दशैंलगत्तै सशस्त्र समूहलाई वार्ताको औपचारिक पत्र पठाइने
October 7th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले दशैंलगत्तै तर्राईका सशस्त्र समूहलाई वार्ताका लागि औपचारिक पत्र पठाइने बताएका छन् । रिपोटर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले वार्ताका लागि सरकार गम्भीर भएकाले सशस्त्र समूहले पनि सकारात्मक संकेतहरु दिइरहेको बताए ।
‘दशैंपछि सरकारले वार्ताका लागि औपचारिक पत्र पठाउंछ ,’ मन्त्री महतोले भने,’वार्ताबाटै माग सम्बोधनको पहल हुनेछ ।’ वार्ताबाट समस्याको शान्तिपूर्ण समाधान गर्न सरकार जिम्मेवार रुपमा प्रस्तुत भएको बताए । सरकारले दमनको नीति नलिने उनको भनाई थियो । सशस्त्र समूहका नेता कार्यकर्ताको सुरक्षाको ग्यारेन्टी लिने बताउदै वार्तामा आउदा कुनै शंका नगर्न आग्रह गरे । वार्ताका लागि अप्रत्यक्ष कुराकानी भइरहेको खुलासा समेत गरे ।
रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री महतोले आपूर्ति व्यवस्था सहज भइसकेको बताए । नेपाल आयल निगम आफैले ग्यास विक्री गरिरहेको र कुनैपनि उपभोग्य सामाग्रीको अभाव भए जानकारी गराउन भने । कृत्तिम अभाव सृजना गर्ने कालाबजारीमाथि कडाभन्दा कडा कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकिएको बताए । विभिन्न स्थानमा छापामारी लुकाइएका सामाग्री नियन्त्रणमा लिएको बताए ।
विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले सरकारले शान्तिपूर्ण माध्यमबाट तराईको समस्या समाधान गर्ने बताए । उनले भने,’सरकार खुलेर छलफल गर्न तयार भएकाले वार्ता हुन्छ । वार्ताबाटै समस्याको दीर्घकालीन समाधान हुन्छ ।’ तत्कालका लागि जनगणतन्त्र भन्दा पनि उत्कृष्ट संविधान बनाउने विषय प्रमुख भएको बताए । जनताको आकांक्षा बमोजिमको संविधान बनाउनेतर्फसबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
नेकपा माओवादीका केन्द्रीय सदस्य देवेन्द्र पौडेल सुनीलले आफूहरुले तत्काल जनगणतन्त्रमा जाने कुरा नगरेको बताए । उनले भने,’जनगणतन्त्रमा जाने टुंगो भइसकेको छैन । बहसका लागि विषय उठाएका हौं ।’ जनतालाई अधिकारसम्पन्न बनाउने गणतन्त्रको अपव्याख्या गरी अधिनायकवाद भन्नु गलत हुने तर्क गरे । जनगणतन्त्रबाट अग्रगमनकारी र लोकतन्त्रवादीले तर्सनुनपर्ने बताए । आफूहरुले सामन्तवादको अवशेष समेत अन्त्य गर्ने प्रणालीमा जानुपर्ने आवाज उठाएको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले जनगणतन्त्रमा नाममा माओवादीले अधिनायकवाद लाद्न खोजेको बताए । जनगणतन्त्रविरुद्ध आफूहरु सशक्त रुपमा प्रस्तुत हुने बताए । उनले भने,’कांग्रेसले हिजो पनि अधिनायकवादविरुद्ध लडेको हो भोलि पनि लड्छ ।’ माओवादीको विवादास्पद कार्यशैलीले संविधान बन्नेमा शंका बढाएको बताए । जनताको पक्षमा संविधान बन्न नदिन माओवादीले असहज स्थिति पैदा गरेको बताए । सहमति र सहकार्यको राजनीतिलाई माओवादीले तोडेको आरोप समेत लगाए ।
नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले जनगणतन्त्र तत्कालका लागि एजेण्डा बन्न नसक्ने बताए । जनताले प्राप्त गरेको उपलब्धि रक्षा गरी लोकतान्त्रिक संविधान निर्माणमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । ‘जनगणतन्त्रलाई एजेण्डा बनाएर बहस गर्ने बेला हैन,’ ज्ञवालीले भने,’जनता र देशको पक्षमा संविधान बनाउन सक्रिय हुनुपर्छ ।’ माओवादीको द्वैध चरित्रले शंका बढाएको बताए ।
नेकपा मालेका महासचिव सीपी मैनालीले तत्काल जनगणतन्त्र सम्भव नरहेको बताए । जनगणतन्त्रमा कम्युनिष्ट पार्टी सरकार हाक्नुपर्ने र उसको आफ्नै सेना रहनुपर्ने अवस्था हुन्छ भन्दै त्यो सम्भव नरहेको बताए । विवाद बढाउनेभन्दा सहमति र सहकार्यमा जानुपर्नेमा जोड दिए । आफ्नो दल सरकारमा जान तयारीका साथ रहेको बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले संविधान निर्माण प्रक्रियाले गति लिने विश्वास व्यक्त गरे । जनताको पक्षमा संविधान बनाउन सबैले आ आफ्नो तहबाट सक्रियता देखाउनुपर्नेमा उनको जोड थियो ।
Recent Videos:
Popularity: 17%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed