झापामा एकचालिस वर्षपछि ऐतिहासिक कोटी हवन महायज्ञ

–

झापा । शिवसताक्षी नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल सताक्षीधाममा आगामी २०८३ माघ ९ गतेदेखि ‘शतकुण्डीय गायत्री कोटी हवन महायज्ञ’ आयोजना हुने भएको छ।

वैदिक सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गोलोक गोवर्धन गौशालाको आयोजनामा यो बृहत् धार्मिक अनुष्ठान सञ्चालन हुन लागेको हो।

झापाको धार्मिक इतिहासमा झन्डै चार दशकपछि यो दुर्लभ महायज्ञ हुन लागेको आयोजकले जनाएका छन् । यसअघि विसं २०४२ मा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाकै पवित्र कनकाई धाममा एक करोड गायत्री मन्त्रद्वारा हवन गरी कोटी हवन महायज्ञ सम्पन्न गरिएको थियो।

करिब ४१ वर्षको लामो अन्तरालपछि झापाको भूमिमा पुनः कोटी हवन हुन लागेकाले यसलाई पूर्वी नेपालकै एक ऐतिहासिक आध्यात्मिक उत्सवका रूपमा हेरिएको छ।

महायज्ञको पूर्वतयारीस्वरूप यही मङ्सिर ५ गते विशेष धार्मिक अनुष्ठानका साथ भूमिपूजन गर्ने कार्यक्रम तय भएको छ । गोलोक गोवर्धन गौशालाका संरक्षक एवम् अध्यक्ष आचार्य नन्दकिशोरजी भारद्वाजका अनुसार महायज्ञको मुख्य हवन कुण्ड निर्माणका लागि शनिबार ‘सुनको हलो’ ले भूमि खनी वैदिक विधिअनुसार भूमिपूजन गरिनेछ।

भूमिपूजन समारोहमा नेपालसहित भारत, भूटान, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकबाट आएका विशिष्ट सन्त, महात्मा तथा धार्मिक गुरुको उपस्थिति रहनेछ।

महाभारतकाल र पौराणिक कथासँग जोडिएको शिवसताक्षीधाम पूर्वी नेपालको एक प्रमुख आस्थाको केन्द्र मानिन्छ । महाभारतकालमा पाण्डवले गुप्तवासका क्रममा यस क्षेत्रमा विचरण गरेको तथा सतीदेवीको अङ्ग पतन भई सताक्षी देवीको उत्पत्ति भएको धार्मिक किंवदन्ती रहेकाले यस धामको विशिष्ट आध्यात्मिक महत्व छ।

चुरे पहाडको फेदीमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण यस धाममा २०७२ सालमा गोलोक गोवर्धन गौशाला स्थापना भएपछि धार्मिक पर्यटनको गतिविधि फस्टाएको छ । स्थापनाकालदेखि नै गौ संरक्षण र सनातन संस्कृतिको जगेर्नामा सक्रिय यस गौशालामा हाल दुई हजार ५०० गाईको संरक्षण भइरहेको छ।

गौशालाको सक्रियतासँगै धामसम्म पुग्नका लागि सुविधासम्पन्न कालोपत्रे सडक निर्माण भएको छ । धाम परिसरमा दर्जनौँ मठमन्दिर, देवालय, अतिथिगृह, सुविधासम्पन्न गौशाला, रामदरबार तथा द्वादश ज्योतिर्लिङ्गलगायतका आकर्षक धार्मिक संरचना निर्माण भएका छन्।

यहाँ सञ्चालन हुने शतकुण्डीय गायत्री कोटी हवन महायज्ञले शिवसताक्षीधामको धार्मिक तथा पर्यटकीय गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाउने विश्वास लिइएको छ।

विश्व शान्ति, प्राणी कल्याण र वैदिक परम्पराको जगेर्नामा टेवा पु¥याउने यस महायज्ञले स्वदेश तथा विदेशका लाखौँ श्रद्धालु भक्तजनलाई एउटै आध्यात्मिक सूत्रमा जोड्ने आयोजक संस्थाका अध्यक्ष आचार्य भारद्वाजले जानकारी दिए। रासस





Comments

comments

142397