Archive for February 18th, 2012

१० वर्षे माओवादी युद्ध पैसाका लागिः ओली

डि.आर पोखरेल / एचकेनेपाल डट कम-
पोखरा, ६ फागुन । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले जनयुद्धका नाममा गरेको १० वर्षे युद्धमा उनीहरु पैसा कमाउने युद्धमा लागेको आरोप लगाएका छन्। उनले चप्पल लगाएर जंगल गएका माओवादीका नेताहरु महल बनाउन शहर आएको बताए।


तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

नेकपा एमाले स्याङ्जा क्षेत्र नं.-१ को क्षेत्रिय अधिवेशनको उद्घाटन गर्न स्याङ्जा आएका नेता ओलीले अधिवेशनलाई सम्बोधन गर्दै माओवादीहरु रकम कुम्ल्याउने खेलमा रहेको स्पष्ट पार्दै माओवादी नेताहरु पैसाका पछाडि लागेर जनयुद्ध र लडाकुको अपमान गरेको जिकिर गरे।

युद्धका समयमा कब्जा गरिएका घर, जग्गा, गरिब दीन दुखीहरुलाई बाँडेको भनेर माओवादीले झुक्काउने काम गरेको नेता ओलीले बताए। कब्जा गरिएका जग्गा माओवादी नेताहरु गरिबलाई अधियामा लगाएर कमाइ खाएको उनले बताए।

सरकारमा बसेर विद्रोह गर्छु भन्ने माओवादीहरु कुनेपनि हालतमा जंगल जान नसक्ने दावी गरे। एमालेका नेता ओलीले नेपाल पुनः युद्धतर्फ जान नसक्ने भन्दै जुनसुकै त्याग गरेर भएपनि शान्ति र संविधान पुरा गर्ने प्रतिवद्धता जनाए।

नेता ओलीले राष्ट्र र राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिने मन्त्री तथा नेताहरु जथाभावि बोल्दै हिडेमा जनताले थप्पड लगाई दिने बताए। उनले राष्ट्रिय एकता र संबृद्धिका लागि एकता आवश्यक रहेको बताए।

अधिवेशनको उद्घाटनका अवसरमा नेकपा एमाले स्याङ्जा क्षेत्र नं.-१ ले प्रकाशन गरेको जन विगुल नामक मुखपत्रको एमाले नेता केपी शर्मा ओलीले बिमोचन समेत गरेका थिए।

त्यस अवसरमा नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य खगराज अधिकारी, मेची अञ्चल संयोजक नरेश खरेलले शान्ति र संविधान पुरा गर्नका लागि दलहरुले दलगत स्वार्स्थ छाड्नु पर्नेमा जोड दिएका थिए।

क्षेत्रिय अधिवेशनका अवसरमा संविधानसभाका सदस्यका सदस्यद्वय हितकाजी गुरुङ्, पद्मा अर्याल, अनेरास्वियूका केन्द्रिय महासचिव किशोरविक्रम मल्लले माओवादी नयाँ सामन्तवाद भएको बताए। उनीहरुले जे मन लाग्न त्यो बोल्ने गर्ने काम माओवादीबाट भएको बताए।

Recent Videos:

Popularity: 5%

Add comment February 18th, 2012

स्कूले कार्यक्रममा गायक राजेशपायल

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, लिवर्टी आवाशिय माध्यामिक विद्यालयको छैठौं अभिभावक दिवसका लागि विद्यालयको प्रांगण शुक्रबारदेखि सिंगारिएको थियो।

अन्य अभिवाक दिवसभन्दा निकै राम्रोसंगै सिंगारिएको थियो साथै स्टेज तथा साउन स्सिटमसमेत हाइ भोल्डेजको थियो कारण नेपालका सर्वोत्कृष्ट गायक राजेश पायल आउने भएका थिए।

तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

राईलाई प्राय टेलिभिजनमा मात्र देखेका अनि रेडियोमा सुनेका विद्यार्थीले पहिलो पटक प्रत्यक्ष देख्न पाउने भएपछि निकै उत्साही भएका थिए।

शनिबारको कार्यक्रमको सुरुवातसंगै विद्यार्थी अभिभावकहरु सबैको प्रतिक्षाको घडि त्यतिवेला समाप्त भयो जव राजेश पायल राई स्टेजमा देखा परे।

जव राजेश पायल दर्शन नमस्ते भन्दै स्टेजमा देखा परे तब अभिभावक दिवसमा उपस्थित अभिभावक विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु उनको स्वागतको लागि तछाड मछाड गर्न थालेका थिए। धरानमा पहिलो पटक तथा उनको करियरमै दास्रो पटक विद्यालयको कार्यक्रममा देखा परेका राई पनि निकै उत्साही थिए।

