जेट एयरवेज टाट पल्टिनुको खास कारण यस्तो रहेछ..

कम्पनीमा कार्यरत १६ हजार ५ सय कर्मचारीको भविष्य अन्यौलमा।

गत बुधबार जेट एयरवेजले आफ्नो अन्तिम उडान भारतीय दुई सहर अमृतसरदेखि मुम्बईसम्म भर्यो । १ सय २४ विमान रहेको कम्पनीका लागि त्यो अन्तिम उडान अत्यन्त दुःखले भरिएको मात्र थिएन, हजारौँ कर्मचारीको भविष्यसँग समेत जोडिएको छ ।

अब कम्पनीमा कार्यरत १६ हजार ५ सय कर्मचारीको भविष्य के भन्ने अहं प्रश्न उब्जिएको छ ।

जेटका कर्मचारी र परिवारका सदस्यहरूले बिहीबार नयाँदिल्लीस्थित जन्तरमन्तरमा कम्पनी बचाउन माग गर्दै प्रदर्शनसमेत गरेका छन् । तर, अहिलेसम्म कम्पनीको भविष्य के हुने र यसका जहाज कहिलेदेखि फेरि सञ्चालनमा आउँछन् भन्ने अन्योलमा नै छ । किनकि, ठूलो ऋण र सञ्चालन पुँजीको अभावका कारण जेट व्यवस्थापनले उडान स्थगन गरेको हो ।

सन् १९९३ मा दुई बोइङ सेभेन–थ्री–सेभेनबाट उडान थालेको कम्पनीले सन् २०१२ अक्टोबरमा आइपुग्दा यात्रु बजार हिस्सा २६.३ प्रतिशत पुर्‍याएको थियो । तर, उत्साहपूर्ण उडान यात्रा रहेको एयरवेज अहिले दैनिक सञ्चालन पुँजीकै अभावमा उडान स्थगन गर्न बाध्य भयो । कम्पनीको अवस्था सामान्य बनाउन नसकेपछि अध्यक्ष नरेश गोयलले पदबाट राजीनामा दिइसकेका छन् । एक अर्ब डलर ऋण रहेको कम्पनीमा थप लगानी बढाउन साझेदारहरू तयार नभएपछि अन्ततः सबै उडान रोकिए ।

को हुन् नरेश गोयल
सन् १९७० को दशकमा नरेश गोयल दिल्लीको कस्तुरबा गान्धी मार्गमा रहेको एक ट्राभल एजेन्सीमा काम गर्थे । ६० र ७० को दशकमा भारतीयहरू बेलायत र क्यानडा जाने लहर नै चलेको थियो । यो लहर ८० को दशकमा आइपुग्दा खाडीतर्फ मोडियो । दिल्लीमा नोकरी गर्दागर्दै गोयल सिंगापुर एयरलायन्सको जनरल सेल्स एजेन्ट (जिएसए) बन्न पुगे । उनी १९८० को सुरुवाततिरै इराक र कुवेत एयरलायन्सको पनि जिएसए बन्न पुगे ।

मुम्बईका उच्च व्यावसायिक घरानाका व्यवसायीसँग समेत राम्रो सम्बन्ध विस्तार गर्न सफल उनले सन् १९९३ मा भारतकै पहिलो निजी विमान कम्पनीका रूपमा ‘जेट एयरलायन्स’ स्थापना गरे । भर्खरै खुला अर्थतन्त्रतर्फ लम्केको भारतमा उनको हवाई व्यवसाय निकै फस्टायो । सन् २००२ सम्म आइपुग्दा जेट राष्ट्रिय ध्वजाबाहक इन्डियन एयरलायन्सलाई पछाडि पार्दै नम्बर १ बन्न सफल भयो । जेटलाई उचाइमा पुर्‍याउन गोयलको अथक मिहिनेत रहेको जानकारहरू बताउँछन् ।

