प्रधानमन्त्री लन्डनमा: राजकुमार ह्यारी र प्रधानमन्त्री मेसँग भेटवार्ता

नेपालबाट १७ वर्षपछि प्रधानमन्त्रीस्तरको बेलायत भ्रमण भएको छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २००२ मा भ्रमण गरेको १७ वर्षपछि प्रधानमन्त्री केपी ओलीले बेलायत भ्रमण गरेका हुन् । लन्डनमा प्रधानमन्त्री ओलीले राजकुमार ह्यारी र समकक्षी थेरेसा मेसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । ओलीलाई केन्सिङटन प्यालेसमा स्वागत गर्दै ह्यारीले नेपालको पुनर्निर्माणबारे चासो राखेका छन् । ह्यारीले नेपाली जनताको प्रशंसा गरेको भेटवार्तामा सहभागी नेपाली अधिकारीले बताए । प्रधानमन्त्री ओलीले ह्यारीलाई पुनः भ्रमणको निमन्त्रणा दिँदै नेपालप्रति बेलायतको राजपरिवारले देखाउँदै आएको सद्भावको प्रशंसा गरेका थिए।

बेलायतका राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा ६ चैत ०७२ मा प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । ह्यारी भूकम्पपछि पुनर्निर्माणका लागि नेपालका ग्रामीण बस्तीमा आफैँ सहभागी भएर श्रमसमेत गरेका थिए । उनले नेपालीको माया र सद्भावको प्रशंसा गरेका थिए । लन्डनमा प्रधानमन्त्रीले बेलायतका सांसदहरूको समूहसँग पनि अन्तरक्रिया गरेका छन् । प्रधानमन्त्रीलाई बेलायतस्थित गैरआवासीय नेपालीले सम्मान गरेका छन्।

समकक्षी मेसँग भेटवार्ता
प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा मेसँग १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई स्वागत गर्दै मेले नेपालको विकास र पुनर्निर्माणमा बेलायतको सहयोग जारी रहने बताएकी छिन् । भेटमा सहभागी नेपाली अधिकारीका अनुसार मेले भूकम्पपछि पुनर्निर्माण, नेपालको संक्रमणकालीन न्याय प्रक्रियाबारे चासो राखेकी छिन् । प्रधानमन्त्री ओलीले नेपालको पहिलो कूटनीतिक सम्बन्ध भएको बेलायतसँगको सबन्ध उच्च प्राथमिकतामा रहेको बताएका छन् । ओलीले अवकाशप्राप्त गोर्खाको समस्याबारे चासो राख्दै सम्बोधन हुने विश्वास व्यक्त गरेका छन्।

ओलीले समकक्षी मेलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बेलायती महारानी एलिजाबेथ द्वितियालाई पठाएको औपचारिक निमन्त्रणापत्र पनि दिएका छन् । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव शंकरदास बैरागी र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए। यो खबर नयाँपत्रिका दैनिकमा छापिएको छ।

तस्बिर: द रोयल फ्यामिली र लण्डन नेपाल न्युज कम





Comments

comments

29864