बेलायतमा यसरी मनाइयो भानु जयन्ती

कोमल मल्ल –

लण्डन, ८ जुलाई। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २०६औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धकरूपमा मनाइएको छ।

वयस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा आयोजित समारोहलाई संवोधन गर्नुहँदै प्रमुख अतिथि नेपाली राजदूतावासका द्वितीय सचिव तथा कवि लव सुवेदीले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुभयो। नेपाली भाषा साहित्यको विकासमा नेपाली साहित्य विकास परिषदको विशिष्ट योगदान र इतिहास रहेको चर्चा गर्नुहँदै प्रमुख अतिथि सुवेदीले आफ्नो पनि यस परिषदमा पुरानो संलग्नता रहेको स्मरण गराउनु भयो।

आदि कवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्नुहुँदै परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहले त्यसवेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए त्यो आफैमा एक साहसिक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पु-याएको चर्चा गर्नु भयो।

सभापतिको आसनबाट वोल्नुहुदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुहँदै नेपाली पहिचान युगयुगसम्म जीवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति जस्ता चिनारीहरू जोगाउदै लैजानु पर्ने औचित्य तर्फ प्रकाश पार्नुभयो।

यसअघि स्वागत भाषण गर्नुहुदै परिषद्का सहअध्यक्ष कवि रेशम अर्यालले बेलायतमा साहित्यिक माहोलको सुरूवात गरेर नेपाली साहित्य विकास परिषदले एउटा संवेदनशील अगुवाइ गरेको इतिहास चर्चा गर्नु भयो । कार्यक्रम सञ्चालन गर्नुहँदै परिषद्का महासचिव कवि वीरेन्द्र कुँवरले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो।

राष्ट्रिय गान र आदि कविको तस्बिरमा माल्यार्पणबाट आरम्भ गरिएको समारोहमा परिषदका पूर्वअध्यक्ष वरिष्ठ कवि हरिसिँह थापाद्वारा भानुभक्तीय रामायणका श्लोक वाचन गरिएको थियो भने परिषदका कोषाध्यक्ष कवि तथा कलाकार मनोज अन्जानको सारङ्गीको धुन र उपाध्यक्ष कवि तथा कलाकार वसन्त रायक्षेत्रीको मादलको साथमा लोक धुनहरू प्रस्तुत गरिएको थियो भने कवि हरिसिँह थापा र कवि रेशम अर्यालद्वारा लयवद्ध कविताहरू गायन गरिएको थियो । साहित्य र संगितको समिश्रण रहेको उक्त समारोहमा सहभागीहरू मन्त्रमुग्द भएका थिए।

दोस्रो चरणको कविता वाचन कार्यक्रममा वेलायतका विभिन्न भागहरूबाट आएका ११ जना कविहरूले आआफ्ना रचनाहरू वाचन गरेका थिए। यसरी वाचन गर्ने कविहरूमा वसन्त रायक्षेत्री, घनबहादुर थापामगर, मनोज अन्जान, रेशम अर्याल, जीत छत्याल बुढाथोकी, विजय हितान, वीरेन्द्र कुँवर, मदन थापा, हरिसिँह थापा, कोमल मल्ल र सुरेश जंग शाह हुनुहुन्थ्यो।

परिषदका अध्यक्ष कोमल मल्लको सभापतित्व, सहअध्यक्ष रेशम अर्यालको स्वागत मन्तव्य र महासचिव वीरेन्द्र कुँवरको संचालनमा सम्पन्न भएको समारोहमा रमाइलो जलपान तथा धन्यवाद ज्ञापन गरिएको थियो। समारोहलाई सफल बनाउन आर्थिक भौतिक सहयोग पुराउनुहुनेहरूमा परिषद्का कोषाध्यक्ष मनोज अन्जान, कार्यकारिणी सदस्य डम्वर सिँह प्रयास र ए बि आइ कलेजका प्रोप्राइर डाइरेक्टर कृष्ण भट्ट हुनुहुन्थ्यो।





Comments

comments

30403