एउटा प्रखर राष्ट्रवादी चिन्तक डा. हर्कबहादुर गुरुङ
February 19th, 2011
नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
हर्कबहादुर गुरुङ दुई कक्षा पढ्न आफ्ना बुबा सुवेदार पारसाई गुरुङको हात समाएर देहरादून पुगेका थिए। अनि त्यहाँको रेजिमेन्टल चिल्ड्रेन स्कुलमा उनलाई कक्षा पाँचसम्म पढाइयो। त्यसपछि उनी पञ्जावको जलन्धरमा पुगेर त्यहाँको किङ जर्ज मिलिटरी कलेजमा ६ कक्षामा भर्ना गरिए। त्यहाँबाट उनले आर्मी स्पेशल परीक्षा उत्तीर्ण गरे। त्यसपछि उनी काठमाडौं आए र त्रिचन्द्र कलेजमा आइए पढ्न थाले।
उनका सहपाठी गणेशबहादुर राईका अनुसार ‘हर्कबहादुर गुरुङ सानैदेखि फूटबल र हकीका कुशल खेलाडी थिए र गायन तथा गीत लेखनका पनि उमेर अनुसारका विलक्षण प्रतिभा थिए ।'’ त्यही परिवेशमा उनले पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा प्रथम भई बीए अनर्स गरे। त्यहाँ उनी एम्ए पढिरहेका बेला उनको भेट प्रधानमन्त्री बीपी कोइरालासँग भयो। गुरुङको चाहना अनुसार कोइरालाले पोष्ट ग्रेजुयट डिप्लोमा पढ्न उनलाई संयुक्त अधिराज्य पठाए। अनि स्कटल्याण्डको एडेनबरा विश्वविद्यालयमा उनको अध्ययन सुचारु हुन थाल्यो। अन्ततः त्यही विश्वविद्यालयबाट उनले भूगोलमा विद्यावारिधि पनि गरे। अनि एक वर्षजति उनले लण्डन विश्वविद्यालयमा प्राध्यापन गरे।
नेपाल फर्केपछि उनले आफ्ना मित्र गणेशबहादुर राईलाई भने, “धेरै नेपालीहरू पाँच दिन बेलायत बस्ता साहेब भएर आउँछन् तर म पाँच वर्षबस्ता पनि साहेब हुन सकिन।” वास्तवमा उनी ठेट नेपाली थिए, मौलिक नेपाली थिए र नेपाल राष्ट्रलाई नै माया गर्ने सच्चा नेपाली थिए। यही परिवेशमा गुरुङले २०४० सालमा (नरेन्द्रराज प्रसाईलाई) लेखेका थिए- “मलाई विश्वको भन्दा नेपाली राष्ट्रियताको जगेर्नासम्बन्धी नै बढी चासो छ।”
गुरुङ प्रष्ट थिए, नीर्भिकता उनको नैर्सर्गिक गुण थियो र खरो रूपमा आफ्ना मनका कुरा जनसमक्ष पुर्याउन सक्ने उनको वैयक्तिक कला थियो। उनले आफू संयोजक भएको नेपालको बसाइँसराइ अध्ययनको प्रतिवेदन बुझाउँदा एक पटक उनी चर्चिचभन्दा पनि चर्चित भएका थिए। उनको रायसुझावको गाँठी कुरा नेपाल-भारतमा सीमा बाँध्ने विषयमा आधारित थियो। त्यसपछि नेपालका प्रायः बौद्धिक खेतलाहरूले यिनको खुबै आलोचना गरे । त्यस घडी उनको सुझावलाई आगो लगाउनेहरूमध्येले बोलेका थिए, “हर्क गुरुङलाई झुन्डयाउनु पर्छ।” उनका विरोधमा जति नै आँधीहुरी आए तापनि उनी कसैसँग गलेनन् र उनले भने ‘’भविष्यले मेरो विचारको महत्व टड्कारो बुझाउने छ।'’
