स्वास्थ्यको लागि जसरी दिनमा एक-दुई पटक मन खोलेर हाँस्दा फाइदा हुन्छ, त्यसरी नै कहिलेकाहीँ मन हल्कामात्रै होइन स्वास्थ्यलाई पनि फाइदा नै गर्छ । मनोचिकित्सकहरूको भनाइअनुसार कहिलेकाहीँ रुनाले कुनै प्रकारको हानि-नोक्सानी हुँदैन । रुनाले व्यक्ति तनावरहित एवं आफूलाई हल्का महसुस गर्दछ।

आँखाबाट झर्ने आँसु व्यक्ति मर्म र भावनालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो ।

जब कसैले हामीलाई आघात पुर्‍याउँछ वा हामी अत्यधिक दुःखी हुन्छौं, त्यसबखत हामी रुन्छौं । आखाँबाट आँसु झर्न थाल्छ । आँखाबाट झरेको आँसुले तनावमुक्त बताउँछ । मनोवैज्ञानिकहरू भन्छन्, ‘विपत्ति, दुःख र अत्यधिक तनावका स्थितिमा पनि यदि कुनै व्यक्तिको आँखाबाट आँसु आउँदैन अथवा रुँदैन भने सम्झिनुपर्छ ऊ अस्वस्थ्य छ । यदि कुनै महिलालाई विपत्को घडीमा पनि आँसु आउँदैन भने सम्झिनुस्, त्यो महिला भित्रबाट नै सुकेको रूखजस्तै हो । उसमा आँसुको अभावका कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, श्वेतप्रदर आदि हुन सक्छ ।’

भक्कानो छोडेर वा सुँक्क-सुँक्क गरेर रुनु शरीरका लागि स्वस्थ्यकर मानिन्छ । यस अवस्थामा व्यक्ति आफूलाई बालकजस्तो शारीरिक एवं मानसिक तनावप्रति खुला र खुकुलो छोडदिन्छ अनि रुन थाल्छ । जब मानसिक या शारीरिक दुःख, पीडासँग उसको साक्षात्कार हुन्छ, तब प्रतिक्रियास्वरूप हाम्रो शरीरको मांसपेशी संकुचित हुन थाल्छ । जुन शरीरको रक्षातन्त्र प्रक्रिया हो । जुन बेला हामी दुर्घटनाबाट गुज्रिरहेका हुन्छौं, त्यसबेला अत्यधिक पीडाले हामी आफूलाई सन्तुलन गर्न सक्दैनौं । शरीरले आफ्नो क्षमताको कारण अत्यधिक कठिन परिस्थितिमा पनि आफ्नो सन्तुलनलाई गुमाउँदैन, जब कठिन परिस्थिति जान्छ तब मांसपेशीहरूमा जम्मा भएर रहेको तनाव आँसुको रूपमा आँखाबाट निस्किन थाल्छन्।

अन्नपूर्णमा डा.ललितकुमार मिश्र लेख्छन्, एक स्वस्थ्य र सन्तुलित शरीर सहज तरिकाले दुःख, दर्द, पीडाबाट उत्पन्न शारीरिक तनावलाई आँसुद्वारा व्यक्त गर्ने बाटो बनाउँछ । सर्वेक्षणअनुसार महिला पुरुषको तुलनामा कम तनावग्रस्त हुन्छन् । उनीहरू भावनालाई सजिलैसित आँसुको माध्यमले व्यक्त गर्दछन् । यसै कारण होला पुरुषको अपेक्षा महिलामा हृदयरोग कमै हुन्छ । कुनै-कुनै परिवारमा वंशाणुगत रोग पाइन्छ । यसलाई फैमिलियल डिस्टोनिया भनिन्छ । यसमा जब बच्चा रुन्छ तर उसको आँखाबाट आँसु झर्दैन । आँखा सुक्खा रहन्छ । यस्ता बालबालिकाहरू क्रूर, झनक्क रिसाउने र आक्रामक प्रवृत्तिका हुन्छन् । यस्ता बालबालिकाको पूर्ण रूपले मानसिक विकास हुन पाउँदैन।

