धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य जगदीश खरेलले जनताको समस्या, अपेक्षा र जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्ष रूपमा बुझ्न पार्टीले ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गरेको बताएका छन्।
रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजनीतिक प्रवृत्तिको अन्त्य गर्दै नागरिकसँग नियमित संवाद गर्न अभियान सुरु गरिएको बताए। “सिंहदरबार र जनताको घरबीचको दूरी बढ्दा जनताको सुखदुःख बुझ्न सकिँदैन”, उनले भने, “त्यसैले जनताको घरदैलोमै पुगेर उहाँहरूको समस्या, चाहना र अपेक्षा बुझ्न हामी आएका हौँ।”
प्रवक्ता खरेलले अभियानका क्रममा वडा तहसम्मका पार्टी नेता तथा कार्यकर्तासँग छलफल गरी प्राप्त सुझावलाई पार्टीको नीति निर्माण र सङ्गठनात्मक सुधारमा उपयोग गरिने बताउनुभयो । प्रतिनिधिसभा सदस्य एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित नभई देशभरका नागरिकका सवाल उठाउन जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
धादिङ आउने क्रममा बाढीबाट क्षतिग्रस्त सडक र पुलको अवस्था प्रत्यक्ष देखेको उल्लेख गर्दै उनले क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनःनिर्माण आवश्यक रहेको बताए। भोटेकोशी बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे।
जगदीश खरेल


