तुलनात्मक रूपमा कोभिसिल्ड सुरक्षित

बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन्।

सरकारले पर्याप्त मात्रामा खोपको प्रभावकारिता र लगाएपछि हुने प्रभावबारे जनचेतना प्रवाह नगर्दा अधिकांश नागरिकले खोपबारे शंका व्यक्त गर्न थालेका छन्।

केही सर्वसाधारणले खोप लगाएपछि झन् खतरा हुने आशंका गर्दै खोप नलगाउने प्रतिक्रिया दिन थालेका छन् । सरकारले खोपका लागि व्यवस्थापकीय तयारी गरे पनि खोपबारे जनचेतना जागरण गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले खोप लगाउनुपूर्व सरकारले पर्याप्त मात्रामा जनचेतना प्रवाह गरेको भए अझ प्रभावकारी हुने बताए। उनले भने, ‘खोप लगाउनुपर्छ । यो खोपले विभिन्न फेज पार गर्दै आएको छ । हरेक भ्याक्सिनमा सानातिना समस्या देखिन सक्छ । यस विषयमा सरकारले ढुक्क पार्ने खालका पर्याप्त मात्रामा जानकारी गराउनुपर्छ।’

फाइल फोटो

खोप लगाइसकेपश्चात् जिउ दुख्ने, थकाइ लाग्ने र टाउको दुख्ने समस्या देखिन सक्ने अध्ययनले देखाएका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले मन्त्रीहरू, सचिवहरू, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिलाई खोप दिने कार्यक्रम राखेको भए स्वास्थ्यकर्मी तथा अन्य सेवाग्राहीलाई खोप लगाउन ढुक्क हुने स्थित सिर्जना हुने बताए । उनले भने, ‘नेपालमा आएको कोभिसिल्ड खोप तुलनात्मक रूपमा सुरक्षित मानिएको छ । खोप लगाउँदा सामान्य साइड इफेक्टका रूपमा ज्वरो आउने, टाउको दुख्ने र खोप लगाएको ठाउँमा दुख्नेलगायतका समस्या पाँच–सात दिनसम्म रहन सक्छ।’ आजको राजधानी दैनिकमा समाचार छ।





Comments

comments

40248