एनआरएनएद्वारा काठमाडौंमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गरिने

–

एचकेनेपाल डट कम –
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी २०८३ पुस २० गते (४ जनवरी २०२७) काठमाडौंमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ।

नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न हुने उक्त सम्मेलनको मूल नारा ‘महिला सशक्तिकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ तय गरिएको छ।

सन् २००३ मा स्थापना भएको संघको दुई दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता र आर्थिक सशक्तिकरणलाई मुख्य केन्द्रबिन्दु बनाएर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलो पटक हो । विश्वका ९० देशमा छरिएर रहेका गैरआवासीय नेपाली महिला र स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूलाई एउटै मञ्चमा जोड्दै अनुभव, ज्ञान र सीप आदानप्रदान गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ।

सम्मेलनमा महिला सशक्तिकरणसँग प्रत्यक्ष सरोकार राख्ने चारवटा प्रमुख विषयगत क्षेत्रमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुति तथा बृहत् अन्तरक्रिया गरिनेछ । यसअन्तर्गत महिला सशक्तिकरणसम्बन्धी विद्यमान ऐन, नीति तथा संस्थागत संरचनाको समीक्षा गर्दै डायस्पोरा समुदायका महिलाका अधिकार, अवसर र आवश्यक कानुनी सुधारका विषयमा छलफल गरिनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा, अधिकार, मानसिक स्वास्थ्य र स्वदेश फर्किएपछिको सम्मानजनक पुनःएकीकरणमा संघको भूमिकाबारे विमर्श हुनेछ।

–

यसैगरी, स्वदेश र विदेशका महिला उद्यमीबीच व्यवसायिक सहकार्य विस्तार, वित्तीय स्रोत तथा प्रविधिमा पहुँच अभिवृद्धि र नेपाली मौलिक उत्पादनको अन्तर्राष्ट्रिय निर्यातमा महिला सहभागिता बढाउनेबारे छलफल गरिनेछ । साथै, रसुवा–भोटेकोशी बाढीलगायतका प्राकृतिक विपद् तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेका प्रभाव, जलवायु न्याय, विपद् व्यवस्थापन र लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्धको संरक्षणका विषयलाई पनि प्राथमिकताका साथ उठाइनेछ।

महिला सशक्तिकरणबिना राष्ट्रको दिगो र समावेशी समृद्धि सम्भव नहुने मान्यतासहित आयोजना हुन लागेको यस सम्मेलनले स्वदेश तथा विदेशमा सफल नेपाली महिलाका प्रेरणादायी कथालाई उजागर गर्ने अपेक्षा गरिएको छ । साथै, नेपालका सातै प्रदेश र स्थानीय तहका महिला उद्यमीलाई पुँजी, सीप, प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण सेतुका रूपमा सम्मेलनले काम गर्ने विश्वास संघले लिएको छ।

सम्मेलनलाई सफल बनाउन नेपाल सरकारका सम्बन्धित निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, महिला उद्यमी, विज्ञ एवं सञ्चारकर्मीलगायत सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय सहभागिता र सहकार्यका लागि संघले अनुरोध गरेको छ।





Comments

comments

142410