केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ : अध्यक्ष याङ्ग वानमिङ्ग

–

भक्तपुर । छिमेकी मित्रराष्ट्र चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको बताएका छन्।

भक्तपुरमा नगरपालिकामा नगर प्रमुख सुनिल प्रजापतिसँग आज भएको मैत्रीपूर्ण भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग र समर्थन गर्दै आएको र विपद्को सवालमा पनि थप सहयोग गर्ने अध्यक्ष वानमिङ्गले बताए।

तीनदिने नेपाल भ्रमणका क्रममा भक्तपुर आएका सङ्घका अध्यक्ष वानमिङ्ग सहितको प्रतिनिधिमण्डलले नगरप्रमुख प्रजापतिसँग छलफलमा कठिन परिस्थितिमा पनि दुवै देश एकअर्काको साथमा उभिँदै आएको भन्दै भूकम्प, कोरोना महामारी तथा भोटेकोशी बाढीजस्ता विपद्का समयमा दुवै देशले एकअर्कालाई सहयोग गरेको बताए।

उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबिच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गर्दै उनले त्यसयता दुवै देशका नेतृत्वबीच आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदान प्रदानका क्षेत्रमा व्यापक छलफल र सहकार्य हुँदै आएको बताए।

भेटमा नगरप्रमुख प्रजापतिले नेपाल र चीनबिचको सम्बन्ध इतिहासदेखि नै घनिष्ठ र मित्रवत् रहँदै आएको उल्लेख गर्दै सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह तथा तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत र पेइचिङमा निर्माण गरेका कलाकृतिहरूले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक मित्रतालाई प्रस्ट पारेको बताए।

सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएपछि चीनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै सडक पूर्वाधार निर्माण, विभिन्न उद्योगधन्दाको स्थापना तथा ट्रलीबस सञ्चालनलगायत क्षेत्रमा चीनले गरेको सहयोग नेपालको विकास यात्रामा महत्वपूर्ण रहेको उनले बताए । चिनियाँ टोलीले भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा सम्पदास्थलहरू दरबार क्षेत्र, टौमढी र तालाक्वको अवलोकन भ्रमण गरेको थियो।

भ्रमण टोलीमा चिनियाँ दूतावासको तर्फबाट मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका उपमहासचिव ची योङ्गच्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङ्ग र उपनिर्देशक आइ लिन, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्षका सचिव चङ्ग छन, कर्मचारी होउ मङ्गवेइ, कोङ स्यु, चउ थाओलगायतको सहभागिता रहेको थियो। रासस





Comments

comments

142413