जलवायु न्यायको माग गर्दै आन्ताल्यामा नेपालीको प्रदर्शन

–

काठमाडौँ । गत कात्तिक २३ गतेदेखि जारी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३१) मा जलवायु न्यायका लागि नेपालीहरुले टर्किएको अन्ताल्यामा प्रदर्शन गरेका छन्।

सम्मेलनमा भाग लिन पुगेका नेपालीहरुले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको नेपालले अन्तरराष्ट्रिय समुदायबाट सहानुभूति होइन, न्याय पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका हुन्।

रसुवा भोटेकोशी बाढीका पीडित सम्झँदै नेपाली सहभागीहरुले जलवायु न्यायको माग गरेका हुन् । प्रदर्शनस्थलमा चारवटा शवका नमूना राखिएको जनाइएको छ। आफन्त बाढीमा बेपत्ता भएपछि शवसमेत फेला नपरेको पीडालाई ती नमूनामार्फत प्रस्तुत गरिएको थियो।

शवको नमूनामार्फत बाढी र जलवायुजन्य विपद्ले निम्त्याउने मानवीय क्षति, परिवारले भोग्नुपर्ने पीडा र बेपत्ता आफन्तको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्थालाई प्रदर्शन गरिएको थियो।

जलवायु सङ्कटका लागि जिम्मेवार प्रदूषणकारी राष्ट्र तथा पक्षहरूले क्षतिपूर्ति दिनुपर्ने मागसहित आयोजित प्रदर्शनमा विभिन्न मुलुकका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाएका थिए।

प्रदर्शनमा ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’, ‘ऋण होइन, क्षतिपूर्ति चाहिन्छ’लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनमा विभिन्न देशका वक्ताहरूले पनि नेपालको जलवायु न्यायसम्बन्धी मागप्रति ऐक्यबद्धता जनाएका थिए।

उनीहरूले जलवायु परिवर्तनबाट जोखिममा रहेका समुदाय र देशका आवाजलाई अन्तरराष्ट्रिय जलवायु वार्तामा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

नेपाली वक्ताहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई ऋण दिएर थप आर्थिक भार बोकाउनुको सट्टा प्रदूषणका लागि जिम्मेवार पक्षले क्षतिपूर्ति दिनुपर्ने बताएका थिए। रासस





Comments

comments

142388