गुरुङको परिकल्पना जोडिन जाँदा नेपालमा पाँच विकास क्षेत्रको स्थापना भएको थियो। उनले नेपालजस्तो सानो मुलुकमा पचहत्तर जिल्ला हुनु हुँदैन यसलाई पच्चीस जिल्लामा बाँध्नु पर्छ भनेका थिए। तर उनका कुराको विचारविमर्श हुनै सकेन।
गुरुङको सक्रिय जीवन अध्ययन, अन्वेषण, अध्यापन, प्राध्यापन र राजनीतिमा नै समर्पित रहृयो। उनी नेपाली माटोमा एउटा अलौकि नागरिक थिए। त्यसैले यी राष्ट्रिय पञ्चायत र राष्ट्रिय योजना आयोगका सदस्यमा मनोनीत भए। साथै यी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र शिक्षा, यातायात, पर्यटन तथा उद्योगवाणिज्य राज्यमन्त्रीमा पनि नियुक्त भएका थिए। यिनको कदरस्वरूप यी नेपाल श्रीपद्का अतिरिक्त दोस्रा दर्जाका त्रिशक्तिपट्ट र गोरखादक्षिण बाहुबाट पनि विभूषित भए। साथै विद्यावारिधि गरेबापत उनी महेन्द्र विद्याभूषणबाट अलङ्कृत भए।
गुरुङ मन्त्री भएका बेला गलैंचाकाण्डमा यिनलाई पनि अनाहक फसाइएको थियो। अनि यिनले मन्त्री पदबाट मात्र होइन राष्ट्रिय पञ्चायत सदस्यसमेतबाट पनि राजिनामा दिए। त्यसै बेला यिनले राजा वीरेन्द्रलाई समाचार पठाएका थिए- “हर्क गुरुङ भारी बोकेर खान्छ, तर घुस खाँदैन।” वास्तवमा यी त्यस्तै हक्की, प्रष्ट र इमान्दार थिए।
गुरुङले एसिया पेसिफिक डेभलपमेन्ट सेन्टरको प्रमुखको उमेद्वारीका लागि आवेदन दिँदा थाइल्यान्डका प्राज्ञले त्यसै पदमा दिएको आफ्नो उमेद्वारी तत्कालै फिर्ता लिएका थिए। किनभने उनले हर्क गुरुङजस्ता महाप्राज्ञले उक्त ओहोदा ग्रहण गर्नु पर्छ भन्ने मान्यता राखेका थिए। त्यसैले गुरुङ त्यस संस्थामा निर्वाचित भएर मलेसियामा पाँच वर्षबसेका थिए।
गुरुङका आदर्शहरूमा माओ त्सेतुङ, मार्टिन लुथरकिङ र जयप्रकाश नारायण पर्थे। अनि उनी टङ्कप्रसाद आचार्यलाई खुवै श्रद्धा गर्थे। उनका मन नपर्ने विषयचाहिँ चाकरी, चाप्लुसी र चुकली थियो। यी अर्काको जरा खन्ने मान्छेलाई दानव भन्थे।
गुरुङले नेपालका प्रायः सबै जिल्लाका साथै एसिया, युरोप, अफ्रिका र अमेरिकाका विभिन्न ठाउँको भ्रमण गरेर व्यापक अनुभव बटुले। अनि यिनले आफ्नो अनुभव, ज्ञान र सीप नेपाली माटोमा रोप्न खोजे। तर उनलाई काम गर्न बाधाविरोध मात्रै भइरहृयो। यति हुदाहुँदै पनि उनी डटेर आफ्ना यात्रामा लम्किरहे। उनले झन्नै दुई सयवटा फूटकर लेखहरू र एक दर्जन किताबहरू लेखे। उनका लेख र कृतिहरू प्रायः अङ्ग्रेजी भाषामा नै प्रकाशित भए। तर उनी गुरुङ (तमू) भाषाका चाहिं आदिकवि थिए।
गुरुङ एउटा राष्ट्रवादी प्रतिभा थिए। उनको मन, वचन र कर्ममा नेपालको राष्ट्रियता टाँस्सिएको थियो। उनले नेपालको जनजीवन र भौगोलिक स्थितिलाई धेरै नजिकबाट अध्ययन गरेका थिए। यसै प्रसङ्गमा उनले (नरेन्द्रराज प्रसाईलाई) फेरि लेखेका थिए- “देशको तीव्रतर विकासका लागि वाहृय दानको निर्भरता घटाई अधिकांश जनतालाई विकास भनेको एउटा कष्टदायक र कठीन प्रकृया हो भनी महसुस गराई नेपालीले पसीना नबगाएसम्म नेपालको विकास सम्भव छैन।”
गुरुङ समाजशास्त्रीका रूपमा सुपरिचित थिए। उनी पर्वतारोहणका विषयका पनि त्यत्तिकै ज्ञाता मानिन्थे। उनको सोखको विषय फोटाग्राफी थियो। साथै उनी चित्रकलामा पनि पारङ्गत थिए। उनको चित्रकलाका गुरु बालकृष्ण सम थिए। उनले बनाएका चित्रहरुमध्ये डाँफे र मुनालका चित्रहरूचाहिं हुलाक टिकट पनि बनाइएको थियो। उनी तास, जुवा, चुरोटलाई आफ्नो समयसाथी मान्थे भने जाँडरक्सीको सेवन पनि उनको सहायक समयप्रवृत्ति देखिन्थ्यो। उनले जीवनको उत्तर्रार्थमा जनजाती विषयका अध्ययन, चिन्तन र विश्लेषणमा अधिकांश समय दिन थालेका थिए। तर उनी साम्प्रदायिक थिएनन्। मुलुकलाई सङ्घीयताको भीरमा पुर्याउने कुरामा उनले मत दिएका थिएनन् तर उनी भन्थे ‘’राज्यको शक्ति पूर्ण विकेन्द्रीकरण हुनु पर्छ।'’
गुरुङ १९९५ साल पुस २१ गते लम्जुङको तराँचेमा माइसेवोका कोखबाट जन्मे। साथै उनी २०६४ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा स्वर्गीय भए।
naiprasai@gmail.com
चित्राङ्कन : अनुकृतिका
Recent Videos:
Popularity: 7%
2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Bil Gurung | February 20th, 2011 at 1:40 am
हर्क गुरुङ भारी बोकेर खान्छ तर घुस खादैन भन्नु हुने प्राज्ञ डा.हर्क बहादुर गुरुङ र क्युदे थुलेन दुःख मुना बषर्ा मुलरी, खैले हृयावा खैले टीव्ा आगुई हृयूलरी भन्ने पहिलो तमू भाषाको गीतका रचनाकार तमू आदिकवि हर्कबहादुर गुरुङ दुबै जना तमू समुदायका फरक फरक आदरणीय व्यक्तित्वहरु हुनु हुन्छ । यसमा कसैलाई पनि भ्रम नपरोस । डा.हर्कबहादुर गुरुङ लम्जुङमा जन्मनु भएको थियो भने तमू आदिकवि हर्कबहादुर गुरुङ स्याङजामा जन्मनु भएको थियो । वहाहरु दुबै जना अहिले हामी माझ हुनु हुन्न । वहाहरुको आवश्यकता अहिले राष्ट्रलाई खटि्क रहेको छ ।
2. raju | February 20th, 2011 at 5:03 am
malai lagchha Dr, harka gurung sanga jojo durghatna ma parnu bhayo tyiha 100% thulo sadayantra thiyo .kinaki nepal ma biduwan ra thula thula boudik sakti bhayeka byakti harulai dheroi bachna dinna ra tesari noi kunoi jaljhel arthat sadayantra garera marinchha.
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed