नेपालगञ्ज - कर्फ्युको तेस्रो दिन जनजीवन झन कष्टकर
February 19th, 2008
नेपालगञ्ज - कर्फ्युको तेस्रो दिन जनजीवन झन कष्टकर
शहरमा कर्फ्यु भएपछि आन्दोलनकारीहरु गाउ केन्द्रित
सम थापा, नेपालगञ्ज/ एचकेनेपाल डट कम, फेब्रुअरी १९ -
सात दिनदेखिको लगातार बन्द र त्यसै माथि तीन दिनदेखि स्थानीय प्रशासनले लगाएको अनिश्चितकालिन कर्फ्युले गर्दा नेपालगञ्जको जनजीवन झनै कष्टकर बन्दै गईरहेको छ।
संयुक्त मधेसी मोर्चाको ७ दिन देखिको आव्हानले नेपालगंजमा दैनिक उपभोग्यका वस्तुहरुको अभाव सिर्जना भएको छ भने भारतका विभिन्न ठाउहरुमा रोजगारी गरेर फर्केका नेपाली मजदुरहरु पनि सीमानामा अलपत्र परेका छन।
दोहोरो झडपमा परेर मृत्यु भएका गुलजार खानको शवलाई मंगलबार पनि दाहसंस्कार गर्न सकिएन। दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको पीडित पक्षका परिवारका सदस्य र जिल्ला सुरक्षा समितिका सदस्यहरुहरुको सयुक्त बैठकले खानको शवलाई दाहसंस्कार गरिने सहमति भएपनि त्यसको केही छिनमै खानका परिवारहरुले सो सहमति स्वीकार्य नभएको बताउदै फर्केका थिए।
बन्द आयोजकहरुले मृतक खानका परिवारका सदस्यहरुलाई शव नबुझ्न दवाव दिईरहेका बुझिएको छ। तीन दिन देखि खानको शव भेरी अञ्चल अस्पतालमै रहेको छ। सो शवको पोष्टमार्टम पनि भएको छैन।
विहान स्थानीय बासिन्दालाई दैनिक उपभोग्यका वस्तुहरु खरिद गर्नका लागि स्थानिय प्रशासनले विहान ५ बजे देखि ८ बजेसम्म ३ घण्टा कर्फ्यु छुट गरेको थियो। सो समयमा स्थानीय वासिन्दाहरुले किनमेल गर्न पाएका थिए।
भारतवाट रोजगारीगरेर फर्कने क्रममा बन्द र कर्फ्युका कारण नेपाल- भारत सीमानामा अलपत्र परेका करिव २ हजार जनालाई प्रहरीले हालसम्म उद्धार गरी गन्तव्य तर्फ पठाएको जनाएको छ।
कर्फ्यु र बन्दका कारण हवाई यात्रीहरु पनि विचल्लीमा परेका छन्। नेपालगञ्जदेखि ६ किलोमिटर टाढा रहेको नेपालगंज विमानस्थलमा काठमाण्डौ लगायत देशका विभिन्न स्थानवाट हवाई सेवा प्रयोग गरी आएका यात्रुहरु समेत विमानस्थलमा अलपत्र परेका छन्। मंगलबार पनि नेपालगंज नगरका त्रिभुवन चोक, सदरलाईन र एकलाइनी एरियामा बन्द आयोजककर्ता र प्रहरी बीच झडपका घटनाहरु भएका छन्।
साघुरो बाटो र घनावस्तीका कारण ती एरियामा प्रहरी छिर्न नसक्ने भएपछि घरको छतमा लुकेर बसेका प्रदर्शनकारीहरुले सडकमा सुरक्षा गस्ती गरिहरेका सुरक्षाकर्मीहरु माथि ढुङगा मुढा गरेका थिए।
………………………………………………………
नेपालगञ्ज - कर्फ्युको दोश्रो दिन जनजीवन कष्टकर (Photo Update)
सम थापा, नेपालगंज / एचकेनेपाल डट कम, फेब्रुअरी १८ -
हिजो आइतबारदेखि स्थानीय प्रशासनले लगाएको अनिश्चितकालिन कर्फ्युले नेपालगंजको जनजीवन कष्टकर बनेको छ।
संयुक्त मधेसी मोर्चाले विगत ६ दिनदेखि आव्हान गरेको बन्दले दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति रोकिदा यहांको दैनिक जीवन कष्टकर बनेको त थियो नै तर हिजोदेखि स्थानीय प्रशासनले लगाएको अनिश्चितकालिन कर्फ्युले त स्थानीय जनता दोहारो मारमा परेका छन्।
भारतका विभिन्न स्थानबाट रोजगारी गरी फर्केका ठूलो संख्याका मानिसहरु केही नेपालगंजमा र केही भारतीय सीमावर्ती बजार रुपैढियामा अलपत्र परेका छन्। नेपालगंजमा अलपत्र परेका मानिसहरुलाई स्थानीय प्रशासनले प्रहरी स्कटिङका साथ एक दर्जन बसहरुमा राखेर आजदेखि घर पठाउन सुरु गरेको छ।
प्रहरी र प्रदर्शनकारीबीचको झडपमा परेर हिजो मृत्यु भएका गुलजार खानको दाहसंस्कारकालागि स्थानीय प्रहरीले तत्काल राहत स्वरुप दश हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ। यसै बीच झडपमा परेर गंभीर र्घाईते भएका नेपालगंजका असरफ अलीलाई थप उपचारका लागि भारतको लखनउ पर्ठाईएको बांकेका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताउनु भयो।
आज विहान कर्फ्युको उलंघन गर्दै एक समूहले शहरको एकलाईनी क्षेत्रमा प्रहरीमाथि ढुङगा मुढा गरेको थियो। कर्फ्युका कारण नेपालगंजबाट प्रकाशित हुने अधिकांश पत्रपत्रिका आज प्रकाशित पनि हुन सकेनन्।
पछिल्लो सुरक्षा स्थिति हेरेर कर्फ्युको समय कम गर्ने स्थानीय प्रशासनले बताएको छ।
नेपालगञ्जबाट सम थापा / एचकेनेपाल डट कम।
Last updated: 1:30 PM NST
Popularity: 21%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Rai yang pitang chhu | February 18th, 2008 at 6:05 pm
sadhainai Nepal banda hunuma sarkaarnai doshi 6 kinabhane yasta bandakaariharulai kina rahaat ra upachaar dine garne yee aatataayiharulai ta golile bhutnu par6 ani po chetne thie ki?
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed