मिर्गौला पीडित नर्स मनिषा गुरुङको उपचारका लागि करीव ६८ लाख संकलन

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, २३ साउन। मिर्गौला पीडित २३ वर्षीया नर्स मनिषा गुरुङको स्वास्थ्योपचार, हालको अवस्था र उपचारार्थ संकलित रकमको आयव्यय सार्वजनिक गरिएको छ।

मनिषा गुरुङ बचाउ अभियान सहयोग समितिले शुक्रवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

पोखरा १२ भद्रकाली नहरमार्गस्थित जनकल्याण तमु समाजमा आयोजित पत्रकार सम्मेलनका संचालक सहयोग समितिका प्रचारप्रसार संयोजक बालकृष्ण गुरुङले पीडित मनिषा गुरुङको निरन्तर उपचार भईरहेको, मिर्गौला प्रत्यारोपणका लागि मिति पनि तय भएको अवस्थामा स्तनमा गिट्खा देखिएकाले अपरेशन, रेडियो थेरापीसँगै उपचारकै क्रममा कोरोना भाइरसको महामारीले विश्व संकटमा परेकाले मिर्गौला प्रत्यारोपण रोकिएको जानकारी दिनुभयो।

आफ्नो बाबाकै मिर्गौला म्याचिङ भएकाले प्रत्यारोपणको तयारी थियो, उपचारमा संलग्न चिकित्सकहरुले पुस ३ गते मिर्गौला प्रत्यारोपण गर्ने दिन तय गर्नुभएको थियो तर र्दुभाग्य गिट्खाले समस्या बनाएको उहाँले जानकारी दिनुभयो। अहिले पनि चिकित्सकहरुसँग आग्रह गरिए पनि कोरोनाको संक्रमण बेला मिर्गौला प्रत्यारोपण गर्न नसकिने जवाफ पाए पनि पूर्व स्वास्थ्य मन्त्री सांसद खगराज अधिकारीमार्फत पनि पहल भईरहेको बताउनुभयो।

सहयोग समिति

कार्यक्रममा समितिका कोषाध्यक्ष रबिन गुरुङले मनिषा गुरुङको उपचारकालाई लागि टोलटोलमा देउसी भैलो खेल्नुका साथै देशविदेशबाट शुभेच्छुकहरुले सोचे भन्दा पनि बढी सहयोग गरेको बताउनुभयो। हालसम्म समितिको अभियानमा ६७ लाख ७० हजार ४९२ रुपैया सहयोग संकलन भएको, उपचारको क्रममा ३४ लाख ३१ हजार ९ सय खर्च भई ३३ लाख ३८ हजार ५९२ रुपैया आमा सुनदेवी गुरुङको खातामा रहेको जानकारी दिनुभयो। महंगो उपचार र स्वास्थ्यमा धेरै समस्याका कारण निकै ठलो खर्च भएको उहाँले बताउनुभयो। यसै बिच कोषाध्यक्ष गुरुङले अमेरिकामा पछिल्लो क्रममा संकलित १ लाख ९ हजार ९२७ रुपैया सहयोग समितिका संयोजक इन्द्रबहादुर गुरुङ मार्फत बाबा नेत्रबहादुर गुरुङ र आमा सुनदेवी गुरुङलाई हस्तान्तरण गरिएको थियो।

समितिका सचिव शेरबहादुर गुरुङले कोरोनाको महामारीको अवस्थामा मिर्गौला प्रत्यारोपण गर्दा बिरामी संक्रमणमा पर्ने धेरै संभावना हुने चिकित्सकहरुको भनाई र कोरोनाको कहर दुई वर्ष भन्दा पनि बढी हुने भनिएकाले बिरामीको स्वास्थ्यमा जटिलता आउन सक्ने भन्दै प्रत्यारोपण अनिश्चित बनेको बताउनुभयो। उहाँले मिर्गाैला लगायतका गम्भीर स्वास्थ्य समस्या पनि राज्य संवेदनशील बन्न नसकेको गुनासो गर्नुभयो।राज्यले सरकारी अस्पतालमा छुटमा सेवा दिनुका सट्टा छ महिना कुर्नुपर्ने अवस्थाले निजी अस्पतालमा महंगो सेवा लिनुपर्ने बाध्यता भएको बताउनुभयो।

मनिषाकी आमा सुनदेवी गुरुङले ग्राण्डीमा डा.दिव्यसिंह र डा.प्रेम ज्ञवालीले आफ्नै बाबाको मिर्गौला प्रत्यारोपणका लागि तयारी अवस्थामा छोरीको छातीमा गिट्खा देखिएकाले समस्या हुनसक्ने भनि अपरेशन लगायत छोरीको उपचार र बाबाको समेत स्वास्थ्य सन्तुलनमा ल्याउन निकै खर्चनुपरेको बताउनुभयो। सरकारी अस्पतालमा छ महिना कुराउने, राम्रो सेवा पनि नपाईने, निजीमा राम्रो सेवासँगै चर्को शुल्क ब्यहोर्नुपरेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका मनिषा गुरुङ बचाउ अभियान सहयोग समितिका संयोजक एवम जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङले २०७६ साल कार्तिक ५ गते समिति गठन गरी करिब १५ लाख उपचार खर्च हुने र ३० लाखसम्म संकलन गर्ने योजना रहेको अभियानमा करिब ६८ लाखको हाराहारीमा रकम सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद व्यक्त गर्नुहुदै सबैको चाहना पिडित मनिषाको छिटो मिर्गौला प्रत्यारोपण गर्न पाए भन्ने छ र समितिले सकेको पहल गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरुले पीडित मनिषाको छिट्टै मिर्गौला प्रत्यारोपण र बाँकी रकमलाई प्रत्यारोपणकै निम्ती बचाउ सक्ने उपाय खोज्न समेत सुझाएका थिए। कास्की आवाज





Comments

comments

37956