म राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउँछु: शर्मा

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ उम्मेदवार बनाएको बताएका छन्।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल रहेको दाबी गरेका थिए।

आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढङ्गबाट कार्यसम्पादन गर्ने उनले बताए।

‘लोकतन्त्रमा कसैको जित वा हार हुँदैन। सबै जित्छन्, सबै हार्छन्। निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, पार्टीले आफ्नो उम्मेदवारीको निर्णय पहिलो पटक गरेकाले अर्को को उम्मेदवार भन्ने प्रश्न हुँदैन,’ उनले भने।

आफू मुलुकमा प्रजातन्त्र स्थापनाको आन्दोलनका क्रममा २०२४ सालमा जेल परेको, २०२७ सालमा नेविसंघ संस्थापक सदस्य रहेको, २०२५ सालमा बिपी कोइरालासँग प्रशिक्षण लिएको, कांग्रेस सभापति शेरबहादुर देउवा नेविसङ्घको सभापति हुँदा उपसभापतिको जिम्मेवारीमा रहेर काम गरेको पनि उनले बताए।

२०३३ मा जिल्ला समिति सदस्य, २०४५ सालमा बाँके जिल्ला सभापति र लोकतन्त्रका लागि भएको सबै आन्दोलनमा भूमिका रहेको उनले बताए। पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रिय सभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा अध्यक्षको उम्मेदवार भएको पनि उनले बताए।





Comments

comments

109944