हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा

–

पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ।

विद्यार्थी नेतृत्वको विद्रोहबाट १५ वर्षे शासन अन्त्य भएपछि सन् २०२४ अगस्टमा भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन् । प्रदर्शनकारीमाथि भएको घातक दमनसम्बन्धी मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उहाँलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।

हसिनाको सम्भावित फिर्तीलाई लिएर पछिल्ला दिनमा हिंसात्मक घटना बढेका छन् । प्रतिबन्धित अवस्थामा रहेको उहाँको दल अवामी लिगले बिहीबार राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वान गरेको थियो । सीमा सुरक्षा बल बङ्गलादेशले हसिनाको गृहनगर गोपालगञ्जसहित सात जिल्लामा सुरक्षाकर्मी खटाएको छ।

पार्टीको घरभित्रै बस्नुपर्ने आह्वानका बाबजुद समर्थकहरूले ढाकालाई गोपालगञ्जसँग जोड्ने राजमार्गका विभिन्न स्थानमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । ती क्षेत्रमा आगजनी तथा हिंसाका घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यसैबीच, प्रधानमन्त्री तारिक रहमानले राजनीतिक विरोधीहरूले देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाउँदै लोकतन्त्र समर्थक शक्तिहरूलाई एकजुट हुन आग्रह गरेका छन् । प्रहरीले अवामी लिगसँग सम्बन्धित १०७ जनालाई बुधबारदेखि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन्।

हसिनाले पछिल्ला सातामा समर्थकहरूलाई सम्बोधन गर्दै डिसेम्बरमा स्वदेश फर्कने प्रतिबद्धता दोहोर्‍याएकी छन् । उनको घोषणासँगै बङ्गलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ। रासस





Comments

comments

142406