पृष्ठ ३
नोक्सान गरिरहेको छ । बरु यहींबाट रसियन साथीहरूको सहायतामा चलेको
डब्लु.डब्लु.डब्लु. फ्री नेपाल. कममा यस्तै खाले एक अन्तर्वार्ता बोलेको थिएँ
दुई महिना अघि त्यो फ्री
नेपाल अनलाइन रेडियो र्सर्भिस हो । मौकापरे सुनिदिनु होला । अहिले साइबर स्पेशमा
कुध्ने झण्डै पच्चीसवटा जति साइटहरू नेपाली साहित्य संस्कृति कलामा समर्पित छन् ।
तिनीहरूको संख्या बढ्दैछ । तर हेर्नोस भाइ, एकातिर लाग्यो अर्कातिर छुट्ने, म
यस्तैमा परेको हुँला ।
हालको राजनैतिक आकाशमा ज्यादै भयावह स्थिति पैदा भैरहेछ एकातिर माओवादीको रक्तपातपूर्ण लडाईं अर्कोतिर घुसखोरीहरूको रजाई यस्तो परिस्थितिबाट निकास पाउन हालको सरकारले कस्तो कदम चाल्न उपयुक्त देख्नु हुन्छ -
भ्रष्टाचार हाम्रो राष्ट्रिय रोग हो । यो विश्वका सम्पूर्ण तेस्रा र चौथा मुलुकहरूमा फैलिएको भयानक महामारी हो । त्यसो त जापानजस्ता मुलुकमा पनि भ्रष्टाचारले कति कुर्सी हल्लिएका प्रमाण छन् । तर ती केसहरू अपवाद भए- हाम्रोमा महामारी छ, सर्वत्र छ । विकास अरुकै काँधमा चढेर आउँछ भन्ने भ्रम छ, अरुहरू हाम्रोमा विकास गरिदिन आउँछन्, ५० प्रतिशत रकम आफैं खान्छन्, २५ प्रतिशत खुवाउँछन् र २५ प्रतिशतको काम गरिटोपल्छन् । प्रशासन, राजनीति, समाज सर्वत्र भ्रष्टाचार बिघ्नै छ । जनता हैरान छन् । नागरिक समाज, उपभोक्ता र सामान्य नागरिक सचेत छैन, नियम कानून दरो छैन, सभ्य समाज बन्नका लागि कानूनको पालना हुनुपर्छ, नैतिकता चाहिन्छ त्यो छैन, यो सबै अशिक्षा, अज्ञानता र सामन्तीवर्गको शासनयन्त्रले यस्तो भएको हो । त्यसैले कतिजना पलायन हुन्छन्, कति भ्रष्टाचारमै मुछिन्छन्, कति विद्रोह पट्टि लाग्छन् । देशमा कहिल्यै सुधार नआउने देखेर वितृष्णाले एकथरी अलग्गिएका हुन्छन् । तिनैबाट आरम्भ गरिएको योजना बढ्दै गएर आज राष्ट्र रक्तपातमा उत्रेको छ । आम नागरिक पहिले एउटै पीडामा थियो भोकमरी र शोषणको । आज दोहोरो पीडामा छन्- आरोप र प्रत्यारोपको । दोहोरी भिडन्त, चेपुवा र मृत्युको । मृत्युको खेलमा उत्रेपछि हामीले दया, स्नेह, विवेक, मानवता सबै गुमाइसक्यौं । आजका नानीहरूले जे देख्तै भोग्दैछन्, त्यसबाट उनीहरूको मस्तिष्कमा एउटा भयग्रस्त अपराधिक चेतना र निराशा मात्र बाँकी रहलाजस्तो लाग्छ । त्यसको असर वा चोट कति पुस्तासम्म गएर निको होला - विचार गर्नोस् न,भाइ । यसको समाधानको विषयमा सीके लालले हिमालको २-१६ अक्टोबर २००४ को अङ्कमा समाधान टाढा छ पर्खौं शीर्षकबाट दुई लाइन उद्धृत गर्नु उपयुक्त ठान्दछु "दुःख सहनसक्ने नेपालीहरूले अझ केही समय धैर्य गर्न तयार हुनुपर्छ । बन्दुकहरू अन्ततः परास्त हुन्छन् भन्ने कुरामा शङ्का