लण्डनमा क्यान्सर पीडितका लागि धनु गुरुङले गरिन् ९० किलोमिटर साइकल यात्रा

धनु गुरुङ

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-

लण्डन, ४ असार । दुई दशकदेखि हम्पशायर, फर्नबरो बस्दै आईरहेकी धरान, सुनसरीकी धनु गुरुङले क्यान्सर पीडितहरुका लागि करिब एक लाख रुपैया सहयोेग संकलन गर्न सफल भएकी छन् । उनले उक्त रकम क्यान्सर परोपकारी संस्था म्याकमिलनलाई हस्तान्तरण गरेकी छन्।

ब्रिटिस हाट फाउन्डेसनद्वारा आयोजित अत्यन्तै जोखिमपूर्ण ९० किलोमिटरको दूरी रहेको साइकल यात्रामा भाग लिदै उनले सो रकम संकलन गरेकी हुन्।

साइकल यात्रा पश्चिम लण्डनबाट सुरु भई ब्राइटन शहरमा पुगेर समापन भएको थियो । यात्रा पूरा गर्न करिब ६ घण्टा ३० मिनेट लागेको उनले बताइन्। चुनौतीपूर्ण यात्रा पुरा गर्न पाउदा आत्मसन्तुष्टी र खुशी मिलेको बताउदै गुरुङले आफ्नो जीवनकालभर क्यान्सर पीडितहरुका लागि अझै उत्साहजनक कार्यहरुमा सहभागी भएर उनीहरुको घाउमा मलम लगाईरहने प्रयास गर्ने अठोट व्यक्त गरिन्।

क्यान्सर रोगका कारण बाल्यवस्थामा नै आफ्नो आमालाई गुमाउनुको पीडाले सधै सताइरहने र आमाको संझनामा हरेक बर्ष क्यान्सर रोगसंग सामाना गरिरहेका पीडितहरुकालागि हौसला बढाउन सोच आईरहने पनि उनले बताइन्।

उनले केहि बर्षअघि पनि क्यान्सर पीडित बालबालिकाहरुका लागि रकम संकलन गर्न आफूलाई जोखिम मोल्दै दश हजार फिटमाथिको उचाइबाट ‘स्काइडाइभिङ जम्प’ गरेकी थिईन। सो कार्यबाट संकलित रकम क्यान्सर, संगठन नेपाललाई सहयोग गरेकी बताईन्। आफूले गरीरहेको अभियानहरु सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा उनले कृतज्ञता व्यक्त गरेकी छन्।





Comments

comments

119462