विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो

विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ।

यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्धिदर ८.१ प्रतिशत पुग्ने बैङ्कको प्रक्षेपण छ।

नेपालपछि छिमेकी मुलुक भारतको वृद्धिदर छ प्रतिशत रहने छ । त्यसपछि माल्दिभ्सको ५.२, भुटानको ५, पाकिस्तानको ३.३, श्रीलङ्काको २.७ र सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ।

नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैङ्कको छ । सन् २०२० मा ६.४ र २०२१ मा सामान्य वृद्धि भई ६.५ पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ।

यद्यपि आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म औसतमा ६.५ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू वर्षमा नेपालको आथिृक वृद्धिदरलाई निकै सहयोग पुग्ने बैङ्कले जनाएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

32228