हामी यस लिङ्क HamroTv.com मा सरेका छौं।

जनआन्दोलन २०४६ को क्रममा तीन गोली लागेर घाइते भएका तारा खड्कालाई पञ्चायती शासकको ठाडो आदेशमा छाला काटेर नुन खुर्सानीमात्र दलेनन्। जिब्रो पनि काटी दिए। प्रहरी हिरासतमा यातना दिइ मारेर फालेको खड्का दुई दिनपछि कालीमाटीको पुलमुनि अचेत अवस्थामा भेटाइएको थियो। अहिले उनी जिउंदा छन् तर पनि हजार पटक मरेर जिइरहेका छन्। कतैबाट सहयोग नपाएर अतालिएका खड्का अझै पनि कतैबाट सहयोग पाइन्छ कि भन्ने आशामा भौतारिरहेका छन्।
Janaandoaln Ka Ghaita Ko Bijog (Documentary)



खड्कासम्बन्धी थप जानकारीको लागि तल पढ्नुहोस्

जनआन्दोलनका घाइते खड्काको बयान
भवानी कुँइकेल/रजनी खड्का (देशान्तरबाट)
‘लोकतान्त्रिक गणतन्त्र स्थापना नभए पुनःआन्दोलनको मैदानमा उत्रिन्छु’ यो भनाइ हो २०४६ को जनआन्दोलका जिउँदा शहीद तारा खड्काको। वि.सं. २०२६ मा रुकुमको मुसिकोटमा जन्मिएका खड्काले जनआन्दोलनमा आफ्नो खुट्टा गुमाउनुका साथै मुटु र फोक्सोको समेत गम्भीर शल्यक्रिया गर्नुपरेको थियो। यतिमात्रै नभएर ताराले आफ्नो शारीरिक र मानसिक अशक्ततताका कारण उपचारका लागि ९ वर्षको छोरालाई १ लाख ३० हजार भारु लिएर भारतीय मारवाडीको हातमा सुम्पेको उनी बताउँछन्।

२० वर्षको उमेरदेखि नेपाल विद्यार्थी संघमा सक्रिय तारालाई जनआन्दोलनमा उत्रिनको लागि गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, माधव नेपाल, सहाना प्रधान आदिले उत्साहित गरेको बताउँछन्। घाइते भएपछि कसैले पनि वास्ता नगरेको उनले दुखेसो पोखे। सानो छँदै आमाबाबुको मृत्यु भएपछि बाटोमा फालेको खानेकुरा खाँदै हिंड्दा उनलाई तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले आफ्नो घरमा ल्याई छोरासरह गरी काठमाडौंमा २ तलाको घर र जग्गा दिई राखेका थिए। अन्याय र अत्याचारको अन्त्य गर्नको लागि आफ्नै बाबुसरहका मरिचमानको विरुद्धमा उनी मैदानमा उत्रिए। २०४६ चैत्र २४ गते भएको दरबारमार्गको आन्दोलनमा राजा महेन्द्रको सालिक तोड्न जाँदा उनको दाहिने खुट्टामा ३ गोली लागी बेहोस भएका थिए। त्यस घटनामा ९ जना साथीमध्ये उनीमात्र जिवित रहे। हनुमानढोका प्रहरी चौकीमा उनलाई नराम्रो व्यवहार गर्नुको साथै हातमा चक्कु रोपी नुनखुर्सानी दलियो र जिब्रो थुतेर फालियो, जसले गर्दा उनले नक्कली जिब्रो र प्लास्टिकको खुट्टाको सहारामा बाँच्नुपरेको छ। प्रहरी चौकीबाट मृत घोषणा भएपछि उनलाई विष्णुमती खोलामा फालियो। तत्पश्चात् उनलाई नेविसंघका साथीहरुले वीर अस्पतालमा लागि भर्ना गरे। २०४६ चैत्र २६ गते ११ बजे राति उनलाई सहिद घोषणा गरियो। सहिद घोषणा गरेपछि पनि उनलाई पार्टीले कुनै वास्ता गरेन। २०६४ को १९ दिने आन्दोलनमा समेत अपाङ्ग शरीर लिएर नै उनी मैदानमा उत्रिए– देशलाई पूर्ण रुपमा स्वतन्त्र गराउनको निम्ति। तर, देशले कुनै पाटो नफेरेकोमा उनी दुःख प्रकट गर्दछन्। गाँस, बास र कपासको व्यवस्था मिलाउनको लागि गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई निवेदन दिंदा पनि अझ कुनै प्रतिक्रिया नआएकोमा उनी चिन्तित देखिन्छन्। २ वर्षदेखि उनको खाना र बासको प्रबन्ध गुरुकुलले गर्दै आएको छ। उनी स्वयंले उपचार खर्च मागेर जुटाउँदै आएका छन्।

२०४६ सालको जनआन्दोलनका घाइते तारा खड्कालगायत अन्य घाइतेहरु राज्यबाट उपेक्षित भएका छन्। आफ्नो ज्यान जोखिममा राखी आन्दोलनमा उत्रिएका यस्ता जीवित सहिदको हेरविचार कसले गर्ने? के १९ दिने आन्दोलनका जिउँदा सहिदको दशा पनि यस्तै होला त? यो प्रश्न हामीमाझमात्र नभएर सिंगो राष्ट्रको अगाडि उभिएको छ।

Comments

comments