के निर्णय गर्यो नेकपा एमाले संसदीय दल बैठकले?
April 20th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) संसदीय दलको चालु २७ औं बैठकले सहमतिको विकल्पमा सडक आन्दोलन वा अन्य कुनै अतिवादी विकल्प नरोज्न, संविधानसभाबाटै संविधान निर्माणको काम सम्पन्न गर्न, जवाफदेही साथ संवादको टेवुलमा बस्न र संवादकै माध्यमबाट समाधानमा पुग्न सकिन्छ भन्ने विश्वासका साथ अग्रसर हुन सबै राजनीतिक दलसँग आग्रह गरेको छ।
बैठकले आगामी जेठ १४ गते पछि मुलुकमा संवैधानिक तथा राजनीतिक रिक्तताको अवस्था सिर्जना हुन नदिन तत्काल उपयुक्त संवैधानिक उपायका लागि सार्थक पहल गर्नु अनिवार्य रहेको ठहर गर्दै संविधानसभामा उपस्थित राजनीतिक दलहरू, विशेषगरी प्रमुख राजनीतिक दलहरूको बीचमा शान्ति प्रक्रियालाई कसरी र कहिलेसम्म टुङ्गोमा पुर्याउने, नयाँ संविधानको अन्तरवस्तुमा रहेका विमतिहरूलाई कसरी सहमतिमा रूपान्तरण गर्ने र कहिलेसम्म लोकतान्त्रिक संविधानको घोषणा गर्ने, कसरी र कस्तो स्वरूपको राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने र राष्ट्रिय हितको प्रवर्द्धन गर्नेजस्ता विषयमा सहमति निर्माणका लागि अविलम्ब संवाद आरम्भ गर्न दलहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।
साथै बैठकले यसको लागि प्रभावकारी ढङ्गले पहलकदमी लिन नेकपा (एमाले) केन्द्रीय कमिटीसँग अनुरोध गर्ने निर्णय गरेको छ।
बैठकमा पारित प्रस्तावमा भनिएको छ– हाम्रो दल विगतमा सहमतिको प्रक्रियामा उत्पन्न व्यवधानका घटनाक्रम र कारणको समीक्षा गर्दै सहमतिका नयाँ आधार खोजिनुपर्छ भन्ने मान्यता राख्दछ। यही मान्यताका आधारमा दिगो शान्ति एवं लोकतान्त्रिक संविधान निर्माण गर्न र राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आफ्नो ठाउँबाट लचकताका साथ अधिकतम् योगदान गर्न नेकपा (एमाले) संविधानसभा दल प्रतिबद्ध छ।
बैठकले संविधानसभामा उपस्थित राजनीतिक दलहरूबीच आपसी सहमति र एकता एवम्ं पारस्परिक विश्वासबाट मात्र शान्ति र संविधानजस्ता महत्वपवूर्ण कार्यभारहरू पूरा गर्न सकिन्छ भन्ने आफ्नो विश्वासलाई दृढतापूर्वक दोहोर्याउँदै केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विशेष प्रस्ताव अनुरूप राष्ट्रिय सहमतिको मार्गमा अघि बढ्न संविधानसभामा उपस्थित सबै राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्ने निर्णय समेत गरेको छ
बैठकले संसदीय दलको बैठक बसिरहेकै समयमा नेकपा (एमाले) र सोदलका सभासद्का विषयलाई लिएर निस्किएका समाचार प्रति गम्भीर चिन्ता प्रकट गर्दै दलका सदस्यहरूबाट त्यस विषयमा व्यक्त विचारहरूलाई बैठकले सकारात्मक रूपमा ग्रहण गर्ने निर्णय गरेको छ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता झलनाथ खनालले यस पटकको संसदीय दलको बैठकले नेकपा (एमाले)भित्रको एकता र अनुशासन कायम रहेकोबारे उजागर गरेको बताउनुभयो।
उहाँले जेठ १४ गतेभित्र टाउकोले टेके पनि संविधान निर्माण हुन नसक्ने भन्ने भनाइ सदस्यहरूले राखेकाले संविधानसभाको म्याद थप्न पहल गर्न पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
गत चैत २८ गते प्रारम्भ भएको सो बैठकमा ७२ जना सभासद्हरूले आ–आफ्नो भनाइ राख्नुभएको थियो।
बैठकको अन्त्यमा पार्टी अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री सुरेन्द्र पाण्डे, गृहमन्त्री भीम रावलले सदस्यहरूले उठाउनुभएका जिज्ञासाको उत्तर दिनुभएको थियो
Recent Videos:
Popularity: 12%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed