अभिनेता अनमोल केसीको खण्डन, हलिउड फिल्मबाट कपी गरिएको हैन !

काठमाडौं, अभिनेता अनमोल केसीले प्रदर्शाेन्मुख फिल्म फर्की फर्की हलिउड फिल्मबाट कपी गरिएको कुरालाई खण्डन गरेका छन्। ‘टाइम लुप जनरा’मा हलिउडमा थुप्रै फिल्महरु बनेको भएपनि फर्की फर्की कहिँकतैबाट कपी गरेको ‘कन्टेन्ट’ नभएको उनको दाबी छ।

‘म दर्शकहरुलाई यतिसम्म विश्वस्त गराउन चाहन्छु कि फर्की फर्की फिल्म कतैबाट कपी गरेर बनाईएको रैछ भने मेरो आगामी फिल्महरु नै हजुरहरुले नहेर्नुहोला ।’ अनमोलले भने, ‘फिल्मले परिवार, साथीभाई र प्रेमी प्रमिकाबीचको विविध आयामहरुलाई प्रस्तुत गरेको छ । तर जनराको हिसाबले दर्शकहरुले यो फिल्ममा गज्जबको अनुभूति गर्नुहुनेछ ।’ फिल्मको प्रचार सामाग्रीले पाएको हाइपबाट अनमोलसँगै पुरै निर्माण यूनिट दर्शकको साथ पाउनेमा ढुक्क छन्।

वर्ष २०८० अनमोलको लागि राम्रो रहेन । वर्ष २०८० मा उनी एउटा फिल्मकै कारण प्रहरी कष्टडीमा समेत पुग्न परेको थियो । त्यस्तै उनको ९ औं फिल्म छड्के २ पनि उनको जीवनकालकै सबैभन्दा ठुलो फ्लप रह्यो । त्यसकारण पनि अनमोल फर्की फर्कीलाई लिएर प्रेसरमा देखिन्छन् । ‘मैले मेरा गल्तीहरुबाटै सिक्ने हो । असफलताले मलाई अझै बढि राम्रो काम गर्न जिम्मेवार बनाएको छ । र, म यो फिल्मबाट मेरा भगवानरुपी दर्शकहरुलाई सन्तुष्ट बनाउने नै छु ।’ उनले भने, ‘यो फिल्ममा सबै हिसाबले खारिएको र सुधारिएको अनमोल केसीलाई दर्शकहरुले पाउनुहुनेछ।’

अनमोल दर्शकले आफूलाई अघिल्ला फिल्ममा भन्दा ‘फर्की फर्की’मा केही फरक रुपमा देख्न पाउने बताउँछन् । ‘जुन बेला अभिनयको ‘अ’ पनि थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ मा अभिनय गरें । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । यी फिल्ममा भन्दा ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ । प्रेमकथा मनपराउनेलाई ‘फर्की फर्कीमा प्रेमकथा नै छ । मेरो प्रेमकथा हेरेर दिक्क लागेका दर्शकलाई ट्राभलको कथा पनि छ’, उनी भन्छन्।

अभिनेत्री जसिता गुरुङसँग अनमोल पहिलोपटक यो फिल्ममा स्क्रिन शेयर गर्दैछन् । र, सार्वजनिक पोस्टर लगाएतका प्रचार सामाग्रीहरुमा अनमोल जसिताको जोडीलाई दर्शकले रुचाएका छन् । अझै कतिपय उनका फ्यानहरुले सामाजिक संजालमा यो जोडीलाई लिएर ह्यासट्याग जसमोल क्याम्पेन शुरु समेत गरेका छन्।

रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्।





Comments

comments

116532