यसरी मनाइयो सङ्गीतकार गुरुङको ८६ औँ जन्मजयन्ती…

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज वरिष्ठ सङ्गीतिज्ञ, प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको ८६ औँ जन्मजयन्तीका अवसरमा साङ्गीतिक कार्यक्रम गरेको छ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले सङ्गीतकार गुरुङको योगदानलाई भुल्न नहुने बताइन् । उनले भनिन्, “उहाँले देख्नुभएको नेपाली अर्केष्ट्राको सपनालाई साकार पार्न प्रज्ञा–प्रतिष्ठान प्रयासरत छ, सोही अनुसार हामी गतिविधि गरिरहेका छौँ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सङ्गीतकार गुरुङ बहुआयामिक व्यक्तित्व भएको बताए । उनले भने, “गुरुङलाई राष्ट्रगानको सङ्गीतकार मात्र भन्दा योगदान ओझेलमा पर्न सक्छ । उहाँ सङ्गीतको ऋषिमुनि हुनुहुन्छ ।”

कार्यक्रममा वरिष्ठ गायिका सङ्गीता प्रधानले ‘कति सम्हालुँ चोटहरु….’, वरिष्ठ गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने…..’ र विष्णु अधिकारीले ‘मेरो यो गीतमा जुन मुर्छना…..’ बोलका गीतहरु गाएका थिए ।

सो अवसरमा वरिष्ठ सङ्गीतकार दीपक जङ्गम, वरिष्ठ गीतकार श्यामप्रकाश तमोट, सङ्गीतकार अमूल कार्की ढलीलगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्यहरु, सभासदस्यहरु, वरिष्ठ सङ्गीत तथा नृत्य साधकहरुलगायत सङ्गीत नाट्य विधासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति थियो।





Comments

comments

108622