जेटको ओरालो यात्रा
जेट एयरवेजले सन् २००५ मा सर्वसाधारणलाई २० प्रतिशत सेयर बिक्री गरेको थियो । तर, सन् २००६ मा समस्याग्रस्त विमान कम्पनी सहारा एयरलायन्स २ हजार २ सय ५० करोडमा किन्ने निर्णय नै जेटलाई ओरालोतर्फ धकेल्ने कदम भएको जानकारहरू बताउँछन् । मर्जर हुँदा कर्मचारी मिलानमा उपयुक्त तरिका नअपनाइएकाले कार्य क्षमतामा ह्रास आएको उनीहरूको ठहर छ ।

सन् २००८ मा आएको विश्वव्यापी आर्थिक मन्दीले पनि जेट एयरवेजलाई असर पुर्‍यायो । एयर इन्डियाका पूर्वकार्यकारी निर्देशक जितेन्द्र भार्गवले भने, ‘सस्तोमा टिकट उपलब्ध गराउने हवाई सेवा कम्पनी थपिँदै गए, तर जेटले न सस्तो टिकटको संख्या बढाउन सक्यो, न कम्पनीको खर्च कम गर्न नै । अन्ततः बजार हिस्सा गुमाउँदै जान थाल्यो ।’

सन् २०१३ मा संयुक्त अरब इमिरेट्सको ठूलो विमान कम्पनी इत्तेहादले जेटको २४ प्रतिशत सेयर खरिद गर्‍यो । यसले कम्पनीलाई केही समयका लागि राहत त दियो, तर कम्पनी निरन्तर घाटातर्फ नै अघि बढिरह्यो । इन्डिगो, स्पाइसजेटजस्ता बजेट एयरलायन्स कम्पनीले बजार हिस्सा बढाउँदै लाँदा जेटले भने पकड गुमाउँदै गयो ।

भारत सरकारले जेट एयरवेज बचाउन लगानीकर्तासमेत रहेको स्टेट बैंक अफ इन्डिया (एसबिआई)लाई केही योजना बनाउन आग्रह गरेको थियो । तर, उसले जेटमा रहेको आफ्नो १७ प्रतिशत हिस्सामा थप लगानी नगर्ने जनायो । त्यस्तै सेयर हिस्सा बढाउन इत्तेहादलाई गरिएको प्रस्ताव पनि अस्वीकृत भयो । कम्पनीको यो अवस्था आउन नदिन सरकारकै सक्रियतामा विभिन्न समयमा उपायको खोजी तथा छलफल भए पनि निकास निस्किन सकेन ।

जेट एयरवेज र नेपाल कनेक्सन
जेट एयरवेजले गत २९ चैतदेखि काठमाडौंमा हुने आफ्ना सबै उडान स्थगित गरेको छ । जेटले बन्द हुनुपूर्व काठमाडौं–दिल्ली र काठमाडौं–मुम्बई गरी दैनिक पाँच उडान भर्दै आएको थियो । बी सेभेन–थ्री–सेभेन जहाजबाट सेवा दिने जेटले दैनिक औसत ८ सय यात्रुलाई सेवा दिँदै आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीको यात्रु सेवाका हिसाबले जेट नेपाल वायुसेवा निगमपछिको दोस्रो ठूलो हो । जेटको उडान स्थगन भएसँगै त्यसको सीधा असर नेपालको पर्यटनमा पर्ने देखिन्छ । भारतबाट आउने वा भारत हुँदै नेपाल आउने पर्यटक बोक्ने विमान कम्पनीका उडान स्थगित हुँदा अन्ततः पर्यटकको संख्या घट्ने पर्यटन व्यवसायीहरू बताउँछन् । जेटले विमानस्थल प्रयोग गरेबापत नागरिक उड्डयन प्राधिकरणलाई १८ करोड रुपैयाँ तिर्न बाँकी छ । एयरवेजको सेवा बन्द भएसँगै बक्यौता उठाउन पनि कठिन हुन सक्नेछ । दिवाकर पन्तले नयाँपत्रिकामा यो खबर लेखेका छन्।





Comments

comments

Trending Now : कालिका र पप्पु कन्सट्रक्सनलाई ठूलो झट्का, अब ठेक्का प्रतिस्पर्धामा भाग लिन नपाउने