आहा गोल्डकपको उपाधि नेपाल पुलिसलाई

February 6th, 2010

पुलिसलाई आहा गोल्डकपको उपाधि, पुलिसको लगातार तेश्रो पटक जित
सर्वोत्कृष्ठ खेलाडी घोषित पुलिसका गोलकिपर रितेश थापालाई यमाहा अल्वा मोटरसाइकल पुरस्कार

हुम तमु, पोखरा / एचकेनेपाल डट कम, माघ २३-
पाएका अनगिन्ति अवसरलाई ९० मिनेटसम्म पनि नेपाल पुलिस र नेपाल आर्मिले सदुपयोग गर्न नसक्दा उपाधिको छिनोफानो अतिरिक्त समयको २७ औं मिनेटमा पुलिसका जर्सिं नं १४ का खेलाडी योगेश श्रेष्ठले हानेको गोल नै आहा गोल्डकपको आठौं संस्करणको उपाधिको लागि निर्णायक गोल बन्न पुग्यो।

यो सहित पुलिसले २०६४, २०६५ सालमा गरी लगातार तीन पटक उपाधि चुमेको छ। तीनपटक लगातार उपाधि जित्दै पुलिसले नयाँ इतिहास मात्र रचेनन, आहा गोल्डकपको शिल्डमाथि पनि कब्जा जमायो। उसो त पुलिसले २०५९ सालमा पहिलो आहा गोल्डकप र २०५८ सालमा क्याराभान गोल्डकप जितेको थियो।

खेलको ९० मिनेटको अवधिभर दुवै टोलिले गोल हान्न नसक्दा दर्शकले मन खिन्न बनाएपनि अतिरिक्त समयको २७ औंं मिनेटमा नेपाल पुलिसका जर्सि नं १४ का योगेश श्रेष्ठले प्रहार गरेको बलले सिधै जालि चुम्न पुग्दा ताली वजाउँदै आफ्नो स्थानबाट जुरुक्क उठेका थिए।

नेपाल पुलिसका खेलाडीको अधिकांश प्रहारलाई आजै मात्र गोल रक्षकको रुपमा मैदानमा उत्रिएका नेपाल आर्मिका विकास मल्लले रोक्न सफल भएपनि उनको टोलीले अघिल्लो वर्षजस्तै उपविजेता बन्नु परेको छ । आक्रमक खेलेको नेपाल आर्मीले कयौं पटक पोष्ट प्रहार गर्दा पनि नेपाल पुलिसका अग्रपंत्तिका खेलाडीहरुले बचाउ गरेका थिए।

नेपाल पुलिसका बर्ष खेलाडी तथा राष्ट्रिय स्टार खेलाडी जुमानु राई मैदानमा उत्रिएपनि गोल हुन सकेन। उनलाई ५८ औं मिनेटमा मैदान बाहिर निकालिएको थियो। गत बर्ष नेपाल पुलिससंग आर्मीले ५-० को फराकिलो गोल अन्तरले हार ब्यहोरेको थियो।

आजको खेलको म्यान अफ दि म्याच आर्मीका जर्सि नं ११ सन्तोष नेपाली घोषित भए। विजेता टोली पुलिसले उपाधिसहित १ लाख ५० हजार पुरस्कार तथा मृडल, ट्रफि पाएको छ । उपविजेता आर्मीले ७५ हजार नगद, मेडल तथा ट्रफि प्राप्त गरेको छ।

सर्वोत्कृष्ठ खेलाडी पुलिसका गोल किपर रीतेश थापा घोषित भएका छन्। उनले यामाहा अल्वा मोटरसाईकल प्राप्त गरेका छन्।

वेष्ट मिडफिल्डर पुलिसका योगेश श्रेष्ठ, वेष्ट डिफेन्डर मनाङ मर्स्याङदीका दीपक भुषाल, वेष्ट कोच आर्मीका राजुकाजि शाक्य घोषित भएका छन्। यस्तै सर्वाधिक गोलकर्ता स्ट्राईकर आर्मीका विकर्ण श्रेष्ठ घोषित भएका छन् । यसरी नै विकर्णले खेल अवधिभर चार गोल गर्दै सर्वाधिक गोलकर्ता पनि बने । सर्वाधिक गोलकर्तालाई पन्ध्र हजार नगदबाट पुरस्कृत गरिएको थियो । सबैलाई जनहि १०/१० हजार प्रदान गरीएको छ। समापन समारोह सहरा क्लवका अध्यक्ष विक्रम थकालिको अध्यक्षतामा भएको थियो।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
—————————————————————————

आहा गोल्डकप-फाइनलमा नेपाल पुलिस प्रवेश
खेल राम्रो मनाङको, गोल भने पुलिसको

हुम तमु, पोखरा / एचकेनेपाल डट कम, माघ २०-
सहारा क्लव पोखराको आयोजना पोखरा रंगशालामा जारी आठौं संस्करण अर्न्तगत आहा गोल्डकप फुटवलको बुधवार भएको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दीलाई १/० ले हराउँदै उपाधिको दावेदारी प्रस्तुत गरेको छ।

खेलको ४९ औं मिनेटमा नेपाल पुलिस क्लबका जर्सीं न. १८ का पंकज शाहीले गरेको १ गोल नै निर्णायक गोल सावित भयो। पोखरेली दर्शकको प्रिय टीम मनाङ मर्स्याङदीका गोल किपर विशाल श्रेष्ठको केही कमजोरीको फाइदा पुलिसका शाही रत्तिभर चुकेनन। खेलैभर दवावमा रहेको पुलिसलाई भाग्यले साथ दियो भने राम्रो खेलेर पनि दुर्भाग्यबस मनाङको रित्तो हात र्फकन बाध्य भयो। राम्रो खेलेर मात्र हुदैन जित्नका लागि गोल गर्नै पर्छ भन्ने आजको खेलवाट प्रमाणित भएको छ। पुलिसले खेलमा हारे पनि भाग्यले जितेको दर्शकहरुको प्रतिक्रिया रहेको छ।

खेलमा गोल गर्दा पनि कसैले पनि पुलिसको जितमा साथ दिएनन, बरु मनाङको पक्षमा झण्डा, ढोलवाजासहित गोल गोल भन्दै हौस्याइरहेका थिए। मनाङको पराजयले अवश्य पनि आयोजक सहारा पोखरालाई फाइनलमा दर्शकको कमी महसुस हुने विश्लेषकहरुको भनाइ छ।

आजको खेलमा मनाङको आधा दर्जन जति प्रहारलाई बचाउ गरेका पुलिसका गोल रक्षक रितेश थापा म्यान अफ दी म्याच घोषित भए। मनाङको सेमिफाइलबाटै यात्रा समाप्त हुदाँ आयोजक सहारालाई फाइनल खेलमा दर्शक सोचे जति नहुने होकि भन्ने आशंका पनि उब्जाएको छ। सिधै क्वाटरफाइनलको अवसर नेपाल पुलिस क्लबले आयोजक सहारालाई क्वाटर फाइनलमा पराजित गरि सेमिफाइनलमा प्रबेश गरेको थियो । मनाङ्ग मर्स्याङ्गदीले प्रि क्वाटरफाइनलमा शसस्त्र प्रहरी बलको एपिएफ तथा क्वाटरफाइनलमा एन्फा एकेडेमीको अन्डर सिक्सटिनलाई पराजित गरि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। नेपाल पुलिसले अहिलेसम्म क्याराभान सहित ७ पटक फाइनलको यात्रा तय गरिसकेको छ भने मनाङ्ग मर्स्याङ्गदी ४ पटक फाइनल खेलेको छ । नेपाल पुलिसले क्याराभान सहित ४ पटक उपाधि हात पारिसकेको छ। मनाङ्गले भने दुइ पटक मात्र उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ।

विहीवार दोश्रो सेमिफाइनल खेल एनआरटी र नेपाल आर्मी क्लवबीच हुने आयोजक सहारा क्लवले जनाएको छ।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
—————————————————————————

खेलको अन्तिम मिनेट सहारा युकेको लागि दुर्भाग्य, ट्राइब्रेकरबाट एनआरटी सेमिफाइनलमा
हुम तमु, पोखरा / एचकेनेपाल डट कम, माघ १९-
आहा गोल्डकपको आठौं संस्करणको आठौं दिनको खेलमा सहारा एफसी युकेले खेलको अन्तिम एक मिनेट रोक्न नसक्दा ट्राइबेकबाट न्यूरोड टिम एनआरटि ४-२ गोलले अन्तरले सेमिफाइनलमा प्रवेश गरेको छ।

आज भएको अन्तिम क्वार्टरफाइनल खेलको ४० औं मिनेटमा सहारा युकेका जर्सी नम्बर ९ का जोर्डन वाट्सनले गोल गर्दै टीमलाई अग्रता दिएता पनि खेलको इञ्जुरी समयको १ मिनेट बाँकी रहदा एनआरटीका जर्सी नम्बर ९ का निराजन रायमाझीले गोल गर्दै खेललाई १/१को वरावरीमा पुर्‍याए। निर्धारित समयमा खेल १/१ को बराबरी भएपछि अतिरिक्त ३० मिनेटमा पनि कुनै गोल हुन नसक्दा खेल ट्राइबेकरमा पुगेको हो।

ट्राइव्रेकरमा एनआरटीका जिवन सिन्केमान, उमेश उप्रेती, निराजन रायमाझी र राजेश शाहीले गोल गर्न सफल भए भने नविन न्यौपानेको प्रहार पोष्ट माथिबाट बाहिरीएको थियो।

सहारा युकेका गोपाल थापा र युजेन असान्तले गोल गर्न सफल भएका थिए भने गब्स अकुयुडिकको प्रहार पोष्टभन्दा माथिबाट वाहिरीएको थियो । यसरी नै सहारा युकेका पिटर बिग्सको प्रहारलाई एनआरटीका गोलरक्षक तुलसी बजुले रोकेका थिए।

खेलको पहिलो हाफमा सहारा युकेले निकै दवावमा राखे पनि दोश्रो हाफमा एनआरटीले खेललाई आफ्नो दवावमा राखेको थियो। खेलको अन्तिम मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका एनआरटीका निराजन रायमाझी आजको म्यान अफ दी म्याच घोषित भए।

एनआरटीले प्रि क्वाटरफाइनलमा झापाको नाइटचेस क्लबलाई पराजित गरी क्वाटरफाइनलमा प्रबेश गरेको थियो भने सहारा युके बाई पाएर सिधै क्वाटर फाइनलमा प्रबेश गरेको थियो।

सहारा युके यस अघिका संस्करणमा पनि सेमिफाइनल भन्दामाथि उक्लन सकेको थिएन भने आठौं संस्करणको अन्तिम मिनेट सहाराको दुर्भाग्य सावित भयो।

आजको जितसँगै सेमीफाइनलमा प्रवेश गरेको एनआरटीले माघ २१ गते नेपाल आर्मी क्लवसँग फाइनल प्रवेशका लागि खेल्ने छ।

पहिलो सेमिफाइनल खेल भोली परम्परागत प्रतिस्प्रर्धी मनाङ्ग मर्स्याङ्गदी र नेपाल पुलिस क्लव खेल्ने आयोजक सहारा क्लवले जनाएको छ।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
—————————————————————————

सहारा एफसी युकेलाई तमु धिंको स्वागत,
आठौ आहा गोल्डकप सहारा युकेले जित्ने दावी, तमु धिं युकेलाई कम्युनिटी हल बनाइदिन आग्रह

हुम तमु, पोखरा / एचकेनेपाल डट कम, माघ १८-
तमु धिं एशोशियसन युकेका संस्थापक अध्यक्ष तथा सहारा एफसी युके सल्लाहकार मिनप्रसाद तमुले आठौ आहा गोल्ड कपको उपाधि सहारा एफसी युकेले जित्ने दावी गर्नुभएको छ।

सहारा क्लव पोखराको आयोजनामा पोखरामा भइरहेको आठौं आहा गोल्डकपमा सहभागि हुन पोखरा आएको सहारा एफसी युके तथा तमु धिं एशोसियसन युकेका पदाधिकारीहरुलाई आज तमु धिं नेपालद्धारा आयोजित स्वागत कार्यक्रममा बोल्दै सहारा एफसी युकेका सल्लाहकार तमुले सहारा युकेले पुरस्कारको लागि नभई प्रतिष्ठाका लागि जित्ने बताउनु भयो।

कार्यक्रममा वोल्दै उहाँले तमु धि नेपालको आयोजनामा हुन लागेको विश्वशान्ति पुजामा सक्दो सहयोग गर्ने बताउनु हुदै सहयोग संकलनका लागि फेव्रुअरी ७ मा तमु धिं एशोसियसन युकेको बैठक बस्ने बताउनु भयो।

सहारा एफसी युकेका अध्यक्ष नविन तमुले तमुहरुले शिक्षालाई जोड दिन आग्रह गर्नुहुदै अवको युगमा बन्दुक र खुकुरी कसैले लिन नहुने बताउनु भयो । उहाँले पोखरा आफ्नै थलो भएका कारण पोखरा रंगशाला, सहारा क्लव पोखरालाई सहयोग गरे झै तमु धिं यु्केसँग मिलेर तमु धिं नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो।

तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा तमु धिं एशोसियसन युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु, सहारा एफसी युकेका अध्यक्ष नविन तमु, तमु धिं युकेका उपाध्यक्ष मुछेत्र तमु, सचिव ज्ञाम बहादुर तमु, कोषाध्यक्ष दिलीप तमु, सल्लाहाकार नरजंग तमु, चन्द्रमान तमु, मिलन तमु, लोकबहादुर तमु, हिमाल तमु, कृष्ण तमुलगायत बेलायतबाट आउनु भएका १३ जना सहभागि हुनुहुन्थ्यो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै तमु धिं नेपालका सल्लाहकार सन्तबहादुर तमुले नयाँ नेपालमा व्यवस्थित तमु धिं बनाउन सबैको सहयोग आवाश्यक रहेको बताउनु भयो। उहाँले युकेमा रहेका तमुहरुलाई करिब २ करोड लागत लाग्ने तमुधिं नेपालको परिसरभित्र तमु धिं युकेलाई कम्युनिटी हल निर्माणको आग्रह समेत गर्नुभयो। उहाँले तमु संघसंस्थाका अगुवाहरुको घमण्डका कारण तमु एकतामा समस्या रहेको बताउनुभयो।

कोट, टाइ र सुटमा तमु धिं आइपुगेका पाहुनाहरुलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमुले तमु जातिको मौलिक पोशाक भाङग्रा पहिराइ दिनु हुदै आठौं आहागोल्डकपको उपाधि र पोखरेलीको भावना जित्न सहारा एफसी युकेलाई शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमअघि स्वागतका लागि तमु धिं नयाँबजारको प्रवेशद्धारमा तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अगुवाईमा कार्यसमिति, सल्लाहकारहरु, क्षेत्रिय अध्यक्षहरु हात हातमा खादा लिएर लामवद्ध उभिएका थिए।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
—————————————————————————
मनाङ मर्स्याङ्दीले फुच्चेलाई ४/१ ले जित्दै सेमिफाइनलमा
आठौं आहा गोल्डकप फुटबल प्रतियोगिता अर्न्तगत आज पोखरा रंगशालामा भएको तेस्रो क्वाटर फाइनल खेलमा मनाङ्ग मर्स्याङ्गदीले एन्फा एकेडेमीको अण्डर सिक्सटिनलाई एकका विरुद्ध चार एक गोलले जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ।

मनाङ मर्स्याङदीका लागि जसीं नंम्बर १६ का दिपक भुषालले २७ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको दुइ मिनेटमै जर्सी नम्बर ८ का शिव श्रेष्ठ अर्को गोल थप्दै पहिलो हाफमा आफ्नो टीमलाई २-० को अग्रता दिलाएका थिए।

दोश्रो हाफ शुरुको भएको पाँच मिनेटमै एन्फा एकेडेमीको अन्डर सिक्सटिनको तर्फाट जर्सी नम्बर १६ का हेम तामाङले एक गोल गर्दै खेललाई २-१ को अन्तरमा ल्याए भने मनाङ मर्स्याङदीका जर्सी नम्वर ११ का सुजल श्रेष्ठले ७० औं मिनेटमा एक गोल थपे भने ७३ औं मिनेटमा जर्सी नम्बर ८ का शिव श्रेष्ठले थप अर्को गर्दै खेललाई ४-१ गोलले जिताएका हुन।

जितसँगै सेमिफाइनल प्रवेश गरेको मनाङ मस्याङदीले अर्को खेल माघ २० गते नेपाल पुलिस सँग फाइनल यात्राका लागि खेल्ने छ।

मनाङ मर्स्याङदीको जितका लागि दुइ गोलको योगदान दिएका शिव श्रेष्ठ आजको खेलमा म्यान अफ दि म्याच घोषित भएका छन।

अन्तिम क्वाटरफाइनल खेल भोलि सहारा एफसी युके र न्युरोड टिम (एनआरटी) विच हुने भएको छ।

पूर्व निर्धारित खेल तालिका अनुसार बंगलादेशको ढाका स्पोर्टी क्लब प्राविधिक कारणले प्रतियोगितामा सहभागी हुन नसकेपछि एन्फा एकेडेमीको अन्डर सिक्सटिनले खेलमा अवसर पाएको थियो।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
—————————————————————————

आठौं आहा गोल्डकप-सहारा एफसी यूकेद्वारा २८ लाख सहयोग
सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम, माघ १७-
सहारा एफसी युकेलाई सहरा क्लवले आज पोखरामा स्वागत गरेको छ। स्वागत तथा परिचयात्मक कार्यक्रममा सहारा क्लबका अध्यक्ष बिक्रम थकालीले आहा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन आएको सहारा एफसी युकेको टोलीलाई खादा तथा मायाको चिनो प्रदान गरी स्वागत गर्नु भएको हो।


तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्..

सहारा एकेडेमिको भवन निमार्णको लागि सहरा यूकेका सदस्यहरुले २७ लाख ९२ हजार संकलन गरेर क्लवलाई हस्तान्तर गर्न योजना बनाएको सहारा एफसी युकेका कोषाध्यक्ष दिलिप गुरुङले बताउनु भयो। सहारा युकेको टोलीले केही समय अगाडी दोवीलामा रहेको सहाराको एकेडेमिले भवन सिलन्यास गरेका थिए।

सहारा एकेडेमिलाई मूर्त रुप दिन आफूहरुले वेलायतमा बिभिन्न संघ सस्थाहरुसंग रकम संकलन गरी सहारा क्लबलाई निरन्तर सहयोग गर्ने सहारा एफसी युकेका अध्यक्ष नविन गुरुङले बताउनु भयो।

गैरआवासीय नेपाली संघका युकेका उपाध्यक्ष कुल आर्चायले सहारा क्लबले खेलकुदको साथसाथै सामाजिक दाहित्व पनि बहन गरेकोमा खुसि ब्यक्त गर्नुभयो।

क्लबका अध्यक्ष बिक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बीरभद्र आर्चाय, सचिब केसवबहादुर थापालगायतले बोल्नु भएको थियो।

यसै बिच आज बिहान पोखरा रङगशालामा सहारा एफसी युके र गण्डकी मेडिकल कलेज (चरक हस्पिटल) बीच भएको मैत्रिपूर्ण फुटबल खेलमा सहारा युकेले चरक हस्पिटलको टोलीलाई ३-० को गोल अन्तरले पराजित गरेको छ।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
—————————————————————————
नेपाल पुलिस सेमिफाइनलमा, आयोजक सहारा क्वार्टरबाटै बाहिरीयो
हुम तमु, पोखरा, १६ माघ/एचकेनेपाल डट कम -
पोखराको सहारा क्लवको आयोजनामा पोखरा रंगशालामा जारी आठौ आहा गोल्डकपको डिफेण्डीङ च्याम्पियन नेपाल पुलिस क्लबले सहारा क्लबलाई एकको बिरुद्ध दुइ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ।
आजको खेलमा जितका लागि म्यान अफ दी म्याच घोषित नेपाल पुलिस क्लबका जसीं नं ७ का पर्वत पाण्डेले ५७ औं र पेनाल्टी मार्फत ७३ औ मिनेटमा गोल गर्दै आफ्नो टीमलाई जिताएका हुन्।

नेपाल पुलिसले खेलको ५७ औ मिनेटमा पाएको फ्रिकिक बललाई करीब ५० यार्डबाट क्याप्टेन राकेस श्रेष्ठले प्रहार गरेको बललाई सदुपयोग गरी जर्सि नं ७ का पर्वत पाण्डेले जाली चुमाए। खेलको ६९ औ मिनेटमा नरेस केसीको ठाँउमा मैदान प्रवेश गरेका मनबहादुर तामाङ रातो कार्ड पाउदै तीन मिनेटमै मैदान छोड्न पर्नु नै सहाराका लागि दुर्भाग्य बन्यो । मैदान प्रवेशपछि पहिलो पटक बल छोएका तामाङको डी एरियाभित्र हेण्ड हुदाँ रेफ्री सुदिस पाण्डेले उनलाई रातो कार्ड देखाउदै मैदानबाट बाहिर पठाएका थिए। रेफ्रिले दिएको पेनाल्टीको अवसरलाई सदुपयोग गरी पुलिसका पर्वत पाण्डेले आफ्नो टीमलाई सेमिफाइनलमा यात्रा सुनिश्चित गरे।

क्वाटरफाईनलबाटै बाहिरिएका सहारा क्लबका लागि भने पुष्प क्षेत्रीले ६९ औं मिनेटमा एक गोल गरेका थिए । सहाराका लागि खेलको ६९ औ मिनेटमा राजन अधिकारीको पासमा जर्सि नम्बर १४ का पुष्प क्षेत्रिले गोल गरी खेल बराबरीमा पुराएका थिए।

खेलको ७२ औ मिनेटपछि १० जना खेलाडीमा सिमित रहेको सहाराले आजको खेलमा पाएका केहि अवसरलाई राम्रो फिनिसिङ गर्न नसक्दा पराजित हुनुपुगेको हो।

खेलको सुरुवातबाटै आक्रमक खेलेका दुबै टोलीले पहिलो हाफमा कुनै गोल गर्न सकेका थिएनन्। पहिलो हाफको अन्त्यतर्फ नेपाल पुलिसका दिपेन श्रेष्ठले हानेको बल सहाराका डिफेन्स जय थापाले उत्कृष्ठ बचाउ गरेका थिए। नेपाल पुलिसका उत्कृष्ठ खेलाडीहरु जुमानु राई, चेतन घिमिरेलगायत ६ जना सागमा नेपाली टोलीमा सहभागिताका कारण आजको खेलमा अभाव खडि्कएको थियो भने पाएको अवसरहरु पनि चुकाएका थिए।

आहा गोल्डकपमा, विगतमा सेमिफाइनलसम्मको यात्रा गरेको सहाराको लागि नेपाल पुलिस तीन पटकसम्म तगारो बनेको छ।

नेपाल पुलिस क्लवले खेल जिते पनि खेलाडीहरुले राम्रो खेल प्रदशन गर्न नसकेको प्रशिक्षक बिराट कृष्ण श्रेष्ठले प्रतिक्रिया दिनुभयो।

यसैगरी सहाराका प्रशिक्षक किरण श्रेष्ठले आफ्ना खेलाडीको खेल सन्तोषजनक रहे पनि मनबहादुर तामाङले मैदान छाड्नु परेको र डिफेन्डर जय थापा घाइते हुनु दुर्भाग्य भएको बताउनु भयो।

आजको खेलमा नेपाल पुलिसका सुरज विश्वकर्मा र सहाराका जय थापा एक आपसमा ठोकिदा घाईते भएका थापाका ठाँउमा अरुण केसी मैदान छिरेका थिए।

क्याराभान कपसहित आहा गोल्डकपमा पुलिस अहिले सम्म ७ पटकसम्म फाइनलमा पुगिसकेको छ भने ०५८ सालको क्याराभान गोल्डकप, ०५९, ०६४ र ०६५ को आहागोल्डकप गरी चार पटक उपाधि जिति सकेको छ।

आइतवारको खेल काठमाण्डौको मछीन्द्र क्लब र नेपाल आर्मी क्लव बिच दिउँसो २ बजे दोश्रो क्याटरफाईनल खेल हुने आयोजक सहारा क्लवले जनाएको छ।

आजको प्रतियोगिता हेर्न २६ हजार १ सय १८ नंवरको प्रबेश टिकट काटेका बिष्णु तामाङ भाग्यमानी दर्शक बन्दै ब्लाउ मोबाईल सेट पाएका छन्।

पाँचौ दिनसम्म करिब चालिस हजार दर्शकले खेल हेरेको र आज मात्रै करिब बाह्र हजार दर्शक भित्रिएको सहारा क्लवका अध्यक्ष विक्रम बताउनु भयो।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
—————————————————————————

आठौं आहा गोल्डकप- सहारा युके पोखरा उत्रियो
पोखरा / एचकेनेपाल डट कम, माघ १६-
सहारा क्लबद्वारा सञ्चालित आठौं आहा गोल्डकपमा सहभागिता जनाउने सहारा एफसी युकेको टोली पोखरामा उत्रिएको छ। सहारा युकेले १९ गते न्युरोड टिम (एनआरटी)सित सेमिफाइनल प्रवेशको लागि खेल्ने छ।

सहारा युकेको टोलीमा gary Clifford, Nawal gurung, Kunjan gurung, Nabin thapa, Gopal thapa, Madhav thapa, Raygan gurung, Jordan Watson, Kennith Gledhill, Nathan jallow, Eugene asante, Peter biggs, Adam cashin murray, Leslie mwenze, Gabrielle akuwudike bahar laksamba छन्।

टोलीमा अफ्रिकन मुलका ६ जना खेलाडीहरु समावेश छन्। टोलीलाई तमुधि नेपालका अध्यक्ष कर्मा तमु र सहारा क्लबका अध्यक्ष विक्रम थकालीले पोखराको विमानस्थलमा टोलीको स्वागत गर्नुभएको थियो।

तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्..

आठौं आहा गोल्डकप- प्रिक्वाटर फाइनल चरण समाप्तीसम्म,
जितका लागि तीन गोल र एकै खेलाडीले दुइ गोलको निरन्तरता…

हुम गुरुङ, पोखरा / एचकेनेपाल डट कम, माघ १५-
सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आठौं सस्करणको आहा गोल्डकपको चौथोखेल अर्थात प्रिक्वार्टर फाइनल खेल चरण समाप्तीसम्म विजेता टीमले तीन गोल र प्रत्येक खेलमा एकै खेलाडीले दुइ दुइ गोल गर्दै आएका छन्।

गोल्डकपको उद्घाटन खेलमा आयोजक पोखराको सहारा क्लवले रुपन्देही ११ लाई दुइका विरुद्ध तीन गोलले पराजित गरेको थियो भने दोश्रो दिनको खेलमा काठमाण्डौंको मच्छिन्द्र क्लवले भारतको गोर्खा युनाइटेड लाई पनि दुइका विरुद्ध तीन गोलले नै पराजित गरेको थियो । यसैगरी तेश्रोदिनको खेलमा पनि काठमाण्डौंको मनाङ मर्स्याङ्दीले सशस्त्र प्रहरी वललाई एकका विरुद्ध तीन गोलले नै पाखा लगाउदै क्वाटर फाइनलको यात्रा तय गर्न सफल रहृयो भने आज भएको चौथो खेलमा पनि काठमाण्डौको न्युरोड टी (एनआरटी)ले झापाको नाइटचेस क्लवलाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।


तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्..

यसरी नै चौथो दिनको खेलसम्ममा पाँच जना खेलाडीले दुइ दुइ गोल गरेका छन । सहारा र रुपन्देही विचको खेलमा सहाराका पुष्प क्षेत्रीले दुइ गोल गरेका थिए भने पराजित भएको रुपन्देही ११ का विष्णु गुरुङले पनि दुइ गोल गरेका थिए । दोश्रो दिन भएको काठमाण्डौंको मच्छिन्द्र क्लव र भारतको गोर्खा युनाइटेड विचको खेलमा मच्छिन्द्रका गिनीका खेलाडी डेयालो रहिमले दुइ गोल गर्न सफल भए। तेश्रो दिनको मनाङ मर्स्याङदी र सशस्त्र प्रहरी वल (एपीएफ) विचको खेलमा मनाङका जगजित श्रेष्ठले दुइ गोल गर्दै टीमलाई जिताए भने चौथो दिनको खेलमा काठमाण्डौको न्युरोड टीम (एनआरटी) र झापाको नाइटचेस क्लव विचको खेलमा एनआटीका कप्तान जीवन सिन्केमानले दुइ गोल गर्दै प्रत्येक दिनको खेलमा एकै खेलाडीले दुइ गर्ने निरन्तरता दिएका छन्।

गोल्डकपको चौथोखेल सम्पन्न हुदा सम्ममा कुल १८ गोल भएका छन भने सबैभन्दा खेलको शुरुवाती छोटो समयमा गोल गर्ने खेलाडी एनआरटीका जीवन सिन्केमान र आत्मघाती गोल गर्ने पनि सिन्केमान नै पहिलो बनेको छ । सिन्केमानले नाइटचेस विरुद्ध १० औं मिनेटमा गोल गरेका थिए भने ३८ औं मिनेटमा आत्मघाती गोल गरेका थिए।

प्रिक्वाटर फाइनलको खेल सम्पन्न हुदा सम्म सबैभन्दा वढी दर्शक मनाङ मर्स्याङदी र सशस्त्र प्रहरी वल-एपीएफ) विचको खेलका दिन दर्शक सबै भन्दा वढी दर्शकको सहभागिता, हुटिङको स्वर र सुरक्षा व्यवस्था पनि कडा देखिन्थ्यो । मनाङ मस्याङ्दी र एपीएफ विच भएको विहीवारको खेलमा विगतको आहा गोल्डकपको फाइनलको जति नै दर्शकको उपस्थिती रहेको आयोजकको दावी छ।

बुढासुब्बा गोल्डकपको बदला एआरटीले आठौं आहागोल्डकपमा लिदै क्वाटर फाइनलमा प्रवेश
गत वर्ष धरानको बुढासुब्बा गोल्डकपमा नाईट चेस झापासंग पराजीत भएको काठमाण्डौको न्युरोड टीमले आहागोल्ड कपको आठौ संस्करणमा पोखरामा बदला लिदै प्रतियोगिताको क्वाटर फाईनलमा प्र्रबेश गरेको छ।

पोखरा रङगशालामा आज भएको खेलमा एनआरटिले नाईट चेस झापालाई एकको बिरुद्ध ३ गोलको अन्तरले पाखा लगायो। आहा गोल्डकपमा तीन पटक सहभागी भए पनि एनआरटीले पहिलो पटक विजय यात्रा शुरु गरेको हो।

आजको खेलमा म्यान अफ दी म्याच घोषित भएका एनआरटिका कप्तान जीवन सिन्केमानले दुइ र डेनमार्कका खेलाडी साईन मुसाविले एक गोल गरेका थिए। पोखरेली दर्शकको समर्थन पाएका सिन्केमानले आत्मघाती गोलगर्दै नाइटचेसका लागि एक गोल उपहार दिए।

एनआरटिका जितका लागि खेलको १० औं मिनेटमा जर्सि नं ७ का जीवन सिन्केमानले पहिलो गोल गरे भने सरोज दाहालले दिएको पासलाई सदुपयोग गर्दै ३० औ मिनेटमा जर्सि नम्बर १० का विदेशी खेलाडी साईन मुसाविले उत्कृष्ट गोल गर्दै टीमलाई दुइ शून्यको अग्रता दिएका थिए।

खेलको ३८ औ मिनेटमा एनआरटिका कप्तानि सम्हालेका जिवन सिन्केमानले डिवक्सबाट वल क्यिर गर्न खोज्दा आत्मघाती गोल हुन पुगेको थियो । पहिलो हाफमा नाइटचेसलाई दवावमा राख्दै२-१ को अग्रता लिएको थियो भने दोश्रो हाफपछि भने नाइटचेस आक्रमक बन्दै खेल आफ्नो दवावमा लिएको थियो । खेलको ९० औ मिनेटमा एनआरटिका जिवन सिन्केमानले उत्कृष्ट गोल गर्दै ३ -१ को गोल अन्तरले टीमलाई विजयी गराएका हुन्।

ए डिभिजनका खेलाडीहरु लिएर मैदानमा उत्रिएको नाइटचेसले आजको खेलमा ६ वटा भन्दा बढी गोल गर्न राम्रा अवसरहरु चुकाएका कारण पहिलो चरणबाट बाहिरिनु परेको छ। खेलको ४१ औ मिनेटमा राजकुमार घिसिङले डी एरीया नजिकै पाएको बललाई जाली चुमाउन सकेनन्। अनुभबी खेलाडी बुद्ध चेम्जोङले पनि ६३ औ मिनेटमा डीएरीयामा पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन। त्यस्तै खेलको ७७ औ मिनेटमा राजकुमार केसीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन।

अनुभवी खेलाडीहरु निराजन रायमाझी, राजेस शाही, जिवन सिन्केमान, उमेश उप्रेती सहित युवा खेलाडीहरु लिएर मैदानमा उत्रिएको एनआरटिले खेलमा निकै तालमेल मिलाएको थियो । करीब एक बर्षदेखि एनआरटिलाई सम्हालेका डिकेन सुवालले प्रतियोगिता सम्पन्न भए पछि खुसि मुद्रामा प्रतिक्रिया दिदै खेलाडीहरुले सोचे जस्तै खेलेको भन्दै पूर्णरुपमा सन्तुष्टि भएको बताउनु भयो।