छैन ।" मलाई पनि त्यस्तै लाग्छ । सरकारले कस्तो कदम चाल्नु पर्ला - भन्नु भयो मलाई लाग्छ सरकारको अनुपस्थिति र निरीहपनको अनुभव गरिएको धेरै भयो । त्यहाँ पनि असहायहरू नै पुगेको देखिन्छन् । सरकारलाई कुनै सल्लाह दिनु पनि उपयुक्त छैन किनभने त्यहाँ बस्नेहरू सल्लाह लिन नसक्ने तर दिनमात्रै सक्नेहरू छन् र उनीहरूको सल्लाहमाथि कसैको विश्वास छैन । विश्वासको सङ्कट नहटुन्जेलसम्म नयाँ दिन आउँदैन ।
नेपाली साहित्यकारहरूले विश्वमा लेखिने साहित्यको हाराहारीमा नेपाली साहित्य पनि लेखिएको छ भन्छन् र तपाईंले पनि यहि कुरा भन्नु भएको छ तर अझै किन नेपाली साहित्यका लेखकहरू नोवेल पुरस्कारको तावेदारी हुन सकेका छैनन् होला -
नोबेल पुरस्कार भनेको अरबौं जनताको एउटा अन्तिम लक्ष्य हो । यसको लागि दुई-तीन हजार वर्षपुराना भाषा र साहित्य पनि सहभागी हुन्छन् । नेपाली साहित्यको इतिहास २०० वर्षो छ, यसको आधुनिक लेखन १०० वर्षपनि पुगेको छैन । हामीले आफ्नै उभिने आधार पनि हेर्नु पर्दछ । नेपाली साहित्यमा पनि विश्वमा चलेका प्रबृत्ति, चलन, चिन्तन, दर्शन र टेक्निकहरूको प्रवेश भइसकेको छ । कलामा पनि त्यसको प्रवेश भइसकेको छ । यसरी नयाँ कुराको प्रवेश हुन थालेको गोपालप्रसाद रिमालकै पालादेखि हो । यताको पचास वर्षा प्रयोगपरक लेखन र चिन्तनको मात्रा पनि निकै घना भइसक्यो । तर समकालीन चिन्तन, दर्शन र टेक्निकसँग नजिकिनुको तात्पर्य विश्वसाहित्यको चलनचल्तीमा पुग्नु हो, त्यसको प्रबृत्तिलाई पक्रिनु हो तर त्यो उत्कृष्टताको प्रमाण हुनुपर्ने जरुरी छैन । हामी उत्कृष्टताको चुली टेक्न सकिरहेका छैनौं । टेक्न समय लाग्छ । उत्कृष्ट साहित्यको जातीय र क्षेत्रीय सीमाहरू नाघेर मानवीय मूल्यका यस्ता गीतहरू गाउनु पर्यो जसले सबैको हृदय छोओस् । यसका लागि संरचना, शिल्प, सन्देश सबै कुराले अकल्पनीय उत्कृष्टता छुनु पर्दछ । यो ता कुनै समयले पनि नभत्काउने स्थापत्य जस्तै हो । हाम्रै नजिकका भी.एस नैपोलका कृतिहरू हेरौं । नोबेल पुरस्कार प्राप्तकर्ता अरु साहित्यकारहरूका महान् कृति हेरौं । त्यसको लागि उत्कृष्टता छुन सक्ने साहित्यकारको जन्म हुनुपर्यो । उसको साधन, तपस्या र उपलब्धीले जगत हल्लाउनु पर्यो- संख्याले हुँदैन, वर्षे हुँदैन, सिफारिसले हुँदैन । त्यसमाथि उत्कृष्ट तहको अंग्रेजीमा त्यो सन्देश प्रवाहित हुनुपर्यो । वास्तवमा सम्राट उपाध्यायले अंग्रेजीमा लेखेर जुन प्रशंसा र पुरस्कार पाए त्यो पनि नेपाली जातिको गौरव बढाउने कुरा हो । हालै प्रकाशित डीवी गुरुङ्गको स्लिपवाक हेर्दैछु । उनले प्राप्त गरेका प्रशंसा र पुरस्कार पनि हाम्रै हुन् । यसको तात्पर्य मैले अंग्रेजीतर्फ ढल्किन चाहेको हुइँन तर अरुन्दधी रोय, सलमान रुस्दि, तसलिमा नसरिन आदि पनि अंग्रेजीको बाटो गरेर आफ्नो देशलाई लेखिरहेछन् । नेपाली भाषामा लेखिएका उत्कृष्ट साँच्चै उत्कृष्ट कृतिलाई संसार समक्ष देखाउने हाम्रो प्रयत्न जारी राख्नु पर्दछ । अभि सुवेदीको अग्निको कथा र अन्य काव्यात्मक नाटकहरूलाई अंग्रेजीमा लानु परेको छ, ध्रुवचन्द्रका उपन्यासलाई, कवितामा मोहन कोइराला, बैरागी काइँला, इश्वर बल्लभ, तुलसी दिवस र नयाँ पुस्तका दशौंजना उत्कृष्टहरू निस्कंदै छन्, धेरै कुरा गर्नुछ, उत्कृष्टताको आशा नराखी निरन्तर खोजी चाहिँ गरिरहनु पर्दछ । नोबेल पुरस्कार जसले पाए ती उत्कृष्टले पाए ।
विश्वमा साहित्य र कलाले चरम सिमा नाघी सकेको बेला नेपालमा अझै पनि साहित्य र कलालाई अनुत्पादकको रूपमा हेरिन्छ यसरी हेरिनुको कारण के होला -
यो एउटा गम्भीर प्रश्न हो । साहित्य कलामा लाग्ने हामी सबैलाई यसले छोएको छ । हालै नेपालमा एउटा गोष्ठी भएको थियो । त्यसमा चिन्तकहरू चिन्तित थिए- कारण किताब बिक्तैनन् । यसको अर्थ पाठक छैनन् भन्नु हो । शायद हाम्रा पाठक हाम्रो लेखनप्रति आकषिर्त नभएर होला । यस्तै झोंकमा हालै बाल आवाराले पाठकको मृत्यु शीर्षक कविता संग्रह निकाले । त्यो उनको आक्रोश थियो । मैले यस विषयमा आफ्ना धारणा राख्दै ९ अक्टोबर २००४ को कान्तिपुरमा एउटा रचना छपाएँ । आज पनि किताब निस्कनु भनेको एक दुई हजार मात्र हो । पाठयपुस्तकमा नपरेका किताबहरू बिक्तैनन् । तर प्रकाशनजगतमा संख्यात्मक रूपले ठूलो सुधार भएको छ, गुणात्मक रूपले त्यति होइन । कलाको स्थिति साहित्यको भन्दा दुःखद छ । साहित्यलाई पेशा वा जिवीकोपार्जनको माध्यम पार्न नसक्नुको कारण पाठकको संख्यामा वृद्धि नभएर हो । आजको पाठकलाई पनि दोष दिनु छैन । उसको सामुन्ने साइबर युग पल्टेको छ । उसलाई इलेक्ट्रोनिक मिडियाले निलेको छ, त्यसरी पनि प्रिन्ट मिडिया पछि परेको होला । तर त्यति निरास हुनु पर्दैन । अक्षरको खेती कहिल्यै पनि बन्द हुँदैन । यो चलिरहन्छ । मानिसलाई प्रकाशनको महत्व बुझाउँदै लानुपर्ला, घरमा धेरै किताब हुनु सभ्यताको निसानी हो भन्नु पर्ला । अखबार, जर्नल र सामाजिक प्रकाशनले साहित्यलाई परोक्ष रूपले टेवा दिइरहेका छन् । आजको व्यस्त पाठक यस्तै माध्यमबाट सूचना ग्रहण गरेर चित्त बुझाउन बाध्य छ । यस्ता प्रकाशनले राम्ररी पैसा पनि दिन्छन्, त्यसैले गर्दा राम्राराम्रा कलम त्यता पनि ढल्केका छन् ।
साहित्य लेखनमा प्रेरणा कसरी पाउनु भयो - लेखन क्षेत्रमा लागेर भोग्नु भएका तिता केही क्षणहरू छन् कि - नयाँ कृतिको लागि कलम चलाउँदै हुनुहुन्छ -
