नेकपामा कडा शक्ति–संघर्ष

काठमाडौं – सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे।

राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत ओलीलाई जसरी पनि राजीनामा गराउने गृहकार्यमा उसरी जुटे।

फाइल फोटो

प्रधानमन्त्री ओलीले बालुवाटारमा बाक्लो भेटघाट गरिरहँदा दाहाल–नेपाल पक्ष ललितपुरको झम्सिखेलस्थित अँगेनो रेस्टुरेन्टमा जुटेको थियो। त्यहाँ उनीहरूले बहुमत स्थायी समिति सदस्यहरू बोलाएर ओलीलाई सकभर सहमतिका आधारमा दुवै पदबाट राजीनामा गराउने तय गरे। ओली सहमतिमा आउन नचाहे बहुमत, अल्पमतकै निर्णयका आधारमा भए पनि हटाउने निर्णय लिने निष्कर्ष निकालेका थिए।

दाहाल–नेपाल पक्षले दबाब बढाएर पद छाड्न लगाउन खोजे पनि प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने रणनीति बनाएका छन्। ओलीले बिहान बालुवाटारमा आफूनिकट स्थायी समिति सदस्यसहित दाहाल र नेपाल पक्षका केही नेतालाई बोलाएर छलफल गरेका थिए। साँझ दाहाल–नेपाल पक्ष झम्सिखेलमा जुटेको खबर पाएपछि बालुवाटारमा पनि ओली पक्षका नेताले गहन छलफल चलाए।

ओली पक्षले पार्टी नेताहरूले भन्दैमा प्रधानमन्त्री र अध्यक्ष दुवै पद दबाबकै भरमा नछोड्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री संसदीय दलले चयन गरेको र दुई पार्टी एकताका क्रममा दुई अध्यक्ष विधानमा व्यवस्था गरेर जाने गरी भएको भन्दै दबाब दिँदैमा अहिले दुवै पद छोड्न नसकिने निष्कर्षमा ओली पक्ष देखिएको हो। यसका लागि दाहाल–नेपाल पक्षमा रहेका मध्यमार्गी धारका स्थायी समिति सदस्यहरूसँग पनि ओली पक्षले बाक्लो छलफल गरेको छ।

ओलीले बुधबार दाहाल र नेपालनिकट नेताहरूलाई पनि आफूनिकट नैताहरूसँगै राखेर छलफल गरेका थिए। ओलीसँगको छलफलका लागि नेपालनिकट मानिएका मन्त्रीहरू योगेश भट्टराई, घनश्याम भुसाल, दाहालनिकट मानिएका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा पुगेका थिए। पूर्वमाओवादी धारकै नेताहरू गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट पनि बालुवाटार गएका थिए।

छलफलमा नेताहरूले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवाद तन्काउनेभन्दा पनि समाधानका लागि उपयुक्त विकल्प पहिचान गरेर अगाडि बढ्न सुझाव दिएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।





Comments

comments

37439