‘पोखरामा प्रमोद खरेल’ संगीतसँगै नाता सम्बन्ध र भावुकताको ‘फ्यूजन’

पोखरा, २३ चैत । ‘म बिना कसै–कसैलाई मुश्किल छ पोखरामा’, नेपथ्यबाट चिरपरिचत आवाज गुञ्जियो । खचाखच भरिएको सभागृह हलमा एकाएक ठूलो ‘चियर–अप’ सुनियो।

घुम्रिएको लामो कपाल । हातमा माइक लिएर कालो सुटमा ठाँटिएर स्टेजमा झुल्किए उही गायक प्रमोद खरेल । शायद पोखरामा आएकैले होला, उनले शुरुवात नै त्यही चर्चित गीतबाट गरे।

यो गीतलाई पोखराकै गीतकार शितल गिरीले लेखेका हुन् । गीत सकिएपछि प्रमोदले शितललाई अगाडि बोलाए । र, सम्मान गरे । ‘मान्छे झापाको भएपनि पोखरासँग एउटा अलग्गै खालको साईनो गाँसिएको छ । पोखराले पनि मलाई कहिल्यै पराई ठानेन । त्यसैले त पोखरेलीमाझ म यसरी माया साट्न आईपुगेको छु ।’ प्रमोदले शुरुवातमै पोखरेलीको ध्यान खिचिहाले।

प्रमोदले थपे,–‘म कहिल्यै गीत गाउँदा आफू मात्र हिट हुनुपर्छ भन्ने मान्यता राख्दिन । गीतसँग जोडिएका हरेक स्रष्टाले उत्तिकै चर्चा कमाउनुपर्छ भन्ने मेरो धारणा हो । एउटा गीत हिट हुनलाई पर्दा पछाडि धेरैजनाको मेहेनत हुन्छ ।’ प्रमोदले यति भनिसकेपछि अर्को गीत गाउन थाले।

जब उनले ‘याद गर्न पनि कोहि न कोहि त चाँहिदो रहेछ’ गीत गाए, ‘ब्याकड्रप’मा भएको ‘एलइडी स्क्रिन’मा पोखराकै चर्चित नेता रवीन्द्र अधिकारीको फोटो देखियो । केही दिन अगाडि मात्रै हेलिकप्टर दुर्घटनामा निधन भएका रवीन्द्रलाई ‘डेडिकेट’ गर्दै उनले गीत गाईरहँदा सभागृहहल एकाएक भावुक बन्यो । रवीन्द्र अधिकारीलाई धेरैले ‘मिस’ गरे।

एमाले नेता योगेश भट्टराईदेखि पोखरा महानगरपालिका कार्यालयका मेयर मानबहादुर जिसीसँगै राजनीतिक र कलाकारिता क्षेत्रका विज्ञहरु पनि कार्यक्रममा सहभागी थिए । सबैजना प्रमोदको गायनमा झुमे । अन्तिमसम्म पनि दर्शक चाप यथावत रह्यो । कार्यक्रम अवधीभर प्रमोदले करिब दुई दर्जन आफ्ना चर्चित गीतहरु गाएका थिए।

बीचमा गायिका मिना निरौलाले प्रमोदलाई साथ दिईन् । पुराना म्यास–अप गीतमा यी दुईको केमेष्ट्री खुब जमेको थियो । प्रमोदलाई हलमा सुन्न आएका स्रोताहरुको लागि यो विशेष प्याकेज थियो । त्यसैमाथि अर्का हाँस्य कलाकार मनोज गजुरेलले उपस्थित दर्शकहरुलाई हँसाए।

‘पोखरामा प्रमोद खरेल’ स्वयं प्रमोद खरेलकै लागि पनि विशेष थियो । कारण, यस्तो प्रकृतिको कार्यक्रम उनका लागि पहिलोपटक नै थियो । उनका एकल प्रस्तुतीहरु नभएका होईनन् । तर यहाँ भएको कार्यक्रमको व्यवस्थापन, प्रकृति र उद्देश्य बिल्कुल नौलो थियो । त्यसैले उनको जीवनकालकै ऐतिहासिक कार्यक्रमको रुपमा उनले यहाँको कार्यक्रमलाई लिएको बताए।

एभिन्यू ग्रुप अफ कमर्शको आयोजनामा भएको कार्यक्रमलाई यहाँकै बार्दली मिडिया प्रालिले व्यवस्थापन गरेको हो । आयोजक पनि यो कार्यक्रमलाई लिएर निकै खुशी भएको छ । त्यस्तै कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको बार्दली मिडिया प्रालिले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गरेको छ । ‘यो कार्यक्रम ऐतिहासिक भएको छ । र, यसलाई भव्य बनाउन धेरैजनाको सहयोग हामीले पायौँ । सम्पूर्ण पोखरेली यसमा सहभागी भए । सबैलाई धन्यबाद ।’ बार्दली मिडिया प्रालिका प्रबन्ध निर्देशक मन क्षेत्रीले भने।





Comments

comments

27849