बहुमत कसैको आएन
April 24th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा निर्वाचनको अन्तिम चरणको मतगणनाले संविधानसभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त नगर्ने देखाएको छ। कुल ६०१ सदस्य रहने संविधानसभाका लागि बहुमत प्राप्त गर्न कुनै पनि दलले कम्तीमा ३०१ स्थान अर्थात् ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने भए पनि प्राप्त मत परिणाम विश्लेषण गर्दा ठूला दल बहुमत प्राप्त गर्ने स्थितिमा देखिएका छैनन्।
प्राप्त मतगणनाअनुसार नेकपा (माओवादी)ले दुवै निर्वाचन प्रणालीबाट करिब २२० स्थान प्राप्त गरी ठूलो दलका रुपमा आफूलाई स्थापना गराएको छ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत सम्पूर्ण २४० निर्वाचन क्षेत्रको मतगणना समाप्त भएको जनाएको छ।
समानुपातिकतर्फ माओवादीले कुल मतको २९.२९ प्रतिशत मत प्राप्त गरेकाले सोअनुरुप करिब १०० स्थान प्राप्त गर्नेछ। माओवादीले प्रत्यक्षबाट १२० स्थान जितिसकेको छ। दुवै निर्वाचन प्रणालीबाट माओवादीले २२० स्थान प्राप्त गर्नेछ।
यसैगरी, दोस्रो ठूलो दल नेपाली काङ्ग्रेसले प्रत्यक्षबाट ३७ र समानुपातिकबाट ७३ स्थान गरी ११० स्थान प्राप्त गर्नेछ भने नेकपा (एमाले)ले प्रत्यक्षबाट ३३ र समानुपातिकबाट ७० गरी १०३ स्थान प्राप्त गर्नेछ।
तराईबाट प्रतिनिधित्व गर्ने नवगठित मधेशी जनअधिकार फोरमले प्रत्यक्षबाट ३० र समानुपातिकबाट २२ गरी ५२ स्थान तथा तराई-मधेश लोकतान्त्रिक पार्टीले प्रत्यक्षबाट ९ र समानुपातिकबाट करिब ११ स्थान गरी २० स्थान प्राप्त गर्नेछन्।
समानुपातिकतर्फ सिट जित्नेमा राप्रपा र मालेले आठ-आठ, सदभावना, जनमोर्चा र नेकपा संयुक्तले पाँच-पाँच सिट रहेका छन्। समानुपातिकमा दुई सिट जित्ने पार्टीहरुमा नेमकिपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सदभावना आनन्दीदेवी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली जनता दल र नेकपा एकीकृत रहेका छन्।
त्यसैगरी एक सिट जित्नेमा दलित जनजाति पार्टी, नेपाः राष्ट्रिय पार्टी, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल, चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक समाजवादी दल र नेपाल परिवार दल रहेका छन्।
समानुपातिमा भाग लिएका अन्य २९ दलले कुनै सिट पाउन सकेको छैन।
Popularity: 16%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed