बेलायतबाट गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेशिनसहित आर्थिक सहयोग..

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, गैरआवाशीय नेपाल संघ युकेले गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेशिन(कन्सन्ट्रेट) सहयोग हस्तान्तरण गरेको छ।

गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको परिसरमा आयोजित कार्यक्रममा एनआरएन युकेको पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मेजर डमर घलेको अगुवाईमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अक्सिजन मेशिन हस्तान्तरण गरिएको हो।

गैरआवाशीय नेपाली संघ युकेको कोभिड १९ सहयोग अभियान अन्र्तगत नेपालको सातै प्रदेशलाई सघन उपचारका लागि अत्यन्तै आवाश्यक २, २ वटा अक्सिजन मेशिन सहयोग गर्ने अभियान अन्र्तगत गण्डकी प्रदेश सरकारलाई आइतवार १ लाख ६८ हजार मुल्यको मेशिन हस्तान्तरण गरिएको हो।

सहयोग ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले संकटको बेलामा मात्र होइन विगतदेखि नै मातृभुमिको लागि धेरै सहयोग गरेको भन्दै एनआरएन युकेको प्रसंशा गर्दै सहयोगका लागि अध्यक्ष पुनम गुरुङ लगायत टिमलाई धन्यवाद व्यक्त गर्नुभयो। एनआरएन युकेले सहयोग गरेको अक्सिजन मेशिनले गण्डकी प्रदेशको नागरिकको स्वास्थ्योपचारमा ठुलो सहयोग पुग्ने बताउनुभयो।कोभिड १९ को संक्रमण तुलनात्मक रुपमा अरु प्रदेशमा भन्दा कम र प्रभावकारी उपचार व्यवस्था मिलाइएको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो।एनआरएन युके प्रभाव, शक्ति र गतिविधीहरुको वारेमा गत वर्ष युके भ्रमणको क्रममा पुर्ण जानकारी रहेको बताउनुहुदै मुख्यमन्त्री गुरुङले महामारीको बेलामा झनै सक्रियताका साथ अध्यक्ष पुनम गुरुङ लगायत कार्यसमिति र युकेबासी नेपालीहरुलाई आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा एनआरएन युकेको पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मेजर डमर घलेले एनआरएन युकेको कोभिड १९ सहयोग विविध अभियान अन्र्तगत नेपालको सातै प्रदेशलाई सघन उपचारका लागि अत्यन्तै आवाश्यक २, २ वटा अक्सिजन मेशिन सहयोग गर्ने अभियानको आफुहरु माध्यम बनेको जानकारी दिनुभयो।उक्त अभियान अन्तर्गत ११ लाख ७६ हजार कुल मुल्य बराबरको १४ वटा अक्सिजन मेशिन प्रदेश सरकारहरुलाई सहयोग गर्ने उहाँले जानकारी दिनुभयो।

कार्यक्रमम मुख्यमन्त्रीका साथमा धर्मपत्नी अर्थात क्होला सोंथर गाँउपालिका उपाध्यक्ष कुमारी मुनी गुरुङको समेत उपस्थिती रहेको थियो भने,एनआरएन युकेका नरजंग गुरुङ, चन्द्रबहादुर गुरुङ, भोजबहादुर गुरुङ लगायत हस्तान्तरण कार्यक्रममा सहभागी हुनुभएको थियो।

मार्गी तमु समाज युकेद्वारा मुख्यमन्त्री गुरुङलाई १ लाख ८१ हजार राहत सहयोग हस्तान्तरण

पोखरा महानगरपालिकाको फेवातालपारी मार्गी गाँउबाट युकेमा बसोबास गर्ने तमुहरुको साझा संस्था मार्गी तमु समाज युकेले गण्डकी प्रदेश सरकारलाई सहयोग गरेको छ।

गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको परिसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारलाई कोरोनाको महामारीको अवस्थामा राहत स्वरुप १ लाख ८१ हजार ५ सय ५० आर्थिक सहयोग गरेको हो।

समाजका अध्यक्ष तथा तमु प्ये ल्हु संघ युकेका पुर्व अध्यक्ष जगत प्हच्यु तमुको धर्मपत्नी पार्वती पर्जु तमु नेतृत्वको समुहले उक्त रकम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरेको हो।

राहत सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले संकटको अवस्थामा गरिने सहयोगको ठुलो महत्व हुने भन्दै धन्यवाद व्यक्त गर्नुभयो।कति सहयोग होइन कि कसले सहयोग गर्यो भन्ने मुख्य कुरा हो भन्नुहुदै उहाँले युकेदेखिको साथ सधै अविष्मरणीय रहने बताउनुभयो।उहाँले फेवातालपारीको फेवाली प्हच्युहरुको प्रसंशा समेत कार्यक्रममा गर्नुभएको थियो।

रकम हस्तान्तरण कार्यक्रमका सञ्चालक पत्रकार रोशनी तमुले समाजका अध्यक्ष तथा तमु प्ये ल्हु संघ युकेका पुर्व अध्यक्ष जगत प्हच्यु तमुले पठाउनु भएको शुभकामनासहितको मार्गी तमु समाज युकेको परिचयसहितको पत्र वाचन गरेर सुनाउनुभएको थियो।

प्रदेश सरकारलाई राहतका लागि फेवातालपारी मार्गी तमु समाज युकेका २४ जना सदस्यहरुबाट १ हजार २ सय पाउण्ड अर्थात १ लाख ८१ हजार ५५० रुपैया संकलन गरिएको थियो।

कार्यक्रममा मार्गी तमु समाजका सल्लहाकार क्या. बिष्णु प्रसाद प्हच्यु तमु, सल्लहाकार देउ बहादुर ल्हेंगे तमु, पार्वती पर्जु तमु, फुलमाया थिम्जे तमु, ममता प्हच्यु तमु लगायतको सहभागीता रहेको थियो।

कास्की आवाज





Comments

comments

37901