आँसुले दुःख, चिन्ता, तनाव, क्लेश तथा मानसिक पीडालाई फेस गर्नमा मद्दत गर्दछ । चिकित्सकको भनाइअनुसार रुनाले मानसिक तनावबाट मुक्ति मिल्नुका साथै उच्च रक्तचाप, फिस्टुला आदि रोगबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक तनावबाट उत्पन्न हुने रोगहरू हुने सम्भावना हुँदैन । रुने बेलामा आँखाबाट झरेको आँसुले आँखामा रहेको विजातीय द्रव्यलाई बाहिर निकाल्ने काम गर्छ । आँखालाई रसिलो पार्ने तथा संक्रमणबाट बचाउने गर्दछ । मेडिकल युनिभर्सिटी अफ औहियो (जापान) का शोधकर्ताले ‘आँसुबाट हुने फाइदा’ यस्ता फाइदा अध्ययनमा पाए । रिपोर्टमा भनेका छन्, ‘रोइ सकेपछि अधिकतर मानिसहरू आफूलाई हल्का र ताजा महसुस गर्दछन् । शोधमा ८८ दशमलव ८ प्रतिशत मानिसहरू रोएपछि हल्का महसुस गर्दछन् भने ८ दशमलव ४ प्रतिशत मानिसहरू मात्र रुँदा पनि दुःखी नै हुन्छन् ।

यदि तपाईं आफ्नो दुःखलाई भित्र गुम्स्याएर राख्नुहुन्छ भने कहिलेकाहीँ दिल खोलेर रुनबाट नचुक्नुस्। किन कि रुनाले मन हल्का त हुन्छ नै साथै स्वास्थ्यलाई यसले फाइदा नै पुर्‍याउँछ।

बढ्छ आँखाको ज्योतिः
आँखामा आँसु आउनाले आँखाको नानी र परेलीमा कचिलोपन बढ्छ । वैज्ञानिकहरूले यस कुरोलाई सिद्ध गरेका छन् कि रुनाले आँखाको सुन्दरता बढ्छ । यी वैज्ञनिकहरूको मतअनुसार आँखाको कोर्नियाको परत कन्जकटाइवालाई अश्रुगन्थीद्वारा निस्किने आँसुले ओसिलो बानाइदिन्छ । फलस्वरूप आँसुमा रहेक शारीरिक तत्ववहरूद्वारा सुन्दरता निखारेर ल्याउँछ । आँखाबाट आँसु निस्किने बेला हारडेरियन ग्रन्थीबाट एक प्रकारको तैलीय पदार्थ निस्किन्छ, जसको सहायताले कोर्निया ओसिलो र रसिलो हुन्छ । महिलामा पुरुषको अपेक्षा बढी आँसुको उत्पादन हुन्छ । यही कारण हो कि महिलाको आँखा बढी सुन्दर हुन्छन् । अत्यधिक कुनै पनि चिज राम्रो होइन, त्यसैले अत्यधिक रुनाले भने आँखाको दृष्टि गुम्न सक्ने सम्भावना पनि हुन्छ ।

ब्याक्टेरिया समाप्तः
आँसुमा यस्तो किसिमको एन्टिबायोटिक्स हुन्छ कि जसले कीटाणुबाट आँखाको रक्षा गर्दछ । आँसुमा एक प्रकारको लिसोजाइम नामक तरल पदार्थ हुन्छ, त्यसले पाँचदेखि १० मिनेटमा नै ९०-९५ प्रतिशत ब्याक्टेरिया नास गरिदिन्छ ।

शरीरबाट टक्सिन निकाल्दछः
धेरैजसो अनुसन्धानमा के देखिए भने जब हामी बढी दुःखी वा अवसादमा हुन्छौं, यसबेला शरीर भित्र केही टक्सिन केमिकल्स बन्न थाल्छ । ती विषाक्त तत्ववहरू रुदाँ आँसुको बाटो भएर शरीरबाट बाहिर निस्किन्छ ।

मुड ठीकः
कहिलेकाहीँ शरीरमा मेग्जिननामक तत्व बढी भएर हडबडाहट, हैरानी, थकान, अनाहकमा रिस उठ्नेजस्ता समस्या देखिन्छन् । यस अवस्थामा रुनाले शरीरमा म्यागजिनको स्तर कम हुन्छ । फलस्वरूप व्यक्ति आफूलाई हल्का र फ्रेस अनुभव गर्छ।

तनाव घट्छः
अत्यधिक तनावको अवस्थामा रुनाले केही मात्रामा राहत मिल्छ । रुने प्रक्रियाको दौरान शरीरमा एन्डोफ्रिन ल्युकामाइन, एन्काफालिन तथा प्रोलेक्टिननामक तत्ववहरूको स्तर कम हुन्छ । जसले तनाव कम हुन्छ।

तर अत्यधिक रुनाले उल्टो असर पनि हुन सक्छ । आँसुको रहस्यलाई अहिले पनि सुल्झाउन बाँकी छै छ । तर आँसु हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक छ भन्नेमा कुनै शंका छैन।



.















Comments

comments