तैन।

मानब समाजका बिकासको क्रममा मानिस ‘होमो स्यापियन्स स्यापियन्स’ हुदै आजको अबस्थामा आइपुगेको यथार्थ मानब जीवशास्त्री बैज्ञानिक मोर्गन, डार्बिन लगायत आजसम्मका बैज्ञानिकहरुले प्रष्ट पारिसकेका छन्। अनि शमाजशास्त्र एवं मानबशास्त्रीहरुले मानब समाज जंगली युगदेखि यता कसरी बिकसित हुदै घुमन्त जीबन शैलीबाट स्थाइबसोबासको चरणमा पुग्यो र त्यसपछि आजको आधुनिक युगसम्म आइपुग्यो भन्ने कुरा धेरै किसिमले धेरै पटक खुलस्त र प्रष्ट पारिसकेका छन् र पारिरहेका छन्। त्यसमा एउटै कुराको निरन्तरता देखिन्छ मानिसलाई आफ्नो श्रम (भौतिक र बौद्धिक दुबै श्रम)ले आजको अबस्थामासम्म ल्याइपुर्‍याएको हो र आगामी दिनमा पनि यो श्रम निरन्तर कायम रहन्छ र परिमार्जित र बिकसित हुदै जान्छ र मानब समाज अहिले कल्पना गर्ने नसकिने उत्कृष्टताको दिशामा अग्रस हुदै एकपछि अर्को बिकसित ज्ञान,सीप, कौशलता र दक्षताको आधारमा उत्कृष्ट मानबीय श्रेष्ठता हासिल गर्दै अघि बढ्छ। मानब समाजको इतिहासलाई र्ससरी मात्रै हेरे पनि यो यथार्थ सबैका अगाडि एकदमै प्रष्ट हुन्छ।

Popularity: 4%

Add comment February 11th, 2012


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2012
M T W T F S S
« Jan    
 12345
6789101112
13141516171819
20212223242526
272829  

Posts by Month

Posts by Category

More news....