५ वर्षसम्मै यही सरकार, त्यसपछि त झनै बलियो

प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने दाबी गरेका छन् ।

राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भने, ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो ।

बजेट नै राम्ररी निकासा हुन पाएको छैन । अहिल्यै त्यो भएन र यो भएन भन्ने ?’ प्रतिनिधिसभामा आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपालले गरेको विरोधप्रति ओलीले ‘कवितात्मक रूपमा केही भनिएको तर आफूले पूरै सुन्न नपाएको’ प्रतिक्रिया दिए ।

‘मान्छे–मान्छेबीच कहिलेकाहीँ के चित्त बुझेको हुँदैन, कवि मनले कविता भनिहाल्यो भने पनि त्यसैकै पछि कुद्नु पर्दैन,’ ओलीले भने, ‘हावा चल्यो, पात बह्यो, त्यसकै पछाडि राजनीति कुद्ने होइन।’

मुलुक पछिल्लो ७ महिनामा मात्रै गरिब नभएको तर्क गर्दै उनले भने, ‘बाटाघाटा यही ७ महिनामा नबनेका हुन् ? पहिले त पिच नै पिच थिए जसरी आलोचना भइरहेको छ।’

नेता नेपालले गतसाता प्रतिनिधिसभा बैठकमा सरकारको काम देख्दा दिक्क लाग्न थालेको र देशै डुब्न लागेको धारणा राखेका थिए । उनले माधव नेपालसँगको ०२९ सालदेखिको आफ्नो सम्बन्ध अहिले पनि घनिष्ठ रहेको बताए।

सरकारले एउटा पनि नराम्रो काम नगरेको दाबी गर्दै उनले भने, ‘यसबीचमा सरकारले देशभित्र र बाहिर नराम्रो काम एउटा पनि गरेको छैन, राम्रो काम गरेको छ, गर्ने कोसिस गरिरहेको छ ।’ प्रधानमन्त्रीले कानुनहरू निर्माण भएको र विकासका काम पनि अघि बढिरहेको दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25162