रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा कुर्नुपर्ने बाध्यता

कैलाली । धनगढी उपमहानगरपालिकाका बहादुर चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा अघिल्लो दिन दिएको रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा लाइनमा बस्नुपर्यो ।

स्वास्थ्य परीक्षण गराउन अस्पताल पुग चौधरीलाई चिकित्सकले रगत जाँच गराउन भनेपछि अस्पताल परिसरको प्रयोगशालामा रगत दिन उनले अघिल्लो दिन डेढ घन्टा लाइनमा बस्नुपरेको थियो ।

रगतको रिपोर्ट लिन लाइनमा बसेका अर्का एक बिरामी लाइनमा बस्दा धकेलाधकेल हुन थालेपछि रिपोर्ट नलिइ फर्किए । धनगढीकै अर्का बिरामी हरिनादेवीलाई रगत दिन लामो समय लाइनमा बस्नुपर्यो । बहिरङ्ग सेवा कक्ष अगाडि चिकित्सकको पर्खाइमा मुटुरोगीहरु डेढ घन्टाभन्दा बढी उभिएर लाइनमा बस्ने गरेका छन् ।

कोठाको बाहिरतर्फ बिरामी बस्नका लागि बेञ्च, डेस्कको व्यवस्था नगरिँदा उभिएर पालो कुरिरहेका बिरामी लामो समयसम्म उभिएरै लाइनमा बस्नुपर्ने बाध्यता छ । अल्ट्रासाउन्ड कक्षको ढोका अगाडि पनि थामिनसक्नु भीड हुने, ह्वील चियरमा बसेर एक्स–रे गराउन पुगेका अपाङ्गता भएका र वृद्ध बिरामीलाई समेत कुर्न लगाउने गरिएको छ ।

अपाङ्गता र वृद्धवृद्धालगायतलाई सामाजिक सुरक्षा भत्ताको कार्ड पेस गरेमा निःशुल्क उपचारको व्यवस्था सरकारले गरे तापनि अस्पतालबाट सहज रुपमा उपचार सेवा लिन असहज भएको उनीहरुको गुनासो छ । “उखरमाउलो गर्मीमा उभिएर घन्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउँदा बिरामी थप बिरामी हुने अवस्था देखिएको भएको छ”, मुटु रोगको परीक्षण गराउन पालो कुरिरहेका कमलसिंह भण्डारीले भने ।

अस्पतालको आकस्मिक कक्षको अवस्था पनि उस्तै छ । शय्या नपुगेर बरण्डा र ग्यालरीमा राखेर बिरामीको उपचार गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा बिरामीले खेप्नुपरेको सास्तीका यी प्रतिनिधिमूलक घटना हुन् ।

मन्त्री र अस्पताल विकास समितिका पदाधिकारीले पटकपटक अस्पतालको उपचार सेवामा सुधार ल्याउने प्रतिबद्धता गरे पनि अस्पतालको उपचार व्यवस्थापनमा सुधार आउन नसकेको बिरामी बताउँछन् । “रगत जाँच गर्न, रगत दिन त दुई घन्टा लाइनमा बस्नुपर्छ, अस्पतालले दिने उपचार सेवा कस्तो होला ?”, बिरामी भण्डारीले भने, “धनी व्यक्ति निजी अस्पताल र क्लिनिकमा उपचार गराउन जान्छन, गरिब उपचारका लागि आउने यो अस्पतालको उपचार व्यवस्था यस्तो लथालिङ्ग छ ।”

प्रदेश संरचना कार्यान्वयनमा आएसँगै धनगढीको सेती अञ्चल अस्पताललाई सेती प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको थियो । अस्पतालको सेवा सुदृढीकरण एवं स्तरोन्नतिका लागि प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ ।

स्वीकृत प्राप्त र अस्पताल विकास समितिबाट थपिएकोसमेत गरी तीन सय श्यया सञ्चालनमा रहेको यो अस्पताल सुदूरपश्चिम प्रदेशको ठूलो अस्पताल मानिन्छ । अस्पतालमा चिकित्सक, नर्सिङ स्टाफलगायत गरी तीन सय स्वास्थ्यकर्मी कार्यरत छन् । प्रदेशका अन्य स्वास्थ्य संस्था एवं अस्पतालमा उपचारार्थ भर्ना हुने कतिपय बिरामीलाई थप उपचारका लागि यसै अस्पतालमा सिफारिस गरिन्छ ।

स्वास्थ्योपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण बिग्रिएमा मर्मत गर्ने जनशक्ति नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले अस्पतालको उपचार सेवालाई सहज र छिटोछरितो गराउने प्रयास गरिए पनि आवश्यकताबमोजिम दक्ष जनशक्ति अभाव हुँदा समस्या भइरहेको बताए । “धेरै प्रकारका उपचार सेवा उपलब्ध गराउनुपर्छ तर कर्मचारी सङ्ख्या कम हुँदा उपचार सेवा दिन ढिलाइ भएको हो”, उनले भने ।

उपचारमा प्रयोग हुने एउटा स्वास्थ्य उपकरणबाट धेरै बिरामीलाई सेवा दिनुपर्ने हुँदा बिरामीको उपचार सेवामा ढिलाइ भएको उनले बताए । अस्पतालको बहिरङ्ग (ओपिडी) सेवामा दैनिक आठ सयदेखि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन् । आकस्मिक कक्षमा दैनिक दुई सय बिरामी आउने गर्छन् ।

अस्पतलाबाट ज्येष्ठ नागरिक, महिला स्वयंसेविका, कैदीहरु, आपाङ्गता भएका, लैङ्गिक हिंसामा परेका महिला पुरुषलगायतको निःशुल्क उपचार गर्ने गरिएको छ । सहरी क्षेत्रमा जनसङ्ख्याको चाप बढेसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ । बिरामीको चाप बढ्दा सेती प्रादेशिक अस्पताल परिसरमा ठाउँको अभाव देखिएको छ ।

अस्पतालमा भवनलगायतको भौतिक पूर्वाधारको अभाव छ । दश वर्षअघि अस्पताल परिसरमै प्रसूति भवन निर्माण थालिएको भए पनि निर्माण पूरा भएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सो भवन निर्माण सुरु गरिएको थियो ।

निजी अस्पतालमा उपचार सेवा महङ्गो हुँदा विपन्न समुदायका धेरै बिरामी यो अस्पतालमा आउने गरेका छन् । पछिल्ला वर्षमा धनगढीमा निजी अस्पतालको सङ्ख्या वृद्धि हुँदा नागरिकको स्वास्थ्यमा पहुँच पुग्ने दर पहिलेको भन्दा बढेको छ ।

केही दिनदेखि सेती प्रदेशिक अस्पतालको ‘एमआरआइ’ मेसिन बिग्रिएको छ । एमआरआइ सेवा सञ्चालन गर्न काठमाडौँबाट बायोमेडिकल इञ्जिनियरको टोली बोलाइएको अस्पताल प्रशासनले जनाएको छ । चटयाङका कारण तार जलेर क्षति पुगेपछि यो मेसिनले काम नगरेको अस्पतालले जनाएको छ । गत वर्षदेखि अस्पतालले एमआरआइ र सिटीस्क्यान सेवा उपलब्ध गराउन थालेको हो । रासस





Comments

comments

124849