युक्रेनको ओडेसामा रुसी आक्रमण, चार जनाको मृत्यु

–

युक्रेनको दक्षिणी सहर ओडेसाको ऐतिहासिक केन्द्रमा बुधबार रुसले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ओडेसाको ऐतिहासिक केन्द्रमा रुसी सेनाले तीन पटक हवाई हमला गरेको क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममार्फत जानकारी दिएका छन्।

उहाँका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ।

युद्ध सुरु भएयता रुसी सेनाले यहाँका बन्दरगाह पूर्वाधार र मालवाहक पानीजहाजलाई लक्षित गरी निरन्तर आक्रमण गर्दै आएको छ।

रुसले युक्रेनको समुद्री मार्गबाट हुने कृषि उत्पादन निर्यातलाई कमजोर बनाउने उद्देश्यले दक्षिणी बन्दरगाहमा आक्रमण गर्दै आएको बताइएको छ।

यसैबीच, युक्रेनले पनि रुसी आक्रमणको जवाफमा प्रत्याक्रमण तीव्र बनाएको छ । पछिल्लो समय युक्रेनी आक्रमणबाट रुसलाई क्रिमिया प्रायद्वीपसँग जोड्ने महत्वपूर्ण पुलमा क्षति पुगेको थियो।

युक्रेनका रक्षामन्त्री येभगेनी खमाराले रुसी आक्रमणको जवाफ दस गुणा शक्तिशाली हुने चेतावनी दिएका छन्। रासस





Comments

comments

142391