तिम्रो मुस्कान बोलको गीतबाट गाउन सुरु गरेका नेपालका सर्वोत्कृट गायक राईले सागर सरी चोखो माया, विचार चोंगे, बल्ल भेट भो आदाङवे, मोहनी लाग्ला है लगायतका एक दजैन बढी गीत प्रस्तुत गरेर बिट मार्न आटेका राईले पुन ५० बसन्त पार गरेका सुनसरीका जिशिअ हरिप्रसाद बस्तीको आग्रहमा वैगुनी रैछौ मायालु प्रस्तुत गरे भने विद्यालयका प्रिन्सिपल तेनमान लिम्बुको आग्रहमा सागर सरी पुनः गाएका थिए। वैगुनी रै छौ मायालु गाइरहदा जिशिअ वस्तीले पनि उनलाई गाएर र नाचेर साथ दिएका थिए।

कार्यक्रममा सहभागी साना साना बालबालिकाको निश्चल तथा निश्वार्थ माया र निर्दोषपनका काराण चर्को घाम र थकानको महशुस नभएको र अन्य कार्यक्रममा भन्दा साना बाल बालिकाहरुसंगै अझै वढि आनन्दित हुने राई प्रतिक्रिया थियो।

साना बालबालिकासंगै किशोर किशोरीसंगै वृद्ध अवस्थाका अभिभावक मात्र होइन जिल्ला भरको शिक्षाक्षेत्रको नेतृत्व गर्ने जिल्ला शिक्षा अधिकारीले समेत नाचेर र गाएर राईलाई साथ दिए।

दिनको चर्को घाममा पनि राईलाई दिद्यार्थी तथा अभिभवाकहरुले लगातार २ घण्टा साथ दिएका थिए। प्राय उज्वल भविष्यको खोजीमा रहने विद्यार्थीहरु शनिबार भने राईसंगै गाउन र नाच्नमा व्यस्त थिए। प्राय विद्यालयहरुले अभिभावक दिवसमा औपचारिक कार्यक्रम र सामान्य साँगीतिक कार्यक्रम हुने भए पनि राष्ट्रिय कलाकार ल्याएर लिवर्टीले पहिलो कार्यक्रम गरेका हो। अभिभावक तथा विद्यार्थीको राजेशपायल राईलाई ल्याउने २ वर्ष अगाडिको चाहना शनिबार पुरा भएको प्रिन्सिपल लिम्बुले बताए।

Recent Videos:

Popularity: 5%

1 comment February 18th, 2012

मेरी आमा भागीरथा प्रसाई- नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाई -
१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम इवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भयो। एउटै प्रकृतिको काम भएकाले उनीहरुवीच घनिष्ठता पनि बढ्दै गयो। उनीहरुले एकअर्काको परिवारको चासो राख्दा दुबैका पत्नीहरु गर्भिणी भएको बेहोरा पनि चाल पाए। त्यसैबेला उनीहरुले आआफ्ना सन्तानहरु छोरा र छोरी जन्मे भने एकअर्कामा कुटुम्बेली सम्बन्ध गाँस्ने निधो गरे।

यथासमय उप्रेतीका घरमा छोरी र प्रसाईका घरमा छोरा जन्मे। मेरी आमा भागीरथाको जन्म १९७६ साल जेठ ८ गते आठर्राई इवामा भएको थियो। पूर्ववचन पालना गर्दै सात वर्षको जयप्रसाद प्रसाईसँग भागीरथा उप्रेतीको लगनगाँठो कसियो।

मेरा बाजे नरध्वज प्रसाई त्यस भेककै कहलिएका धनी थिए। त्यस युगमा कागजी पैसा थिएन, धातुमुद्राको चलन थियो। अनि हाम्रो घरमा पैसा हातले गन्ने चलन थिएन। धातुका पैसा पाथीले भरेर हिसाब राख्दै ठूलाठूला घ्याम्पामा थन्कान्थ्यो।

नरध्वजका पाँच भाइ छोरामध्ये जेठा खडानन्दलाई युधिष्ठिर, माइला मानबहादुरलाई भीम र मेरा बुबा जयप्रसादलाई अर्जुन भनिन्थ्यो। त्यसबखत यी तीन भाइमध्ये एउटाले बोलेपछि अर्काले बूढीऔठा थिच्थे । अनि सानै उमेरमा ज्ञानको प्रखरता भएकाले मेरा बुबालाई जिजू पनि भनिन्थ्यो।