त्यसै गरी नाईटचेस झापाका प्रशिक्षक बसन्त श्रेष्ठले आफ्नो टोली राम्रोसंग सेटिङ हुन नपाउदै पहिला गोल खाएका कारण दबाब परेर हार ब्योहोर्नु परेको बताउनु भयो।

अघिल्ला दुइ बर्षलगातार पोखरेली खेलाडी सहभागी गराउदै आहा गोल्डकपमा सहभागी भएको एनआरटिले यसपटक भने पोखरेली खेलाडीहरु बिना नै मैदानमा उत्रिदा दर्शकले नाइटचेलाई साथ दिएका थिए।

एआरटिले सेमिफाईनलको यात्राको लागि सहारा युकेको टोलीसंग माघ १९ गते प्रतिष्पर्धा गर्ने भएको छ।

भोलिको पहिलो क्वार्टर फाईनल खेल आयोजक सहारा क्लव र नेपाल पुलिस बिच दिउँसो २ वजे पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ। पुलिसले ०५८ सालको क्याराभान गोल्डकप, २०५९, २०६४, २०६५ को आहागोल्डकप गरी चार पटक उपाधि जिति सकेको छ भने सहारा क्लव पोखराले भने सेमिफाइनल सम्मको यात्रा गरेको छ।

खेल हेर्न गएका दर्शकहरु मध्ये १६६४० नम्बरको टिकट काटेका भोजपुरका रामबहादुर राईले भाग्यशाली दर्शक बन्दै ब्लाउ मोबाईल सेट पुरस्कार पाए।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
——————————————————

न्युज अपडेटः आठौं आहा गोल्ड कप-
मनाङ मर्स्याङदीको विजयी यात्रा प्रारम्भ

हुम गुरुङ, पोखरा / एचकेनेपाल डट कम, माघ १४-
दोस्रो र तेस्रो आहा गोल्ड कप उचालेको मनाङ मर्स्याङ्गदी क्लवले ससस्त्र प्रहरी वलको एफपीएफ क्लवलाई एकको विरुद्ध तीन गोलले पराजित गरी आठौ आहा गोल्डकपको क्वाटर फाईनलमा प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा विहीवार भएको प्रतिष्पर्धात्मक खेलमा पोखरेली दर्शकको प्रिय टिम मनाङको जितमा जगजित श्रेष्ठले दुइ र शिव श्रेष्ठले एक गोलको योगदान दिए भने एफपीएफका लागि जिवेश पाण्डेले एक गोल गरे।

तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्..

जगजितले खेलको ३१ औ मिनेटमा डी एरिया नजिकै पाएको फ्रिकिकलाई सिधै पोष्टमा जाली चुमाए। पहिलो हाफमा एक गोलले अगाडी रहेको मनाङको अग्रतालाई एफपीएफका जिवेश पाण्डेले दोस्रो हाफको ५ मिनेट मै नरकुमार राईले प्रहार गरेको फ्रिकिकलाई नियन्त्रणमा लिदै जिवेशले गोलमा परिणत गरी बराबरीमा पुर्‍याए।

सशस्त्रले खेललाई बराबरीमा ल्याएको २५ मिनेटमा मनाङका जगजितले पोष्टमा चार्ज गरेको फ्रिकिकलाई हेड गर्दै शिव श्रेष्ठले उत्कृष्ट गोल गरेका थिए भने खेलको इन्जुरी सयममा पाएको फ्रिकिकको अवसरलाई मनाङका लागि पहिलो गोल गरेका जगजितले करीव ३० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्दा ३-१ गोल अन्तरले जित्दै मनाङ क्वाटरफाइनल प्रवेश गरेको हो।

खेल अवधीभर मनाङ वन टच पासको साथै टेक्नीकल गेम खेलको थियो भने सशस्त्र पुरै समय पावर गेम खेलेको थियो। पोखरेली दर्शकको समर्थन पाएको मनाङले खेल अवधिमा करीव ६ वटा गोल गर्ने अवसरलाई गुमाएको थियो भने शसस्त्रले पनि त्यत्तिकै संख्याका पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यर्होनु पर्‍यो। एक दशकसम्म मनाङबाट खेलेका कुमार थापा शसस्त्रको नेतृत्व गर्दै खेलमा मनाङ विरुद्ध उत्रेका थिए।

खेलको समयमा रेफ्रीलाई अपशब्द बोलेको भन्दै अफिसियल कुमार भट्टराईलाई रेफ्रीले अफिसियल बेन्चबाट बाहिर पठाएका थिए। आजको खेलमा मनाङका जगजित र गणेश खड्का सशस्त्रका नरकुमार राईलाई रेफ्रीले पहेंलो कार्ड देखाएका थिए।

मनाङका प्रशिक्षक छिरिङ लोप्सान गुरुङले खेल मैदान हार्ड र बल बढि हलुका भएकोले आफ्ना खेलाडीले सोचे जति खेल्न नसकेका प्रतिक्रिया दिनु भयो भने सशस्त्रका प्रशिक्षक महेश्वर मुल्मीले मनाङले टेक्नीकल गेम खेलेको र आफ्ना खेलाडीले स्कोर पुर्‍याउन नसक्दा पराजित हुनु परेको बताउनु भयो।

पोखरामो सहारा क्लवको आयोजनामा भएको क्याराभान र आहा गोल्डकपसहित चार प्रतियोगितमा फाइनलमा पुगेको मनाङ र छैठौ आहा गोल्ड कपमा उपविजेता बनेको सशस्त्रबीच आहा गोल्डकपमा पहिलो पटक प्रतिष्पर्धा भएको हो।

आजको खेलमा म्यान अफ दी म्याच मनाङका दिपक भुसाल घोषित भए। मनाङ र एपीएफ विचको प्रतियोगितामा आहा गोल्डकपमा विगतमा भएका फाईनल खेलमा जतिकै दर्शकको उपस्थिति रहेको आयोजक सहारा क्लवले जनाएको छ भने सुरक्षाकर्मी पनि बाक्लो उपस्थिति रहेको थियो।

