झापाका शरणार्थी प्याकुरेल अमेरिकाको नगर-परिषद सदस्यमा निर्वाचित

भुवन प्याकुरेल

विजय थापा –

भुटानमा जन्म भै हाल अमेरिकाको ओहायोमा बस्दै आएका होनहार युवा भुवन प्याकुरेलले इतिहास रच्दै ओहायोको रेनोल्ड्सबर्ग शहरका लागि नगर-परिषद सदस्यमा निर्वाचित भएका छन्।

नोभेम्बर ५ तारिख मंगलबारका दिन सम्पन्न निर्वाचनमा प्याकुरेल बिजयी भएका हुन्।

उनी उक्त शहर वडा ३ का लागि सिटी काउन्सिल ( नगर-परिषद सदस्य )भएका हुन्। प्याकुरेल यसरी निर्वाचनमा उम्मेदवार बनि निर्वाचनमा बिजयी हुने पहिलो भुटानी -अमेरिकन भएका छन्। उनी बिजयी भएपछि उनलाई ईष्टमित्र, साथीभाइ तथा शुभचिन्तकहरुले बधाई दिनेको ओहिरो लागेको छ।

रेनोल्ड्सबर्ग नगर परिषदको निर्वाचनमा १ हजार ३ सय ५२ मत ल्याई उनी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी रिपब्लिकनका उम्मेदवार मार्सल स्पल्डिंगले ९ सय ९० मत प्राप्त गरेका थिए। उनी ९ बर्षको हुंदा परिवारसाथ भुटानबाट लखेटिएर नेपालको पूर्वीय क्षेत्र झापा आएका थिए। उनि १८ बर्षसम्म नेपालका विभिन्न शरणार्थी शिबिरमा रहेका थिए।

अमेरिका आएपछि उनी समाजसेवामा केही योगदान गर्ने ईच्छा भएकोले नगर परिषदको उम्मेदवारी दिए र बिजयी भए । नगर परिषद सदस्यमा बिजयी हुने उनी पहिलो भुटानी-अमेरिकन हुने सौभाग्य प्राप्त गरेका छन्।

फोटोः भुवन प्याकुरेल फेसबुक

प्याकुरेल सन् २००९ मा अमेरिकाको कोलोराडो आएका थिए भने पछि उनी ओहायोमा परिवारसाथ बसाई सराई गरेका थिए। सन् २०१६ मा अमेरिकन नागरिकता लिएका हुन्।

उनलाई बिजयी गराउन मेरिल्याण्ड डेमोक्रेटिक पार्टी एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी)बाल्टिमोर काउन्टीका सभापति डा श्याम कार्कीलगायत डेमोक्रेटिक दलका अधिकारी तथा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी) ककस प्रमुखले स्वयंसेवक तथा चुनावी रणनीतिमा सहयोग गरेका थिए।

डा. कार्की प्याकुरेललाई सहयोग गर्न ओहायो पुगेका थिए भने डा. कार्कीले आगामी सन् २०२० मा हुने निर्वाचनको लागी ४-५ जना नेपाली अमेरिकन तयार गर्ने हेतुले काम गर्न सुरु गरेका बताए। डा कार्कीले ह्यारी भण्डारीको निर्वाचनमा पनि ठूलो भूमिका निर्वाह गरेका थिए।

स्मरण रहोस् अमेरिकाको मूलधारको राजनीतिमा मेरिल्याण्ड राज्यको इन्डियन हेड नगरपालिकाको उपप्रमुखमा बिजयी भै पहिलो इतिहास रच्ने किरण सिटौला हुन् भने भुटानी समुदायको तर्फबाट भुवन प्याकुरेलले पहिलो खाता खोलेका छन्।

यसै गरी, अमेरिकाको इतिहासमा मेरिल्याण्ड बिधान सभाका लागि बिधान सभा सदस्य(सांसद)मा निर्वाचित भएर इतिहास रच्ने ह्यारी भण्डारी पहिलो नेपाली हुन्। यसै गरी भर्जिनियाको हे मार्केट (शहर) मा नगर परिषद सदस्यमा निर्वाचित मधु पन्थी तथा भर्जिनिया कै हर्नडन शहरमा नगर परिसद सदस्यमा बिजयी हुने प्रदिप ढकाल हुन्।

हालसम्म नेपाली मूलका नवनिर्वाचित प्याकुरेललाई समेत जोड्दा अमेरिकामा सार्वजनिक पदमा निर्वाचनमा होमिएर बिजयी हुने ५ जना भएका छन्। जसमा ३ जना नगर परिषद सदस्य बिजयी भएका छन्।

तस्बिर: भुवन प्याकुरेल फेसबुक





Comments

comments

32583