अमरसिंह थापाको सालिक निर्माणपछि पर्यटक आकर्षित

डडेल्धुरा । जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्त्व बढाएको छ । अमरगढी किल्लाबाट पुरानो र आधा मात्रै शरीर देखिने थापाको सालिक हटाएर नयाँ राखेसँगै किल्लाको महत्त्व बढेको हो ।

अहिले थापाको नामबाट स्थापित नेपालको ऐतिहासिक अमरगढी किल्ला नेपाल आर्मी र स्थानीय सरकारको पहलमा पुनःनिर्माण गरेपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् । गत साता राष्ट्रिय विभूति अमरसिंह थापाको नयाँ सालिक किल्ला परिसरमा अनावरण गरिएको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले बताए । पुरानो सालिक हटाएर नयाँ राख्दा किल्लाको सुन्दरता बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ ।

किल्ला परिसरमा यथाशीघ्र पुराना शैलीका हातहतियार अन्य ऐतिहासिक र पुरातात्त्विक वस्तुसमेत राखिने प्रमुख जोशीले जानकारी दिए । पर्यटकीय आकर्षणको केन्द्रका रूपमा रहेको यस परिसरमा पुराना हातहतियार, बन्धुक, तोप, गोला र काँडमका हतियार राख्न सके पर्यटक आकर्षित गर्न सहज हुने उनको भनाइ छ ।

पहिले राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ पूर्णकदको सालिक राखिएको अमरगढी नगरपालिकाले जनाएको छ ।

अमरगढी किल्ला, अजयमेरुकोटलगायत धार्मिक क्षेत्र पनि यस जिल्लामा अवस्थित छन् । पुरातात्त्विक विभागका साथै विभिन्न पहिचान र संस्कृति संरक्षणमा लागेका सङ्घसंस्थाले यसतर्फ ध्यान दिँदै जीर्ण संरचनाको संरक्षणका लागि पहल गर्नुपर्ने स्थानीय बताउँछन् ।

अमरगढी नगरपालिकामा मात्रै राउलतोली गुफा, उग्रतारा मन्दिर, घटालथान, कस्याटाकुरो सहस्रलिङ्गलगायत धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । अग्रेजसँगको लडाइ लड्न अमरसिंह थापाको सेनाको फौज लामो समयसम्म तयार अमरगढी किल्लामा बसेको इतिहासकार बताउँछन् ।

थापाकै नामबाट सदरमुकामसमेत रहेको नगरपालिकाको नामाकरण अमरगढी भएको अमरगढीका संस्थापक प्रमुख मोहरनराज पाठकले जानकारी दिए । उनका अनुसार नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ ।

रणबहादुर शाहको शासनकाल १८४७ सालमा नेपाल एकीकरण सिलसिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास उल्लेख रहेको पाठकले बताए । इतिहासमा उल्लेख गरिएअनुसार युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको संरक्षण र सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी थापा प्रथम प्रशासकका रूपमा यहाँ आएको उनको भनाइ छ ।

विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना भएको अमरगढी नगरपालिकाले विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा लिएको थियो । विसं २०५८ मा जनयुद्धका कारण जिल्लालाई सुरक्षा दिन सो किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि अवलोकन तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको थियो । हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दैनिक किल्ला अवलोकनका लागि बाह्य र आन्तरिक पर्यटक आउने गरेका छन् । रासस





Comments

comments

119008