न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ जनवरी। आज सम्पन्न स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथन २०२४ मा एक जना धावकको मृत्यु भएको छ भने ३४ जना अस्पतालमा भर्ना भएका छन्।
स्थानीय मिडियाका अनुसार १२.१२ बजे टिन हाउ एमटीआर स्टेशनको प्लेटफर्ममा एक ३० वर्षीय धावक अचानक बेहोस भएर ढलेका थिए। हाफ म्याराथन दौड पूरा गरेर फर्कदै गर्दा उनी अस्वस्थ्य भइ ढलेको आशंका गरिएको छ।
पीडित उपनाम चेउङलाई आकस्मिक उपचारको लागि एम्बुलेन्सद्वारा रुटोन्जी अस्पताल लगिएको थियो, तर अन्ततः मृत पुष्टि भएको थियो।
Photograph: Courtesy Standard Chartered Hong Kong Marathon
केही धावकहरूले अस्वस्थ महसुस गरेपछि ट्र्याक छोडेका थिए। दिउँसोसम्म कुल ८४२ जना धावकहरूको उपचार गरिएको छ।
दौड समितिले दिउँसो १.३० बजेसम्म १० किलोमिटर दौडको क्रममा भिक्टोरिया पार्कमा फिनिसिङ लाइन नजिकै एक पुरुष धावक ढलेका थिए भने ३४ जनालाई अस्पताल पठाइएको छ।
एक जनाको अवस्था चिन्ताजनक र चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
म्याराथनमा लगभग ७४,००० धावकहरूले भाग लिएको दौड समितिले जनाएको छ।
पुरुषतर्फ केन्याका एन्डरसन सेरोईले र महिलातर्फ इथियोपियाकी मेडिना आर्मिनोले उपाधि जितेका छन्।