तनहुँमा बस दुर्घटनामा मृत्यु भएकाहरूको शव भारत पठाइयो

भरतपुर, तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ।

भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय वायुसेनाको जहाजमार्फत शनिवार अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

उनकाअनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से भरतपुर पुगेका थिए।

मृतक यात्रुका शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याई भरतपुर अस्पतालमा पोस्टमर्टम गरिएको थियो।

शुक्रबार बिहान पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।

मृतकमध्ये १५ महिला, ११ पुरुष र एकजना चार वर्षीया बालिका रहेकी छन् । घाइते हुनेमा छ पुरुष र १० महिला छन् ।

घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ। मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका प्रजिअ यादवले जानकारी दिए।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मस्र्याङ्दीमा खसेको थियो ।

दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । रासस





Comments

comments

125610