मेरो प्रेरणा आफ्नै पिताजीको साहित्य-काव्य प्रेम, दुःख संघर्षले, अनेक चोट र ठेसले भरिएको आरम्भिक जीवन, र ती दिनका स्मरण, आदर्श मावि धैलाडुबा झापामा भएको उसबेलाको राम्रो पुस्तकालय- त्यस्तै यस्तै मेरा प्रेरणा हुन् । यसका पछि मेरा गुरुहरू पनि हुनुहुन्छ । लेखन क्षेत्रमा लागेर भोगेका त्यस्ता तीता कुरा छैनन् । सबै मीठा छन् । मलाई लाग्छ- एक एक अक्षर छामेर, गनेर, बुझेर, धोएर, माझेर टल्काएर लेख्ने प्रयत्न गर्नु पर्दछ । इमान्दारिसाथ आफूलाई नढाँटी लेख्नु पर्दछ । त्यसबाट उत्पन्न हुने आनन्द लेखक पाठक दुवैलाई पुग्ने हुन्छ । मलाई शक्तिशाली उपन्यास लेख्ने विचार छ, प्लट पनि छन् मनमा तर समय छैन, लामो ध्यानले मात्र यस्तो कार्य सम्पन्न गर्न सकिन्छ । विहान बेलुकी भागेर लुकेर लेख्नु भनेको ससानो छोटो, टुक्रे लेखन मात्र हो । मेरो मनमा यही धोको छ र विश्वसाहित्यका उत्कृष्ट किताप पढ्ने अर्को धोको छ ।
एचके नेपाल डट कम मार्फत् हाम्रा समस्त पाठक वर्गलाई केहि सन्देश दिन चाहनु हुन्छ कि -
त्यति टाढा बसेर पनि खाईनखाई तपाईंहरूले भाषा साहित्यप्रति देखाउनु भएको अनुराग, प्रेम, निष्ठा र लगानीको म हृदय देखि प्रशंसा गर्दछ । अघिदेखि त्यहाँ प्रकाशित केही पत्रपत्रिकाहरू पढ्दैछु, पाएसम्म कृतिहरू पढ्दैछु । म तपाईंहरूले गरेको समस्त योगदानको यथासम्भव मूल्याङ्कन गर्न चाहन्छु । मेरो एउटा अनुरोध छ- आफ्ना संस्थागत र व्यक्तिगत कृतिहरू, प्रकाशनहरू मलाई पठाइदिनोस, यो इमेलमा सर्म्पर्क गरिदिनोस्- [email protected] म खासगरी बाहिरी मुलुकमा रहेर साहित्य सिर्जनामा लागि परेका नेपाली डायस्पोराप्रति धेरै आभारी छु- हामी सबै आभारी छौं । त्यहाँ पनि तपाईंहरूले हामीलाई बचाउने प्रयत्न गर्नु भएकोमा, चिनाउने प्रयत्न गर्नु भएकोमा, नेपाली साहित्यलाई उदार, फराक र विसाल बनाउने प्रयत्न गर्नुभएकोमा । हाल नयाँ कृतिको कुरा गर्ने हो भने म नियमित रूपले साहित्य समालोचना र उच्च शिक्षा विषयक निबन्धमा लागि परेको छ । अब म संग तीनवटा कृति प्रकाशनको प्रतीक्षामा छन्- एउटा हुनेछ १४ जना स्वर्गीय साहित्यकारको बारेमा, दोस्रो हुनेछ मैले २०५० सालभन्दा पहिले रचेका समीक्षात्मक एवं विविध प्रकृतिका रचना र तेस्रो हुनेछ युवा पुस्ताले नेपाली साहित्यमा रोजेको नया लेखन मार्गको अर्थात् उनीहरूका नवीनतम कृति विषयमा गरिएको प्रतिनिधि समालोचना । म खासगरी उत्तरआधुनिक चेतपट्टि फर्केको छु ।म नया लेखन चिन्तनपट्टि युवापुस्तापट्टि समर्पित छु। यो अवसर दिनुभएकोमा तपाईंहरूलाई अनेक धन्यवाद छ । म चाहन्छु मेरा कृति बाहिरका पाढकसमक्ष पनि पुगून् । २०६१ को विजयादशमीको यो पूर्वसन्ध्यामा तिहारको समेत शुभकामना चढाउँदछु ।