बेइजिङमा पनि मनाइयो बुद्ध जयन्ती

काठमाडौँ । दुई हजार पाँच सय ६८औँ बुद्ध जयन्तीका अवसरमा चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनमा बिहीबार एक कार्यक्रम प्रार्थनासभा गरी बुद्ध जयन्ती मनाइएको छ।

बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न संस्थाका चिनियाँ नागरिक, नेपाली समुदाय र चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिसहित एक सय २० जनाभन्दा बढीको सहभागितामा भएको कार्यक्रममा चीन बौद्ध सङ्घका उपाध्यक्ष भिक्षु चाङ झाङले चीन र नेपालबिचको घनिष्ठ सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । विश्व समुदायका साथै चीन र नेपालको शान्ति र समृद्धिका लागि दुवै देशले निरन्तर सहकार्य गर्ने विश्वास उनले व्यक्त गरेको उक्त दूतावासले जनाएको छ।

त्यस अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका शाश्वत शिक्षाले सम्पूर्ण मानवजातिलाई उदारता, करुणा, नैतिकताका साथै अर्थपूर्ण जीवन बिताउन प्रेरित गर्ने बताए । विश्वले सामना गरिरहेका चुनौतीहरूको सामना बुद्धका उपदेश प्रेरक छन् भन्दै उनले पञ्चशीलको सिद्धान्तमा निहित दुई देशबिचको लामो समयदेखिको सम्बन्ध बौद्ध आध्यात्मिकताको प्रतीकका रूपमा रहेको बताए।

यसैबिच, ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएसन अफ क्यानडासँगको सहकार्यमा शनिबार बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको छ।

सोसाइटीले आज जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष विशेष बौद्ध बज्रयान–महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो सांस्कृतिक नृत्य प्रस्तुति, दीप प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरिने छ । कार्यक्रममा क्यानडा र अमेरिकामा रहेका ह्योल्मो समुदाय तथा अन्य नेपालीका साथै विशिष्ट क्यानडेली अतिथिसहित एक हजार जना सहभागी हुने अपेक्षा छ।

रासस





Comments

comments

117361