काठमाडौं, २७ भदौ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा सम्पन्न एसीसी प्रिमियर कप २०२६ को उपाधि जितेको छ।
मलेसियाको बायुमास ओभल मैदानमा भएको रोमान्चक फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले स्तब्ध पार्दै नेपाल च्याम्पियन बनेको हो।
यो ऐतिहासिक जितसँगै नेपाल आगामी एसिया कप २०२७ का लागि समेत छनोट हुन सफल भएको छ।
सन् २०२३ मा घरेलु मैदान कीर्तिपुरमा यूएईलाई नै हराएर पहिलो संस्करणको उपाधि चुमेको नेपालले यसपटक विदेशी भूमिमा पनि सोही सफलता दोहोर्याउँदै आफूलाई एसीसी प्रिमियर कपको बलियो बादशाह प्रमाणित गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले फाइनलको दबाबलाई चिर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले उत्कृष्ट शतकीय इनिङ्स खेल्दै १०२ रनको योगदान दिए भने मध्यक्रमका ब्याटर गुल्सन झाले ५२ रनको आक्रामक अर्धशतक बनाए।
युवा ब्याटर अर्जुन कुमालले ४३ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। यूएईका बलरहरू नेपाली ब्याटिङ लाइनअपसामु निरिह बनेपछि नेपालले फाइनल खेलमा विशाल स्कोर खडा गरेर जितको बलियो आधार तयार पारेको थियो।
३१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै मैदान उत्रिएको यूएईको टोली ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो।
यूएईका लागि राहुल चोपडाले १०० रनको शतकीय इनिङ्स खेल्दै टिमलाई जित दिलाउने प्रयास गरे पनि अन्य ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्।
नेपालका तीव्र गतिका बलर करन केसीले घातक बलिङ गर्दै महत्वपूर्ण ३ विकेट लिएर यूएईको मध्यक्रम ध्वस्त पारेका थिए। स्पिनर ललित राजवंशीले २ विकेट लिएर रन गतिमा अंकुश लगाएपछि यूएई उपविजेतामा सिमित भयो।
यो जितसँगै नेपाली टोलीले एसियाका टेस्ट राष्ट्रहरूसँग खेल्ने बाटो तय गर्दै विश्व क्रिकेटमा आफ्नो बलियो उपस्थिति पुनः दर्ता गराएको छ।


