ब्रिटिश गोर्खाहरुलाई किन र कस्तो नागरिकताको निरन्तरता..?

फाइल फोटो

सन्तोष थलङ –

ब्रिटिश गोर्खाहरुलाई नेपालको सार्वभौमिकता राष्ट्रियता बचाउंन सन् १८१६ मा तत्कालीन नेपाल सरकारले ईष्ट इण्डिया कम्पनी (बेलायत) संग सुगौली सन्धि गरि बेलायती सैन्य सेवामा पठाउन आरम्भ गरिएको हो।

गोर्खा भर्तीलाई थप औपचारिकता दिन ९ नोभेम्बर १९४७ मा त्रिपक्षीय सम्झौता गरि गोर्खाहरु बेलायती राष्ट्रिय सैन्य सेवामा रहे पनि नेपाली नागरिक नै रहनेछन्। भाडाका सेनाका हैसियतमा रहने छैनन् भनिएको छ । तर अहिले नेपालकै संविधान र ऐनले गोर्खाहरुलाई गैरनेपाली बनाउने स्थिति बनेको छ।

लेखकः सन्तोष थलङ

अब प्रश्न के उठ्छ भने स्वतन्त्र राष्ट्र नेपालको नागरिकहरु कसरी अर्को स्वतन्त्र देशको राष्ट्रिय सेना हुन सक्छन्? यदि मित्र राष्ट्रलाई सहयोग स्वरुप सैन्य सहयोग दिएको हो भने गोर्खाहरुले बेलायती राष्ट्रिय सेनाका हैसियतले बेलायती अंगीकृत नागरिकता प्राप्त गरेता पनि उनका बंशजको नेपाली नागरिकता यथास्थिति मै कायम रहने प्रष्ट व्यवस्था हुन अनिवार्य छ। नत्र नेपाल सरकारले गोर्खा भर्तीअन्तर्गत नेपाली नागरिकहरुलाई भाडाका सेनाका रुपमा बेलायत सरकारलाई बेचेको ठहर्दैन र? कारण बेलायती राष्ट्रिय सेनाको हैसियतले गोर्खाहरुले बेलायती नागरिकता लिन पाउने उनका अधिकार साथै बाध्यता पनि हो। तर नेपालको बर्तमान नागरिकता ऐनले बिदेशी नागरिकता लिन साथ नेपाली नागरिकता कायम नरहने व्यवस्था गरेकोछ। यस अर्थमा ब्रिटिश गोर्खा तथा गोर्खा सन्ततिहरुले बाध्य भएर नेपाली नागरिकताबाट बञ्चित हुनु पर्ने दुःखद एवं अन्यायपूर्ण स्थिति बनेको छ।

त्यसैले नेपाल सरकारले तत्काल संविधान र नागरिकता ऐन संशोधन गरि ब्रिटिश गोर्खा र तिनका सन्ततिहरुलाई बेलायती अंगीकृत नागरिकता प्राप्त गरेता पनि उनका बंशजको नेपाली नागरिकता यथास्थितिमा निरन्तर रहने व्यवस्था यथाशीघ्र गर्नु पर्दछ ।

नेपाली बंशजको नागरिकता र बेलायती अंगीकृत नागरिकताबाहक गोर्खा र तिनका सन्ततिहरुको राजनैतिक अधिकारको हकमा राष्ट्रिय सुरक्षा (National security) लाई मध्यनजर गर्दै, मतदान अधिकार (Voting right) लाई सुरक्षित राख्दै प्रत्यक्ष नेपाली राजनितिको कुनै पनि तहमा उम्मेदवारी दिन चाहेको खण्डमा निजले बेलायती नागरिकता त्यागेर मात्र सहभागी हुन पाउने प्रावधान राख्न सकिन्छ।

तर ब्रिटिश गोर्खाहरुलाई गैरआवासीय नेपाली नागरिकता कै प्रावधानले सम्बोधन गर्छ भन्ने ब्याख्या गरिनु ऐतिहासिक गल्ती हुन्छ। किन कि ब्रिटिश गोर्खा र आम गैरआवासीय नेपालीको पृष्ठभूमि र अवस्था पूर्णरूपमा भिन्न रहेको यथार्थमाथि पनि उल्लेख गरिएको छ ।

अतः उल्लेखित ” राजनैतिक ” प्रावधान राखेर भए पनि ब्रिटिश गोर्खाहरुको वंशजको नेपाली नागरिकतालाई निरन्तरता दिने तत्काल व्यवस्था गरि नेपालको पहिचान र गौरवका रुपमा रहेका साथै दिगो बैदेशिक विप्रेषणका श्रोतसमेत रहेका ब्रिटिश गोर्खा समुदायका नेपाली राष्ट्रियतालाई अक्षुण्ण राख्नु देशको लागि फाइदा मात्र नभै सरकारको बिशेष दायित्व पनि हो ।

त्यसैले यस्ता गम्भीर बिषयमा संविधान संशोधनका लागि शीघ्र पहल हुन संघीय सरकार तथा जनप्रतिनिधि माननीय संघीय सांसदहरुको ध्यान आकर्षित हुन जरुरी छ।





Comments

comments

121605