न्युज अपडेटः हङकङमा टाईफून नं. १०, जनजीवन अस्तव्यस्त! फिलिपिन्समा १४ जनाको मृत्यु

न्युज अपडेटः हङकङमा टाईफून नं. १०, जनजीवन अस्तव्यस्त! फिलिपिन्समा १४ जनाको मृत्यु

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ १६ सेप्टेम्बर। हङकङमा आएको नम्बर १० को सामुद्रिक आँधीका कारण यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ। हङकङ वेधशाला / मौसम विभागले आइतवार विहान ७:४० मा ९ नम्बरको सामुद्रिक आँधी जारी गरेको २ घण्टाभित्रै ९:४० बजे सर्वाधिक उच्च १० नम्बर जारी गरिएको हो।

नम्बर १० को सामुद्रिक आँधीका कारण सबैजना घरभित्र थुनिएका छन्। सामुद्रिक आँधीका कारण स्टार फेरि सामुद्रिक बाटो, अधिकांश बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्। एमटिआरले रेल सेवामा कटौती गरेको छ। उसले भूमिगत रेल सेवामात्र सञ्चालनमा ल्याएको छ। यद्यपि यात्रुले कम्तीमा १० मिनेटसम्म रेल कुर्नु पर्ने भएको छ।

मौसम विभागले भिक्टोरिया हारबरको पानीको सतह आइतवार अपरान्ह कम्तीमा साढे ३ मीटरसम्म बढ्न सक्ने बताएको छ। ताई ओमा ४ मीटर र ताई पो काउमा साढे ४ मीटरसम्म पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन अपिल गरेको छ। बाढी प्रकोप बढ्ने क्षेत्रबाट स्थानीयलाई सुरक्षित सेल्टरतिर लैजाने व्यवस्था भइरहेको छ।

गत विहीबारदेखि हङकङले टाईफून नम्बर १,३, ८, ९ र १० हुंदै चरणबद्धरुपमा सामुद्रिक आँधी झेलिरहेको छ। आइतवार बिहानसम्म त्यति खतरा महसूस नगरेपनि अबको केही घण्टापछि हङकङले दशककै शक्तिशाली तथा ज्यानमारा सामुद्रिक आँधी सुपर टाइफून मंगखतको सामना गर्नुपर्ने छ।

यो ज्यानमारा आँधी सुपर टाइफून मंगखतले फिलिपिन्समा मात्र १४ जनाको ज्यान लिएको छ।

न्युज अपडेट: हङकङमा नम्बर ८ सिग्नलको सामुद्रिक आँधी !

हङकङ १६ सेप्टेम्बर। हङकङ वेधशाला / मौसम विभागले आइतवार बिहान १:१० बजे सामुद्रिक आँधी नम्बर ८ सिग्नल जारी गरेपछि हङकङमा सुपर टाइफून मंगखतको खतरा बढेको छ।

यो शक्तिशाली सामुद्रिक आँधी (सुपर टाइफून मंगखत)ले ताईवानमा एक र फिलिपिन्समा मात्र १२ जनाको ज्यान लिएको छ। यो आँधी फिलिपिन्सबाट पर्ल नदी डेल्टा हुंदै हङकङतर्फ बढेपछि हङकङमा समेत सुपर टाइफून मंगखतको खतरा पैदा भएको हो।

न्युज अपडेट: राति ११ बजेदेखि २ बजेभित्र नम्बर ८ सिग्नलको सामुद्रिक आँधी आउन सक्ने

हङकङ १५ सेप्टेम्बर। हङकङको वेधशाला / मौसम विभागले राति ११ बजेदेखि बिहान २ बजेभित्र नम्बर ८ सिग्नलको सामुद्रिक आँधी आउन सक्ने बताएको छ।

त्यसैगरी, विभागले आइतवार १० नम्बरको शक्तिशाली सामुद्रिक आँधी आउन सक्ने बताएको छ। विशेषज्ञहरु भन्छन् कि शक्तिशाली आँधीबेहरी (सुपर टाइफून मंगखत) हङकङमा दशकौं पछि आउन लागेको हो। यो शक्तिशाली तुफानले गम्भीर खतरा निम्त्याउन सक्ने बताइएको छ। सुपर टाइफूनका कारण फिलिपिन्समा २ र ताईवानमा एक जनाको मृत्यु भएको समाचार स्रोतहरुले जनाएका छन्।

न्युज अपडेटः हङकङमा टाइफून नं. ३ आइसक्यो, फिलिपिन्समा १२ जनाको मृत्यु

हङकङ १५ सेप्टेम्बर। हङकङको वेधशाला / मौसम विभागले अपरान्ह ४:२० बजे ३ नम्बर सिग्नल जारी गरेको छ। उसले आइतवार हङकङमा शक्तिशाली आँधीबेहरी (सुपर टाइफून मंगखत) आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। सुपर टाइफून मंगखतका कारण फिलिपिन्समा १२ जनाको मृत्यु भएको छ। यो अत्यन्तै शक्तिशाली र जोखिमपूर्ण हुने भन्दै हङकङ सरकारले सावधान रहन सबैलाई अपिल गरेको छ। त्यसैगरी, गृह मामिला विभागले सुरक्षाका लागि आपतकालीन सेल्टरहरु खुला गरिने यसअघि नै जनाइ सकेको छ।

हङकङमा शक्तिशाली आँधीबेहरी आउने, आकस्मिक आश्रय स्थल खोलिदै…

हङकङ १४ सेप्टेम्बर। फिलिपिन्सबाट हङकङतर्फ शक्तिशाली आँधीबेहरी (सुपर टाइफून मंगखत) बढिरहेकोले सामुद्रिक आँधी सिग्नल नम्बर ३ जारी भएपछि सरकारले ४८ वटा आकस्मिक आश्रय स्थल खोल्ने तयारी गरेको छ।

हङकङ वेधशाला / मौसम विभागका अनुसार शुक्रवार राति सिग्नल नं. १ जारी हुनेछ। आइतवारसम्म शक्तिशाली आँधीबेहरी (सुपर टाइफून मंगखत) हङकङ नजिक आउन सक्ने अनुमान गरिएको छ।

गृह मामिला विभागअनुसार ३ नम्बर सिग्नल बलियो भएपछि आकस्मिक आश्रय स्थलहरु खुला हुनेछन्। आवश्यक सोधपुछको लागि टेलिफोन नम्बर 2835 1473 मा सम्पर्क गर्न सकिने छ।

जिल्लाका कार्यालयहरूले सम्भावित बाढी प्रकोप क्षेत्रका निवासीहरुलाई सुरक्षित स्थानमा लानको लागि संगठन तथा जनप्रतिनिधिहरुलाई सम्पर्क गरेका छन्। त्यस्तै ताई ओबासीहरुलाई आश्रय स्थलमा लैजान बसको व्यवस्था गरिसकेको छ।

त्यसैगरी, विभागले प्रोपर्टी म्यानेजमेन्ट संघहरुलाई जनधनको सुरक्षामा सावधान रहन पत्राचार गरिसकेको छ।

शक्तिशाली आँधीबेहरी आउने हल्लाले सागसब्जी तथा खाद्यान्न बिक्रेताहरुले अनवाश्यकरुपमा मूल्य बढाउन थालेका छन्। कतै सब्जि, अण्डा र माछाको मूल्य डबल त कतै ट्रिपलसम्म पुगेको बताइन्छ।

पूर्वानुमानकर्ता भन्छन्, सुपर टाइफून मंगखत नामक सामुद्रिक आँधी यो सालको सबैभन्दा शक्तिशाली हो। यसको डायमिटर ८०० किमी र गति २०९ किमी प्रतिघण्टासम्म पुग्न सक्ने छ।

गत हप्ता जापानमा आएको आँधीबेहरीले ११ जनाको ज्यान लिएको थियो। जसले करोडौंको धन सम्पतिको क्षतिसमेत पुर्याएको थियो।

२ वर्षअघि हङकङमा आएको टाईफून नं. ८ भिडियो झलकः





Comments

comments

Leave a Reply

24831