न्युज डेस्क / एचकेनेपाल डट कम –
अपडेटः
हङकङ, ११ मे। प्रहरीले युन लङबाट बुबाको हत्या आरोपमा एक नेपालीलाई प्रकाउ गरेको खबर हङकङका स्थानीय मिडियाहरुले प्रकाशन / प्रसारण गरेका छन्।
आज (११ गते) बिहान ५३ वर्षीय नेपाली पुरुषमाथि उनको निवासमा आक्रमण भएको थियो। गम्भीर घाइते भएका बुबालाई अस्पताल पुर्याएपछि उनको मृत्यु भएको पुष्टि भएको हो।
त्यसपछि उनका छोरालाई प्रहरीले पक्राउ गरेको छ। उनका ३२ वर्षीय छोराले राति पर्स फेला परेपछि घटना सुरु भएको बुझिएको छ। पछिल्लो रिपोर्टका अनुसार बुबाको आईडी कार्ड हराएपछि दुई बुबा छोराबीच झगडा भएको थियो।
छोराको आक्रमणबाट बुबाको टाउकोमा गहिरो चोट लागेको थियो। माथि युनिटमा बस्ने आफन्त र साथीभाइले केही गडबड भएको थाहा पाएपछि प्रहरीलाई सहयोगका लागि बोलाएका थिए। घाइते बुबालाई पोक ओइ अस्पतालमा पुर्याइएपछि उनलाई मृत घोषणा गरिएको थियो।
घटना बिहान करिब १ बजेको हो। मृतक आफ्ना दुई छोरा र श्रीमतीसँग लिउङ चोई भवन, २–४४ पिङ फाई पथको तेस्रो तल्लामा रहेको युनिटमा बस्दै आएका थिए।
एक ५३ वर्षीय नेपाली बुबाको आफ्नो ३२ वर्षीय छोरासँग झगडा हुँदा उनीमाथि आक्रमण भएको थियो। एम्बुलेन्स टोलीले पुरुष पीडितको टाउकोमा चोट लागेको र बिहोस भएको भेट्टायो। उनलाई तत्कालै उद्धारका लागि पोक ओइ अस्पताल लगिएको थियो तर उनको मृत्यु भएको पुष्टि भएको थियो।
प्रहरीले घटनामा संलग्न छोरालाई पक्राउ गरी घटनालाई ‘हत्या’ भनेर वर्गीकृत गरेको छ।
घटनालगत्तै ठूलो संख्यामा प्रहरी घटनास्थलमा पुगेर रातभरि घटनाको अनुसन्धान गरिरहेका थिए। मृतकका श्रीमती र आफन्तलाई प्रहरीले भवनबाहिर पार्कमा सोधपुछ गरेको थियो र त्यसपछि प्रहरीको गाडीमा चढेर प्रहरी अधिकारीसँगै गएका थिए। घटना बुझ्न प्रहरीले छिमेकीसंग पनि सोधपुछ गरेका थिए।