सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्ने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) ले देश र जनताका जल्दाबल्दा विषयमा सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बागमती प्रदेशका नेता तथा कार्यकर्ताको बैठकमा धारणा राख्ने ८२ जना नेताले जनताको कार्यसूचीमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

पार्टीलाई प्रभावकारी बनाउनका लागि वर्गतिर फर्कनुपर्ने, विगतका गल्ती तथा कमजोरीलाई आत्मआलोचना गर्नुपर्ने, सङ्गठन निर्माणमा विशेष जोड दिनुपर्ने लगायत समसामयिक राजनीतिक विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीचित्र निरन्तर बहस र छलफल भइहेको र केन्द्रीय समितिको बैठकसम्म जारी रहने जानकारी दिए।

उनले पार्टीभित्र देखिएको भनिएको विवाद समाधान भइसकेको बताए।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले निर्वाह गर्ने भूमिका तथा सङ्गठन विस्तारलगायतका विषयमा आफ्नो धारणा राखेका थिए।

उपमहासचिव जनार्दन शर्माले पनि आफूले स्थायी समिति बैठकमा राखेको लिखित धारणाका बारेमा जानकारी राख्दै पार्टीलाई सुधार र जनमुखी बनाउने आफ्नो ध्येय रहेको बताएका थिए।

बुधबारदेखि सुरू भएको सो बैठकमा बागमती प्रदेशका नेता तथा कार्यकर्ताले पार्टीको समग्र अवस्था आगामी दिनको भूमिका, जनपरिचालन, सङ्गठन निर्माण लगायत विषयमा आफ्नो धारणा राखेका थिए।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समितिको बैठकले सात प्रदेश र सम्पर्क, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चलगायतको बैठकको मिति तय गरेको थियो।

बैठकमा उपाध्यक्ष पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा एवं बागमती प्रदेशको नेता तथा कार्यकर्ताको सहभागिता थियो। रासस





Comments

comments

125368