चार मापन केन्द्रमा तापक्रम ४० डिग्रीमाथि, मनसुन भित्रिए पनि गर्मी कायमै

काठमाडौँ । पछिल्लो केही दिनदखि तापक्रम बढिरहेकोमा सोमबार कतिपय स्थानहरुमा तापक्रम ४० डिग्री आसपास पुगेको मापन गरिएको छ । चार वटा मापन केन्द्रमा भने तापक्रम ४० डिग्रीमाथि मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको २० वटा तापक्रम मापन केन्द्रको तथ्याङ्कअनुसार आज सबैभन्दा बढी धनगढीमा ४४ डिग्री पुगेको छ । त्यसपछि नेपालगञ्जमा ४३ दशमलव छ, दीपायलमा ४० दशमलव सात र वीरेन्द्रनगरमा ४० दशमलव नौ डिग्री अधिकृतम तापक्रम मापन गरिएको छ ।

यस्तै दाङको घोराहीमा ३९ दशमलव छ, भैरहवामा ३९ दशमलव आठ, सिमरामा ३७ दशमलव पाँच र जनकपुरमा ३७ डिग्री तापक्रम पुगेको छ । आज काठमाडौँमा ३४ दशमलव चार डिग्री तापक्रम मापन गरिएको छ । काठमाडौँमा ३४ दशमलव चार पुगेको यो वर्ष दोस्रो पटक हो ।

केहीअघि नेपालगञ्जमा ४४ दशमलव दुई डिग्री मापन भइ यो वर्षकै तापक्रमले रेकर्ड ब्रेक गरेको थियो । त्यसपछि वर्षा हुँदा विस्तारै तापक्रम घटिरहेकोमा यही जेठ २६ गतेदेखि तापक्रममा बढोत्तरी आएको थियो ।

तोकिएको मितिभन्दा तीन दिन अघि आज पूर्वी नेपालबाट मनसुन भित्रिए पनि आज धेरैजसो क्षेत्रमा बढी गर्मी महसुस गरिएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अझै पनि एक/दुई दिनमध्ये र पश्चिम क्षेत्रमा तापक्रम बढी नै रहने जानकारी दिए । पूर्वबाट मनसुन भित्रिए पनि तराई तथा पश्चिम क्षेत्रमा तत्काल वर्षाको प्रणाली नरहेको उनले भने ।





Comments

comments

118881