सिंगापुरका पानीजहाजमा जागिर दिने भन्दै ३ सय युवाबाट ६ करोड ठगी

सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन्।

नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको हो।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले तीन सय युवाबाट पौडेलले पाँच लाखसम्म रकम उठाएको बताए। ‘पानीजहाजमा क्रु मेम्बरको जागिर लगाइदिने भनेर तीन सय युवाबाट करिब ६ करोड उठाएको प्रारम्भिक अनुसन्धानबाट देखियो । बाँकी तथ्य अनुसन्धानबाट सार्वजनिक हुँदै जानेछ,’ एसएसपी थापाले भने।

प्रहरीका अनुसार उनले युवा संकलन गर्न विशालनगरमा चार वर्षदेखि अप्रेन्टिस फर्म प्रालि खोलेका थिए । प्रतिमहिना ६ सय ५० डलर तलब दिने काममा पठाउने र त्यसका लागि जहाजमै तालिम लिनुपर्ने भन्दै अग्रिम दुई लाख लिन्थे । भारतीय जहाजका क्रु मेम्बरलाई तालिम दिने कम्पनीसँग सम्झौता समेत गरेका थिए । सिंगापुर जान तयार भएका युवालाई उनी त्यहीँ लैजान्थे । यसरी ठगिएका ५८ जना सम्पर्कमा आइसकेको अनुसन्धानमा खटिएका महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

30009