मनाङले अव बंगालादेशको ढाका स्पोर्टिङ क्लवसँग माघ १८ गते खेल्नेछ।

यसैगरी शुक्रवार खेल काठमाडौको न्यूरोड टिम एनआरटी र झापाको नाईट चेस क्लवबीच खेल हुनेछ। आठौ आहा गोल्ड कपमा आजसम्म भएका तीन खेलमा विजयी हुने टिमहरुले तीन/तीन गोल गर्दै विजयी भएका छन्। आजसम्म भएका ३ वटा खेलमा कुल १४ गोल भएको छ।

आजको खेल हेर्नका लागि ११ हजार ४ सय ८२ नम्बरको टिकट काटेका विजेन्द्र गुरुङलाई ब्लाउ मोवाईल परेको छ।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
——————————————————

आहा गोल्ड कप- मच्छिन्द्रद्वारा गोर्खा यूनाईटेड ३/२ ले पराजित,
मच्छिन्द्रकै कर्ण लिम्बू म्यान अफ दी म्याच घोषित….

हुम तमु, पोखरा, माघ १३/ एचकेनेपाल डट कम-
पोखरा रङ्गशालामा जारी आठौ आहा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत बुधवार भएको दोश्रो खेलमा मच्छिन्द्र क्लव काठमाडौं बिजयी भएको छ। मच्छिन्द्रले गोर्खा यूनाईटेडलाई ३/२ को गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाईनलको यात्रा तय गर्‍यो।


तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्..

लको शुरुवात देखिनै मच्छिन्द्र क्लव काठमाडौले गोर्खा यूनाईटेडलाई दवाबमा राखेर खेलेको थियो। खेलको ४५ औं मिनेटमा विशाल राईको कर्नर प्रहारमा मच्छिन्द्रका जर्सि नं ७ का कर्ण लिम्वूले १ गोल गरी टिमलाई अग्रता दिलाएका थिए।

खेलको ४७ औं मिनेटमा गोर्खा यूनाईटेडका बलविन्दरले आक्रामक १ गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । बराबरी बनाएको ५ मिनेट पछि नै गोर्खा यूनाईटेडकै गोस्वामीले गोल गर्दै टीमलाई अग्रता दिलाएपनि ६९ औं मिनेटमा मच्छिन्द्रका गिनिका खेलाडी डेयालो रहिमले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । खेलको अन्तिममा चम्केका डेयालो रहिमले ६ मिनेटपछी पुनः निर्णायक गोल गर्दै आफ्नो टीमको जित सुनिश्चित गरेका थिए। विपक्षी टीमका डिफेन्डरले क्लियर गर्न नसकेको मौका छोपी गोल गरेका थिए।

रोचक र प्रतिष्पर्धात्मक भएको खेलमा ३/२ को हार बेहोर्नु परेपछि गोर्खा यूनाईटेड रित्तो हात र्फकन बाध्य भएको छ। खेलमा मच्छिन्द्रले ६ वटा कर्नर पाएको थियो भने गोर्खा यूनाईटेडले २ वटा मात्र कर्नर हान्ने अवसर पाएको थियो। खेल अवधिभरमा गोर्खा यूनाईटेडका महेश थापा र गोस्वामीले एक/एक वटा पहेंलो कार्ड पाए।

जितपछि प्रसन्न मुद्रामा देखिएका मच्छिन्द्रका प्रशिक्षक नरोत्तम शाक्यले नौलो मैदानमा खेलाडीलाई अप्ठ्यारो महशुष भएपनि सबै आ आफ्नो फर्ममा भएकोले जित सम्भव भएको प्रतिक्रिया दिनुभयो । माघ १७ गते मछिन्द्रले क्वार्टर फाईनलमा नेपाल आर्मीसँग खेल्ने छ।

त्यस्तै गोर्खा यूनाईटेडका टीम म्यानेजर समीर गुरुङले स्कूल लेवल र स्टेट लेवलका जुनियर खेलाडीहरु समावेश भएका कारण आजको खेलमा हार बेहोर्नु परेको प्रतिक्रिया दिनुभयो।

मच्छिन्द्र क्लवका खेलाडीको हौसला वढाउन काठमाडौं, बनेपा, धुलिखेलबाट पोखरा आएका ५० वढी समर्थक तथा पोखरेली दर्शकले मच्छिन्द्रको पक्षमा हुटिङ गरे। साथै केही पोखरेली दर्शकले गोर्खा यूनाईटेडको पक्षमा समेत ताली बजाउँदै समर्थन जनाए।

आजको खेलमा पहिलो गोल गर्न सफल मच्छिन्द्रका कर्ण लिम्बू म्यान अफ दी म्याच घोषित भए। भोलिको खेल ससस्त्र प्रहरीको एपीएफ र मनाङ मर्स्याङ्गदीबीच हुनेछ।

यसअघि मङ्गलबार भएको उद्घाटन खेलमा आयोजक साहारा क्लवले रुपन्देही ११ लाई २ का विरुद्ध तीन गोलले पराजित गरी क्वाटर फाईनलमा प्रवेश गरेको छ। सहाराले माघ १६ गते गत बर्षको आहा गोल्ड कप विजेता नेपाल पुलिस क्लवसँग खेल्नेछ। सहाराले रुपन्देही ११ लाई ३-२ को कठिन जीत दर्ता गराएको हो।

प्रतियोगीतामा स्वदेशी तथा विदेशी गरी १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता माघ २३ गतेसम्म सञ्चालन हुने छ।

पोखराबाट हुम तमु / एचकेनेपाल डट कम

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 20%

Entry Filed under: News, Sports

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in February, 2010

Most Popular Posts

More news....