काठमाडौँ । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन्।
टिकटकमा एक भिडियो सन्देश जारी गर्दै ती युवाले भनेका छन्, ‘म गोली र बम लागेर घाइते भएको छु, यदि कोही नेपाली युवा रुसी सेनामा आउने सोचमा हुनुहुन्छ भने नआउनु होला । बरु यहाँ भएका, फसेका घाइते नेपाली दाजुभाइलाई जसरी भए पनि उद्धार गरेर नेपाल फर्काउन सहयोग गर्नुहोस् ।’
रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लागेर छटपटाइरहेको र आफू जस्तै धेरै साथीहरू फसेकाले सबैलाई उद्धार गर्न पनि ती युवाले नेपाल सरकार र त्यहाँस्थित नेपाली दूतावासलाई अनुरोध गरेका छन् । ‘मजस्तै धेरै दाजुभाइ यहाँ छटपटाउँदै उद्धारको पर्खाइमा छौँ, हामीलाई तत्काल सहयोग गर्नुहोस्,’ ती युवाले भनेका छन्, ‘यहाँ कोही पनि नआउनु । यहाँ एकदम डेन्जर छ । ९९ प्रतिशत मर्ने सम्भावना छ । बच्ने सम्भावना त १ प्रतिशत मात्र छ, त्यो पनि घाइते भएर मात्र बच्न सकिन्छ ।’ आजको राजधानी दैनिकमा समाचार छ।