मेरा बुवाले १९९० सालअघि नै त्यस दुर्गम ठाउँमा आफ्नो घरको छाना च्यादरले छाएका थिए। त्यसबेला जस्ताको छानोलाई च्यादर भनिन्थ्यो। त्यतिबेला त्यतातिर च्यादरघरे भनेपछि हामीलाई नै चिनिन्थ्यो।

हाम्रा बुवाआमा सामाजिक काममा नै धनखर्च गर्थे। उदाहरणका लागि भन्ने हो भने- काठमाडौंबाट घर फर्केपछि मेरा बुवाले मेरी आमालाई पशुपतिनाथको महिमा, गरिमा र महत्ताको बेलिबिस्तार लाए। अनि त्यसैवर्ष अर्थात् १९९५ साल कृष्णअष्टमीमा हाम्रा बुवाआमाको जेठो छोरा विष्णुभक्त प्रसाईको जन्म भयो । अति खुसी भएर मेरा बुवाले मेरी आमालाई सोधे, ‘तिमीले छोरो पाएको उपलक्ष्यमा म तिमीलाइ के उपहार दिउँ?’ मेरी आमाले पनि आफ्ना पतिसँग पशुपतिनाथ झैं सानो मन्दिर आफ्नै घरपरिसरमा थापिमागिन्। मेरी आमाको इच्छालाई साकार पार्न युधिष्ठर, भीम र अर्जुन लागिपरे। जसअनुरुप उनीहरुले हाङपाङमा चार ढोका भएको शिवालय बनाए। यतिमात्र होइन यी तीनै भाइ मिलेर हाङपाङको मेलेमा च्यादरपाटी र तीनधारेहिटी पनि बनाए। अनि ठाउँठाउँमा मूलबाटो बनाउन पनि यी तीन भाइ नै अग्रसर हुन्थे।

धनीमानी, समाजसेवी र दानीका कारण गाँउमा मेरी आमाको निकै ठूलो इज्जत थियो। तर उनीमा धनको कहिल्यै अभिमान आएन। उनीभित्र केवल सेवाभाव नै ओतप्रोत थियो।

मेरी आमा निरक्षर थिइन् । तर उनी आफ्ना छोराछोरी लगायत गाँउका बालबच्चाको समेत शिक्षाका लागि मरिमेट्थिन्। त्यस ठाँउमा शिक्षाको ज्योति फैलाउने काम पनि मेरी आमाबाटै भयो। उनैले आफ्नै गोदाममा स्कूलको स्थापना गरिन्। त्यसबेला स्कुल पढ्ने परिपाटि नभएकाले स्कुल खोले पनि बालबालिका पढ्न आउन मान्दैनथे। त्यसैले मेरी आमाले धनीका छोरालाई मीठाई खुवाएर र गरीबका छोरालाई खानापिनाको समेत प्रबन्ध गरेर स्कुल आउन पल्काएकी थिइन्। हाइस्कुल पढ्नेहरुका लागि पनि पछि उनले त्यहाँ निशुल्क छात्रावास बनाएकी थिइन्। जिजुहाउस नाउँको उक्त छात्रावास मेरी आमा कै घर थियो। त्यसैले उनका बारे तेजबहादुर प्रसाईले लेखे- ‘हाम्री आमा भागीरथा प्रसाई निरक्षर भएर पनि चेतनाकी प्रखर नारी थिइन् । सर्घषपूर्ण जीवन यापनका साथै उनमा भएको सामाजिक भावनाको प्रचुरता स्तुत्य छ।’

शिवालय वनेपछि हाम्रा घरमा प्रायः जोगीहरूकै बास हुन्थ्यो । अनि मेरो जन्मपूर्व मेरा बुवा पनि जोगी भएरै हिंडे। बुवाको मन फर्काउन मेरी आमालाई १२ वर्ष लागेको थियो । तर त्यसपछि मेरा बुवा क्रमशः सिथिल हुँदै गए। त्यतिन्जेलसम्ममा मेरी आमापटि्टबाट हामी पाँच छोरा र एउटी छोरी जन्मिसकेका थियौं। अन्ततः मेरा बुबा २०२० साल असार ४ गते स्वर्गीय भए। अनि चौवालीस वर्षको उमेरमै मेरी आमा विधवा भइन् र उनले आर्थिककष्ट पनि खेप्न थालिन्।

यसै प्रसङ्मा नन्दकुमार प्रसाईले लेखे ‘त्यसपछि उहाँकै आफन्तले उहाँको सम्पत्तिमा गिद्देदृष्टि लगाई आर्थिक धक्का पुर्‍याएका थिए। त्यस्तो अवस्थामा पनि साइँली आमाबाट सौता र सौतापटि्टका छोराछोरीहरूका साथै आफ्ना लालाबाला स्याहार्ने काम भयो।’

तत्कालीन सामाजिक कुरितिको प्रताढनाका कारण मेरी आमाले सौता पनि बेहोर्नु परेको चाहिं थियो। तर उनले सौता दीव्यरुपालाई आजीवन आफ्नी बहिनीतूल्य स्नेह दिइन्। त्यसबेलाको सामाजिक मान्यता अनुरुप मेरी आमालाई माइतबाट मैतालु पठाँउदा ‘कि घर गरेर खानू, नसके तमोरमा हाम फालेर मर्नु’ भनिएको थियो । त्यसैले आफ्ना पतिको निधनपछि उनी आर्थिक दृष्टिले तलतल र तल झर्दै जाँदा पनि सङ्घर्ष नै गरिरहिन् तर उनले माइती कहिल्यै गुहारिनन्। खनूप्रुदे रामबाबू प्रसाईले लेखे अनुसार उनले ‘सुनसरीको सुख्ख र पितलसरिको दुक्ख पाइन्।’ वास्तवमा उनी जीवनसँगको सम्झौताको पूर्ण निष्ठामा बाँधिएकी थिइन्।

युवा अवस्थामा मेरी आमाको स्वास्थ्य राम्रो थियो। आफ्ना शिशुलाई चुसाईसकेर बाँचेको दूध आमाको दूध नपुगेका गाँउका शिशुहरुलाई चुसाउन पनि उनी पुग्थिन्। साथै उनी धनीगरीव सबैलाई एउटै आँखाले हेर्थिन्। कसैलाई अन्याय परेको देखेपछि उनी न्याय दिलाउन पनि तम्सिन्थिन्। उनको हकी स्वभावका अघि अत्याचारीको सातो जान्थ्यो। उनको उपकारी व्यक्तित्वको परिचय पाएका मानिसले उनका अघि शिर निहुर्‍याउँथे।

मेरी आमा एकैछिन पनि फुर्सतमा बस्तिन थिइन् र हात बाँधेर बस्नेलाई पनि मन पराउँदिन थिइन्। उनी हरेक प्रकारका सीपले सजिएकी थिइन्। उनले समयसन्दर्भ अनुसार नजानेको र नगरेको कुनै काम पनि थिएन। साथै उनी आशुकवयित्री पनि थिइन्। मेरा बुवाले वाचन गरेका पुस्तकहरुका सैयौं श्लोक उनलाई कण्ठाग्र थिए। सुरिलो भाकामा उनी गीत पनि गाँउथिन्। उनी चाडपर्वमा साथीसँगीसँग नाचगान गर्न पनि औधी मन पराउँथिन्। साथै उनीमा बरबगैंचाको निर्माण गर्ने सीप पनि थियो। चाहे ताप्लेजुडमा होस् र चाहे झापामा होस् उनले आफ्नो घरमा लोभलाग्दो बरबगैंचा बनाएकी थिइन्। उनको जिन्दगानीका सम्पूर्ण पाटो एकएक केलाएर इन्दिरा प्रसाईले ‘मेरी सासू’ नाउँको ग्रन्थमा समेटिन्।

छप्पन्न वर्षघिको कुरा हो; घर लिप्ने रातोमाटो खन्न गएकी मेरी आमालाई पहिरोले पुरेको थियो। कपाल बाटेको धागोको रातो फुर्कोका आधारमा विस्तारै खनेर उनलाई पहिरोबाट निकालिएको थियो। त्यसबेला उनका पेटमा सात महिनाको नानी थियो। त्यसपछि उनी दुइ महिना जिउँदो लासझैं घरैमा लडिरहिन्। महिना पुगेपछि उनले स्वभाविक प्रसवपिडामा एउटा बालक जन्माइन्। ज्योतिषीहरुले ती बालकको नाउँ नरेन्द्रराज प्रसाई राखे।

नइ प्रकाशनका संरक्षक मेरी आमा भागीरथा प्रसाई २०५६ सालदेखि काठमाडौंमा नै बसिन्। २०६२ सालमा ब्लडक्लटका कारण टाउकाको शल्यक्रिया गरिएकी उनलाई मधुमेय, उच्चरक्तचाप, दम र अल्जाइमरले सताएको थियो।

मेरी आमाले आजीवन भौतिक, शारीरिक र मानसिक संर्घष खेपिन्। अनि उनी त्रियानब्बे वर्षको उमेरमा २०६८ साल माघ १४ गते श्रीपञ्चमीका दिन काठमाडौंको आफ्नै घरमा ब्रम्हलिन भइन्।
naiprasai@gmail.com

Popularity: 4%

Add comment February 18th, 2012


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2012
M T W T F S S
« Jan    
 12345
6789101112
13141516171819
20212223242526
272829  

Posts by Month

Posts by Category

More news....