दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: नेकपा संकटमा ‘आइसब्रेक’?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो।

फाइल तस्वीर

ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ।

‘हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने निर्णय भएको छ,’ नेकपा स्रोतले भन्यो।

बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः ‘वान टु वान’ छलफल हुने बताइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयका बीचमा भएको छलफल निकै सकारात्मक रहेको अध्यक्षद्वयको सचिवालयको निष्कर्ष छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच भएको छलफल सकारात्मक रहेको र यसलाई जारी राख्ने सहमति भएको छ । छलफलपछि दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किएकाले अब नेकपा संकट सहजै टरेर जाने विश्वास नेताहरुले गरेका छन्।

‘अहिले नै कुनै सहमति भइसकेको छैन तर छलफल सकारात्मक रहेको छ,’ सापकोटाले भने, ‘आज (बुधबार) स्थायी कमिटीको बैठक बस्नुभन्दा अघि दुई अध्यक्ष पुनः बस्ने समझदारी भएको छ।’ राजधानी दैनिकमा समाचार छ।





Comments

comments

37496